कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढीगण्डकी प्रभावितसँगै बाबुराम भट्टराई धर्नामा, छिटो मुआब्जा निर्धारणको माग

हरिराम उप्रेती

गोरखा — छिटो र उचित मुआब्जा निर्धारणको माग गर्दै बजार क्षेत्रका बुढीगण्डकी प्रभावितले जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि धर्नामा बसेर बुढीगण्डकी प्रभावितको आन्दोलनमा ऐकवद्घता जनाएका छन् । 

बुढीगण्डकी प्रभावितसँगै बाबुराम भट्टराई धर्नामा, छिटो मुआब्जा निर्धारणको माग

‘मुआब्जा त यस अघि नै तोक्ने भनिएको थियो, के भएछ,’ धर्नामा बस्दै उनले थपे, ‘म पनि तपाईंहरुको समस्यासगँ सति जान तयार छु ।’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बजार क्षेत्रको मुआब्जा निर्धारणमा आलटाल गरेपछि प्रभावित जनप्रतिनिधिलाई साथ लिएर आन्दोलनमा उत्रिएका हुन् ।


राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका जनप्रतिनिधि पनि प्रभावितलाई साथ दिंदै धर्नामा बसेका छन् । धर्नामा पुगेका बाबुराम भट्टराईले उर्जामन्त्रीलाई टेलिफोन गरी छिटो मुआब्जा निर्धारणको काम सक्न आग्रह गरे ।


‘उर्जा मन्त्रीलाई टेलिफोन गरें, उहाँले मुआब्जा निर्धारणको बाँकी काम छिटो हल गर्छु भन्नुभएको छ,’ उनले भने, ‘तर आशा गरेपनि यतिका समयसम्म नगर्दा अझै सम्भावना कम देख्यौँ ।’ मुआब्जा निर्धारणमा अनावश्यक ढिलाई गरेर जनतालाई दुःख कष्ट नदिन पनि उनले आग्रह गरे ।


आयोजनाले डुबानमा पर्ने अन्य क्षेत्रको मुआब्जा निर्धारण भएर वितरण भइसक्दा बजार क्षेत्र अन्तर्गत गोरखातर्फ आरुघाट र आर्खेत तथा धादिङको विशाल नगर र खहरे क्षेत्रको मुआब्जा निर्धारण हुन सकेको छैन । तीन वर्षसम्म जग्गा रोक्का राख्दा घर खर्च चलाउनै मुस्कील परेको भन्दै प्रभावित आन्दोलनमा उत्रिएका हुन् ।


प्रकाशित : मंसिर ५, २०७६ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?