१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

शिक्षामा तीन विधेयक ल्याइँदै

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी छुट्टाछुट्टै तीन विधेयक तयार गरी संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्ने भएको छ । मन्त्रालयले शिक्षा नीतिअनुसार विद्यालय, उच्च शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षाका छुट्टाछुट्टै विधेयकको मस्यौदा कार्यदल गठन गरेको छ । 

शिक्षामा तीन विधेयक ल्याइँदै

विद्यालय शिक्षासम्बन्धी विधेयकका लागि विद्यालय शिक्षा महाशाखाका सहसचिव कृष्णप्रसाद काप्री, उच्च शिक्षासम्बन्धी विधेयकका लागि विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारी र प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयकका लागि मन्त्रालयका प्रवक्ता दीपक शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । विद्यालय शिक्षा कक्षा १ देखि १२, साधारण धारतर्फको उच्च शिक्षा र प्राविधिक धारतर्फको शिक्षालाई समेटेर छुट्टाछुट्टै ऐन जारी गर्ने गृहकार्य सुरु भएको जानकारी प्रवक्ता शर्माले दिए । छुट्टाछुट्टै ऐन ल्याउने मन्त्रालयको आन्तरिक तयारी भए पनि सम्बन्धित अन्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सहमति लिन बाँकी छ । ‘नयाँ शिक्षा नीतिअनुरूप विधेयक ल्याउने शिक्षा मन्त्रालयको आन्तरिक तयारी हो,’ उनले भने, ‘प्रारम्भिक चरणमा छौं ।’


विश्वविद्यालयहरूको छाता ऐन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐनलाई समेत प्राविधिक तथा व्यावसायिक शिक्षा ऐनभित्र ल्याउने गरी छलफल चलिरहेको मस्यौदा कार्यदलले जनाएको छ । विश्वविद्यालयका एकीकृत सेवा आयोग गठनसम्बन्धी प्रस्तावसमेत गरिएको छ । २०७५ सालमा जारी अनिवार्य तथा नि:शुल्क शिक्षा ऐनको नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।


गत कात्तिक १९ गते मन्त्रिपरिषद्ले संघीय शिक्षा नीति स्वीकृत गरेको भए पनि सार्वजनिक गरिएको छैन । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनसमेत गोप्य राखेको सरकारले नीतिसमेत सार्वजनिक नगरी ऐन निर्माण प्रक्रिया थालेको हो ।

प्रकाशित : मंसिर ५, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?