३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खुल्यो सगरमाथा संवाद सचिवालय

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि बिहीबार सचिवालय खोलेको छ । सचिवालय नारायणहिटी दरबारको पश्चिम ढोकास्थित राहदानी विभाग परिसरभित्र स्थापना गरिएको हो ।

खुल्यो सगरमाथा संवाद सचिवालय

सचिवालयको नेतृत्व गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयका नीति तथा अनुसन्धान महाशाखाका प्रमुख कुमार खरेललाई दिइएको छ ।


काठमाडौंमा चैत २० देखि २२ सम्म हुने कार्यक्रमको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सचिवालय उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले संवादको लोगोसमेत सार्वजनिक गरेका छन् । मन्त्री ज्ञवालीले पृथ्वीको समग्र प्रणालीमा पर्वतीय क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए ।


‘पर्वतहरूको उपस्थितिले सम्पूर्ण जीवहरूको अस्तित्वमा प्रत्यक्ष वा परोक्ष प्रभाव पारिरहेको हुन्छ । पर्वतीय क्षेत्रको सम्बन्ध सामुद्रिक तट, समुद्र तथा द्वीपसम्म हुन्छ,’ उनले भने, ‘हिमालय शृंखला विश्वको एक चौथाइ मानव जातिको ताजा पानीको स्रोत तथा जीविकाको आधारका रूपमा रहेको छ तर यो क्षेत्र आज जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा पर्दै आएको छ ।’


मन्त्री ज्ञवालीले संवादले उच्च नेतृत्व, मुलुक तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको संकटबारे समान धारणा बनाउन तथा यस संकटसँग जुध्न राजनीतिक तहलाई परिचालन गर्न उत्प्रेरित गर्ने बताए । कार्यक्रमको आयोजक परराष्ट्र मन्त्रालय र सहआयोजक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति अनुन्धान प्रतिष्ठान हुन् ।


वैशाख २ को मन्त्रिपरिषद्ले राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्न सगरमाथा संवादलाई अघि बढाउने निर्णय गरेको हो । नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत क्षेत्रका विश्वव्यापी मामला एवं समस्याबारे सरोकार राख्ने मुलुकहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, नागरिक समाज, अनुसन्धाता तथा विज्ञहरू, प्राज्ञिक संस्थाहरूलगायत सरोकारवालाबीच नियमित रूपमा नेपालमा छलफल गर्न सगरमाथा संवाद आयोजना गर्न लागिएको हो ।


सगरमाथा संवाद कार्यक्रमको आयोजना तथा सञ्चालनका लागि नीतिगत तथा विषयगत पक्षमा मार्गदर्शन गर्न एवं सवाद आयोजनाका लागि साधानस्रोत तथा वित्तीय पक्षमा निर्णय गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा स्थायी प्रकृतिको १० सदस्यीय सगरमाथा संवाद निर्देशक समिति गठन गरिएको छ । पहिलो संस्करणको संवाद कार्यक्रमका लागि परराष्ट्रमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय आयोजक समिति गठन गरिएको छ ।


संवाद कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आफूले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई निमन्त्रणा गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले गुटेरेस आउने वा नआउने भन्ने निश्चित भइनसकेको बताए । ‘संवाद कार्यक्रममा विदेशबाट करिब १ सय ५० र नेपालका ५० गरी करिब २ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ,’ ज्ञवालीले भने ।


उनले कार्यक्रमस्थल टुंगो भइनसकेको उल्लेख गर्दै काठमाडौंको चन्द्रागिरिसमेत सम्भावित आयोजनास्थल रहेको बताए । मन्त्री ज्ञवालीले माघको दोस्रो साताभित्रमा राष्ट्रिय सगरमाथा संवाद आयोजना गर्ने पनि जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?