कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उपनिर्वाचनका मतपत्र तयार

राजेश मिश्र

काठमाडौँ — तीनवटै तहमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तयार पारेको छ । रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य– ३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष– ३, गाउँपालिका उपाध्यक्ष १ तथा नगर र गाउँपालिकाका ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । 

उपनिर्वाचनका मतपत्र तयार

तीनवटै तहका रिक्त ५२ स्थानका लागि त्यति नै प्रकारका सबै मतपत्र छापिएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रेसमा मतपत्र छापिएको हो । उपनिर्वाचनले ३७ जिल्लालाई छोएको छ । ती जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइनेछ । ‘मतपत्र, मतदाता परिचपत्र र निर्वाचन सामग्री सम्बन्धित क्षेत्रमा पठाउने काम बुधबारबाट सुरु हुन्छ,’ आयुक्त दाहालले भने ।


प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ को मतपत्रमा ठाडोमा ६ र तेर्सो चारवटा चुनाव चिह्न छन् । त्यहाँ २१ जना उम्मेदवार रहेकाले मतपत्रमा त्यति नै संख्यामा निर्वाचन चिह्न छन् । यहाँ दलका ११ र स्वतन्त्र १० उम्मेदवार छन् । मतपत्रको पहिलो लहरमा सुरुमै नेकपाको सूर्य, कांग्रेसको रूख, समाजवादी पार्टीको पाँच औंलासहितको हत्केला र साझा पार्टीको तराजु चिह्न छ । दोस्रो लहरमा राप्रपाको गाई, राप्रपा (संयुक्त) को हलो, नेकपा (माले) को हँसिया र तारा, राष्ट्रिय जनमुक्ति पार्टीको घर चुनाव चिह्न छापिएका छन् । तेस्रो लहरमा मंगोल नेसनल अर्गनाइजेसनको कुखुराको भाले, नेपाली कांग्रेस (बीपी) को करुवा र देशभक्त समाज पार्टीको जरायो चिह्न छन् । त्यसपछि १० जना स्वतन्त्र उम्मेदवारका चिह्न राखिएका छन् ।


आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ अत्यधिक मत ल्याउने दलको पहिलो र त्यसपछिका क्रमअनुसार मतपत्रमा राजनीतिक दलको चिह्न राखिएको बताए । स्वतन्त्र उम्मेदवारको हकमा वर्णानुक्रमअनुसार चिह्न राखिएको छ । तीनवटै तहका मतपत्रमा त्यही आधारमा चिह्न राखिएको उनले बताए । प्रदेशसभाको दाङ–३ (ख) निर्वाचन क्षेत्रमा दलका १२ र स्वतन्त्र २ उम्मेदवार छन् । त्यहाँ ठाडो र तेस्रो चार–चारवटा चुनाव चिह्न भएका मतपत्र छन् । मतपत्रमा क्रमश: सूर्य, रूख, हत्केला, तराजु, गाई, हलो, मादल, हँसिया र तारा, घर, कुखुराको भाले, करुवा र नेपाल लोकतान्त्रिक पार्टीको नमस्कार गरेको हात चुनाव चिह्न छन् । त्यसपछि दुईजना स्वतन्त्र उम्मेदवारका चिह्न छन् ।


प्रदेशसभाको बागलुङ–२(ख) को मतपत्रमा १० चुनाव चिह्न छन् । त्यहाँ राजनीतिक दलका १० र स्वतन्त्र २ जना उम्मेदवार छन् । त्यहाँ नेकपाबाट उम्मेदवारी नपरेकाले मतपत्रमा पहिलो स्थानमा कांग्रेसको रूख चिह्न छापिएको छ । त्यसपछि क्रमश: हत्केला, गाई र हलो छ । दोस्रो लहरको पहिलो स्थानमा राष्ट्रिय जनमोर्चाको गिलास चिह्न छ । नेकपा र जनमोर्चाको गठबन्धनबाट त्यहाँ जनमोर्चाले उम्मेदवारी दिएको हो । त्यसपछि घर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दापसहितको खुकुरी र कुखुराको भाले चिह्न छन् । तेस्रो लहरमा स्वतन्त्र उम्मेदवारका २ चिह्न छन् ।


प्रदेशसभाको भक्तपुर १(क) ठाडो पाँच र तेर्सो चारवटा चुनाव चिह्न भएको मतपत्र तयार गरिएको छ । पहिलो लहरमा क्रमश: सूर्य, रूख, हत्केला र तराजु चिह्न छन् । दोस्रो लहरमा गाई, मादल, हँसिया तारा, दापसहितको खुकुरी, करुवा र त्यसपछि स्वतन्त्र उम्मेदवारका विभिन्न चिह्न छापिएका छन् । त्यहाँ राजनीतिक दलका ९ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवार छन् । प्रतिनिधिसभाको सेतो कागजमा हरियो मसीले छापिएको, प्रदेशसभाको सेतो कागजमा कालो मसीले र स्थानीय तहको सेतो कागजमा नीलो मसीले छापिएको मतपत्र हुनेछ ।


प्रकाशित : मंसिर ४, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?