सरकार छाड्ने/नछाड्ने पार्टीले निर्णय गर्नेछः यादव

सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमणमा रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय एकाएक फेरिदिने निर्णयले पुरै पार्टीपंक्ति आक्रोशित देखिएका बेला स्वयं यादवले भने स्वदेश फर्केपछि मात्र त्यससम्बन्धमा औपचारिक प्रतिक्रिया जनाउने बनाएका छन् । 

सरकार छाड्ने/नछाड्ने पार्टीले निर्णय गर्नेछः यादव

उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हैसियतले विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनमा भाग लिन नयाँदिल्लीमै रहेका बेला बुधबार उनको जिम्मेवारी फेरेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो । ‘प्रधानमन्त्रीको यो निर्णयका बारेमा स्वदेश फर्केपछि प्रतिक्रिया दिनेछु’ मन्त्री यादवले कान्तिपुरसँग भने । तर, उनले काठमाडौं छाड्नु अघि मन्त्रालय परिर्वतनका बारेमा आफूसँग प्रधानमन्त्रीले कुनै छलफल नगरेको भने बताए । ‘प्रधानमन्त्रीले मसँग यस विषयमा कुनै कुराकानी गर्नु भएको थिएन,’ उनले भने । यस सम्बन्धमा पुष्पकमल दाहालसँग पनि कुनै छलफल नभएको उनको दाबी छ ।


संविधान संशोधनका लागि सरकारमै बसेर दबाब सिर्जना गर्ने उद्देश्यका साथ सत्तामा गएको समाजवादी पार्टीमाथि सरकार छाड्नका लागि दबाब पर्दै आएको छ । समाजवादी पार्टीमाथि आफैँ सरकारमा बस्ने तर, उल्टो संविधान संशोधन नगरेको अभिव्यक्ति दिने ‘दोहोरो चरित्र’ देखाएको आरोप लाग्दै आएको छ । तर, मन्त्रालय परिवर्तनको पछिल्लो निर्णय पछि समाजवादी पार्टी तत्काल सरकार छाड्न सक्ने चर्चा चलिरहेका बेला मन्त्री यादवले भने समीक्षा पछि मात्र केही बताउन सक्ने बताए । उनले सरकार छाड्ने वा नछाड्ने भन्ने निर्णय पार्टीभित्र छलफलपछि मात्र लिइने जानकारी दिए । ‘पार्टीले समीक्षा गर्छ, त्यसपछि निष्कर्शमा पुगिनेछ’ यादवले भने । पार्टीले जे निर्णय लिन्छ, त्यो नै अन्तिम हुने समेत उनको भनाई थियो ।


पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले र अन्य नेताहरुले प्रधानमन्त्री ओलीको बिना जानकारी यादवको मन्त्रालय फेर्ने निर्णयलाई निरंकुश र अपमानजनक भनिरहेका बेला स्वयं यादवले भने लोकतन्त्रमा सबैलाई आफूखुशी अभिव्यक्ति दिने स्वतन्त्रता भएको टिप्पणी गरे ।


प्रधानमन्त्री ओलीले बुधबार मन्त्रीमण्डल हेरफेर गर्दे उप्रप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री र यादवका पार्टीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई त पदमुक्त र्नै गरेका थिए । प्रधानमन्त्री ओली मन्त्री यादवको कामबाट असन्तुष्ट रहेका कारण पछिल्लो समय उनी र यादवबीचको सम्बन्ध हार्दिक नरहेको चर्चा हुँदै आएको थियो । कान्तिपुरसँगको कुराकानीमा मन्त्री यादवले प्रधानमन्त्रीसँगको सम्बन्ध हार्दिक नरहेको संकेत गरे ।

प्रधानमन्त्रीसँगको सम्बन्धलाई लिएर कान्तिपुरले राम्रो र नराम्रो कस्तो छ भनेर जिज्ञासा राख्दा उनले भने, ‘प्रधानमन्त्रीसँगको सम्बन्ध ठिकै छ ।’ मंगलबार दिल्ली आएका मन्त्री यादव शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित : मंसिर ५, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?