कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

न्युज फेस्टिभल : केन्द्र र मोफसलको मानसिकता त्याग्न आग्रह

माधव अर्याल

(लुम्बिनी) — लुम्बिनीमा तीन दिने न्युज फेस्टिभल १६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सूचनालाई पहुँचसँग, पहुँचलाई विकाससँग, विकासलाई समृद्धिसँग गाँस्ने मूल आधार बनाउन महोत्सव सफल भएको आयोजक लुम्बिनी प्रेस क्लबले जनाएको छ । 

महोत्सवले नेपाली सञ्चारमाध्यममा व्याप्त केन्द्र र मोफसल भन्ने अवधारणा समाप्त पार्दै आफू कार्यरत संघ हरेक प्रदेश र स्थानीय तहलाई नै केन्द्र मान्नुपर्नेमा जोड दिएको छ । आ–आफ्ना क्षेत्रका समाचार र विचार जनता, सरकार र सम्बन्धित निकायमा व्यापक रूपमा पुर्‍याउने प्रतिबद्धता महोत्सवका सहभागीले गरेका छन् । पत्रकार आचारसंहिता दृढतापूर्वक पालना गर्दै व्यावसायिक पत्रकारिताप्रति प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ । राजनीतिक दलसँगको आबद्धता र सरकारनिकट बन्ने सोचाइबाट पूर्ण रूपमा मुक्त हुने प्रण घोषणापत्रमा छ । पत्रकारिताको पेसाप्रति पूर्ण निष्ठावान भई आफूलाई सबै प्रकारका प्रविधि एवं सपबाट सुसज्जित हुँदै न्यु मिडिया, न्यु मिडियम, ट्रेडिसनल मिडियम आदिको व्यापक प्रयोग गरी नेपाली पत्रकारितालाई ‘स्मार्ट जर्नालिज्म’ उन्मुख गराउन अठोट पनि छ । नयाँ प्रविधिलाई ध्यानमा राखी डिजिटल र विद्युतीय मिडियासम्बन्धी प्रतिकूल कानुनमा तत्काल परिमार्जन गरी समय सापेक्ष बनाउन माग गरेको छ ।


घोषणापत्रले सञ्चारमाध्यम स्थापनापूर्व सम्भाव्यता अध्ययन गरी आवश्यक देखिएमा मात्र स्थापना गर्ने नीति अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गर्ने उल्लेख छ । लुम्बिनीलाई बौद्ध दर्शन र विश्व शान्तिको केन्द्र बनाउने अवधारणालाई आत्मसात् गर्दै ४२ वर्षअघि निर्मित लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न संघीय सरकार र लुम्बिनी विकास कोषलाई फेस्टिभलले आग्रह गरेको छ । लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह आदि स्थलको संरक्षण, प्रवर्द्धन र पर्यटकीय विकास गर्न सम्बन्धित सरोकारवाला पक्षसँग आग्रह गरेको छ । सरकारी र निजी सञ्चारमाध्यमलाई जनशक्तिको व्यवस्था र विषयगत हिसाबले समावेशी बनाउन महोत्सव सम्बन्धित पक्षलाई आग्रह गरेको लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले बताए । यसअघि भएका विभिन्न सत्रका छलफलमा सञ्चारगृहमा दक्ष महिला पत्रकारको खाँचो रहेको सहभागीले बताएका छन् ।


‘संघीयतामा समावेशी सञ्चार’ छलफलमा सहभागी अग्रज पत्रकारहरूले योग्यता, दक्षता अभिवृद्धिमा सहयोग गर्ने हो भने महिला सञ्चारकर्मी खाली हात बस्न नपर्ने बताए । समावेशी सञ्चारमा दक्ष सञ्चारकर्मीको अभाव भएको भनाइ उनीहरूले राखे । ‘सञ्चार गृहमा समावेशिता नभएकै पनि होइन,’ खोज पत्रकारिता केन्द्रका प्रशिक्षक तथा लेखक मोहन मैनालीले भने, ‘समावेशिताको आवाज उठाइरहँदा समाज पनि बुझ्नुपर्ने अवस्था छ ।’ खोजी पत्रकारिता, आफ्नो दक्षतालाई बढाउने हो भने महिला सञ्चारकर्मीलाई जागिर पाउन कुनै समस्या नभएको उनले बताए । अहिलेको अवस्थामा समावेशी सञ्चारको सचेत प्रयास भइरहेको बताए । कार्यक्रममा जेबी पुनमगरले क्षमतावान् महिलालाई सञ्चारगृहले पनि प्रोत्साहन गर्नुपर्ने बताए । जातजाति हेर्ने र समावेशितालाई ध्यान दिनुपर्नेमा उनको जोड थियो । अमिका राजथलाले जुनसुकै समुदायबाट सञ्चार गृहमा प्रवेश गरे पनि उसले समाजको संस्कृतिलाई ख्याल गर्नुपर्ने बताइन् । महिला पत्रकारको संख्या बढ्ने तर पेसामा टिकाइराख्न समस्या हुने उनले औंल्याइन् ।


यसअघि भएको संघीयतामा टेलिभिजन समूहगत छलफलमा सहभागीले हरेक प्रदेशमा भएको मुद्दालाई संघीय राजधानीबाट प्रसारण हुने टेलिभिजनले प्रशस्त स्थान नदिने गरेको बताएका थिए । संघीय राजधानी काठमाडौं र प्रदेश ५ बाट प्रसारण हुने टेलिभिजनका सम्पादकहरूले भने समयानुकूल समाचार कक्ष परिवर्तन गर्दै जानुपर्ने अवस्था रहेको बताए । कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक प्रशान्त अर्यालले अहिलेको न्यु मिडियाको चुनौतीलाई चिर्नुपर्ने र बजार प्रतिस्पर्धात्मक भएको बताए ।



प्रकाशित : मंसिर ४, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?