चिनियाँ लामामाथि छानबिन

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्ध स्तूप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उत्पन्न विवाद छानबिन गरी समस्या समाधानका लागि सुझाव दिन पाँच सदस्यीय समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गुठी संस्थान र पुरातत्त्व विभागका प्रतिनिधि सदस्य छन् । संस्कृति मन्त्रालयद्वारा गठित बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा विभिन्न संस्थाले चिनियाँ लामा भूपतिवज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद उत्पन्न भएको हो ।
ती संस्थाले चिनियाँ लामाको विरोधमा खड्गजित लामाको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् । समितिले विरोधका क्रममा चिनियाँ लामालाई गुठी प्रवेशमा रोक लगाएको हो ।

संघर्ष समितिले चिनियाँ लामाको नागरिकता सम्बन्धमा समेत प्रश्न उठाएको छ । बौद्धनाथ क्षेत्र विकास समिति लगायतका संस्थाले चिनियाँ लामाको ठाउँमा पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने जिम्मेवारीसमेत दिएका छन् ।


प्रकाशित : मंसिर ४, २०७६ ०९:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सबै बालीमा किराको प्रकोप

‘सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग नहुँदा प्रकोप देखियो’
राजु चौधरी

काठमाडौँ — सरकारी तथ्यांकअनुसार धान भित्र्याउने बेला तराईमा करिब २० हजारभन्दा बढी हेक्टर धानबालीमा फौजी किराले असर गर्‍यो । ज्ञान केन्द्र झापाले करिब २२५ बिघामा फड्के किरा देखिएको जानकारी दिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार गुल्मी, बाँकेलगायत जिल्लाका करिब ४ सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकैमा फौजी किरा देखिएको छ । 




यी केही उदाहरण मात्रै हुन् । धानबाहेक मकै, गहुँ, कोदो, कफीमा समेत किराको प्रकोप बढ्दै गएको छ । ‘विभिन्न क्षेत्रबाट प्राप्त रिपोर्टिङअनुसार फाटफुट रूपमा कुनै न कुनै जिल्लामा असर गरेको छ,’ केन्द्रका कार्यकारी प्रमुख सहदेवप्रसाद हुमागाईले भने, ‘तथ्यांक संकलनमा समस्या छ, यकिन तथ्यांक आइसकेको छैन ।’

केन्द्रका अनुसार यो वर्ष देखिएको प्रकोप अर्को वर्ष पनि दोहोरिने सम्भावना रहन्छ । प्रकोप नियन्त्रण गर्न अहिलेदेखि नै तयारी गर्नुपर्ने हुमागाईले बताए । वातावरण/मौसमको प्रभावले पनि किरा सक्रिय हुन्छ । फौजी किराले मकै, तरकारी, कोदो, गहुँ, धानलगायतका बालीमा असर गर्छ । फड्के किराले धानमा मात्रै असर गर्छ । फड्के किरा २०७४ मा चितवनको बछ्यौली गाउँपालिकामा देखिएको थियो । त्यसबेला फड्केले ठूलो नोक्सानी गरेको थियो । झापा ज्ञान केन्द्र प्रमुख नीलकमल सिंहका अनुसार झापामा देखिएको खैरो फड्के हो । सिंहले भने, ‘अन्तिम अवस्था भएकाले विषादीले पनि काम गर्दैन ।’ उनका अनुसार पानी भएको अवस्थामा फड्के लाग्दैन । यस वर्ष पानी कम भएकाले समस्या देखिएको बताए । केन्द्रका अनुसार किरा जाडोमा त्यति सक्रिय हुँदैन । वसन्तबालीमा किराले पुन: सताउन सक्ने केन्द्रले जनाएको छ । ‘फड्के कहिले चितवन, कहिले झापामा देखिएको छ,’ केन्द्रका कार्यकारी प्रमुख हुमागाईले भने, ‘सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग नहुँदा विभिन्न प्रकोप देखियो ।’

