कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२६ देशका अंग्रेजी शिक्षकको सम्मेलन काठमाडौंमा सुरु

काठमाडौँ — अंग्रेजी भाषा शिक्षकको अन्तर्राष्ट्रिय संघ (टिसोल) र नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को संयुक्त सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा विभिन्न २६ देशका १ सय ७२ जना र नेपालका गरी एक हजार अंग्रेजी भाषा शिक्षकको सहभागी रहेको छ ।

२६ देशका अंग्रेजी शिक्षकको सम्मेलन काठमाडौंमा सुरु

बिहीबार सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्वसन्ध्यामा विभिन्न मुलुकका प्रतिनिधि शिक्षकको भेला हुनु प्रशंसनीय रहेको बताए । साथै, नेपालमा बोलिने भाषाहरुको जगेर्ना गर्दै अन्तर्राष्ट्रिय भाषा अग्रेंजीको शिक्षण सहज तुल्याउन आवश्यक रहेको उल्लेख गरे ।


भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले अंग्रेजीलाई माध्यम भाषा बनाउँदा सही सिकाई हुन नसकेको बताए । ‘पूर्वीय दर्शलाई भुलेर अघि बढ्दा र पूर्वजले सिर्जना गरेका सामाजिक वैभवलाई जोगाउनेतर्फ नसोच्नु भुल हुनेछ,’ अंग्रेजी सिक्नकै लागि सबै कुरा बिर्सेर समर्पित हुन उचित नरहेको भन्दै अवस्थीले भने, ‘पूर्वीय सोंच पञ्चतत्वका आधारमा हुन्छ । अंग्रेजी सिक्नु छ भने अरु भुल्नुपर्छ भन्ने भ्रम छ । अंग्रेजीको पछि दगुर्नुभदा पनि अंग्रेजी हाम्रो पछि दगुरोस् ।’


‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर सम्मेलनको आयोजना गरेका हौं,’ नेल्टाकी अध्यक्ष मोतीकला सुब्बा देवानले भनिन्, ‘सम्मेलनमा विश्व परिवेशमा अंग्रेजी भाषा शिक्षक सिकाईका विविध पक्षहरूबारे छलफल, बहस गरी नेपालको भाषा शिक्षण पद्धतिलाई गुणस्तरीय तुल्याउने मुख्य उद्देश्य राखेका छौं ।’


चार दिने सम्मेलनमा अमेरिका, बेलायत, जापान, सिंगापुर, मलेसियालगायत मुलुकका प्रतिनिधि सहभागी छन् । त्यसैगरी नेल्टाको सात प्रदेश र ५५ जिल्लाका प्रतिनिधि सहभागी रहेको महासचिव ईश्वरीबहादुर अधिकारीले जनाएका छन् । २७ वर्षअघि स्थापित नेल्टाले नेपालको विद्यालय तहदेखि विश्वविद्यालयमा कार्यरत अंग्रेजी विषय शिक्षकलाई विषयगत तालिम, प्रशिक्षण तथा सशक्तिकरणको पक्षमा काम गर्दै आएको छ ।



प्रकाशित : मंसिर ५, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?