२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘गायब’ ट्यांकर रित्तो भेटियो

‘चालक र सहचालककै संलग्नताको आशंका’
अजित तिवारी

जनकपुर — चालक र सहचालकलाई ‘अपहरण’ गरेर गायब पारिएको टंयाकर बुधबार बिहान धनुषामा रित्तो फेला परेको छ । २० हजार लिटर डिजेल झारेर धनुषाको रमदैयानजिक राजमार्गमा रित्तो छोडिएको टंयाकर प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल भरेर ना ४ ख ४१६३ नम्बरको ट्यांकर आइतबार राति १२ बजे सिरहाको लहान आइपुगेको थियो । निगमको विराटनगर डिपोमा डिजेल झार्न हिँडेको टंयाकर लहानबाटै गायब भयो । टंयाकरका चालक रामदेव यादब र सहचालक उमेश यादवले अपहरणकारीले टंयाकर नियन्त्रणमा लिएको दाबी गरेका छन् ।


धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जनकपुर–ढल्केवर राजमार्गबाट प्रहरीले बुधबार बिहान पानै ८ बजे ट्यांकर रित्तो फेला पारेको छ । राजमार्ग छेउमा पार्किङ गरिएको टंयाकर धनुषा प्रहरीले नियन्त्रणमा लिएर सिरहा प्रहरीलाई जिम्मा लगाएको छ । सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार रित्तो भेटिएको टंयाकरलाई प्राविधिकको सहयोगमा जाँच भइरहेको छ । उनले टंयाकरका चालक र सहचालकसंग पनि घटनाबारे सोधपूछ भइरहेको बताए ।


ट्यांकर राजमार्गमा पार्किङ गरिएको अवस्थामा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प नक्टाझिझबाट खटिएको टोलीले फेला पारेर जिल्ला प्रहरी कार्यालय सिरहालाई जिम्मा लगाएको सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेतीले बताए । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर गायव भएको लिखित उजुरी आयल निगमलाई दिएपछि छानबिन थालिएको छ ।


‘यसमा चालक र सहचालकको बयान नै शंकास्पद देखिन्छ,’ सिरहाका एसपी चर्तुवेदीले कान्तिपुरसँग भने, ‘अपहरणमा पारिएको भनिएको उनीहरु बर्दिवासमा मुक्त हुँदा प्रहरीको सम्पर्कमा नगइ सीधैं विराटनगर पुगेको देखिन्छ ।’ टंयाकर गायब प्रकरणलाई सिरहा प्रहरीले दुई कोणबाट अनुसन्धान थालेको छ । एउटा टंयाकरका चालक र सहचालक बाटै भेद खुल्ने भनेर केरकार तीव्र पारिएको छ । दोस्रो आइतबार राति गायव टंयाकर बुधबार रित्तो भेटिनु र त्यसबीचको दुई रात–दिन ट्यांकरको मुभमेन्ट भएको फुटेज संकलन गर्नु । पूर्व–पश्चिम राजमार्गको प्रदेश २ खण्डमा सबैतिर सिसि क्यामेरा जडान गरिएको छ ।


‘राजमार्गको सिसि क्यामेराले लहानबाट टंयाकर पश्चिमतर्फ मुभ गरेको मात्र देखिन्छ,’ प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्कीले भने, ‘चालक र सहचालकले आफूहरुलाई टाटा सुमोमा राखेर लगेको भनेपनि त्यो अवधिमा राजमार्गमा टाटा सुमो मुभ गरेको देखिदैन ।’


सिरहा प्रहरीले टंयाकरमा रहेको डिजेल खन्याएको ठाउँ खोजीरहेको छ । सिरहा प्रहरीका अधिकारीका अनुसार यतिधेरै परिमाणको डिजेल टंयाकीमा मात्र खन्याउन सम्भव रहेकाले शंकास्पद पम्पको तेलको लगत संकलन पनि भइरहेको छ । नेपाल भन्दा भारतको विहारमा डिजेलको मुल्य बढी रहेको र पछिल्लो समय सीमावर्ती क्षेत्रबाट डिजेलको तस्करी बढेको छ । सिरहा प्रहरीले टंयाकर नै विहार लगेर खन्याएर नेपाल ल्याएर अलपत्र छाडिएको हुनसक्ने पाटोमा पनि छानविन भइरहेको जनाएको छ । प्रदेश २ को सबै जिल्ला भारतीय सीमासंग जोडिएको छ ।


‘आइतबार राती १२–१ बजे खाजा पसलमा केही मान्छे आएर अपहरण गरेर टंयाकर नियन्त्रणमा लिएको भनिएको छ,’ टंयाकर गायव प्रकरण अनुसन्धान गरिरहेका सिरहाका प्रहरी अधिकारीले भने,‘टंयाकर गायव, अपहरण र फेरि रित्तो टंयाकर भेटिनु यो सबै मिलेमत्तोमा बुनिएको योजना हो ।’

प्रकाशित : मंसिर ४, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?