कृषिविज्ञ कृष्ण पौडेलले समग्र खेती प्रणालीको समस्याका कारण किराको प्रकोप देखिएको बताए । अहिले देखिएको प्रकोप केही जिल्लामा विषादी छर्केर तत्काल नियन्त्रण भए पनि दीर्घकालीन उपाय नभएको बताए । ‘यसले किरा आइराख्ने वातावरण बन्ने देखियो । नियन्त्रण गर्न सरकारबाट पहलकदमी देखिएन, कृषि मन्त्रालयले संवेदनशील नै भएन,’ पौडेलले भने, ‘विकासे मलले गर्दा प्रतिरोधात्मक क्षमता नै भएन । किरा रोक्न सीमा क्षेत्रमा घाँस लगाउनुपर्थ्यो । त्यो पनि भएन ।’ खेती प्रणालीलाई उपयुक्त नबनाए निरन्तर समस्या हुने उनले बताए । केन्द्रका अनुसार समाधानका लागि सुरुदेखि नै प्याकेज हुन्छ । धानको जात, सन्तुलित मलखाद दिनुपर्छ । नाइट्रोजन, फोस्फोरस, पोटास उचित मात्रामा प्रयोग गर्नुपर्छ । ‘तर, किसानले युरिया मात्रै प्रयोग गर्छन् । युरिया भनेको नाइट्रोजन मात्रै हो,’ प्रमुख हुमागाईले भने, ‘नाइट्रोजन मात्रै दिँदा किराको आक्रमण बढी हुन्छ ।’ फड्के किरा लाग्दा समाधान गर्न तत्काल धान काट्नुपर्ने बताए ।

राष्ट्रिय कृषक समूह महासंघका निवर्तमान अध्यक्ष उद्धव अधिकारीले फैजी किरासँगै झापा, नेपालगन्ज, बाँकेलगायतमा फड्के किरा देखिएको बताए । ‘मुख्यत: पूर्वमा देखिएको छ । गत वर्ष उदयपुर, खोटाङ, इलामलगायत पहाडी क्षेत्रमा मकैमा देखिएको थियो,’ अधिकारीले भने, ‘अहिले धानबालीमा देखिएको छ ।’ उनका अनुसार किराको प्रकोप भएको स्थानमा तुरुन्तै अर्को बाली लगाउँदा अर्को बालीमा किरा सर्ने सम्भावना उच्च हुन्छ । किरा नष्ट गर्न खेतमा पानी जमाएर वा आगो नै लगाउनुपर्छ । अर्को बालीमा किरा लाग्न नदिन सरकार सक्रिय हुनुपर्ने अधिकारीले बताए ।

‘किराको प्रकोप बढे पनि सरकारले टालटुले जवाफ मात्रै दिएको छ,’ उनले भने । किसान हकहितकै लागि नेपाल किसान आयोग, कृषि अनुसन्धान परिषद्लगायत विभिन्न संघसंस्थाहरू सञ्चालनमा छन् । ती संस्थाहरूले किसानभन्दा आफ्नो हितमा काम गर्दा किसान सधैं मर्कामा परेको उनले बताए ।
‘कृषि क्षेत्रमा प्रकोप डरलाग्दो भएको छ । कृषकहरू आक्रान्त छन्, सम्बन्धित संस्थाबाट किसानको आवाज उठ्दैन,’ उनले भने, ‘कर्मचारीहरू जागिर खाने र संस्थालाई भर्ती केन्द्र मात्रै बनाए ।’ जानकारका अनुसार किराहरूले जे जातका बिरुवा पनि खान्छन् । अन्नबाली नरम हुन्छन् । जसले गर्दा बढी आक्रमण गर्छन् । धानविज्ञ भोलामान सिंहले फड्के किरा उफ्री–उफ्री हिँड्छन् । यी किराले बाला काट्छन् । बाला नफलेपछि किसानले अगो लगाउँछन् । वर्षाको धान भित्र्याउन ढिलाइ हुँदा त्यसले उत्पादनमा कम हुन्छ । अर्को सिजन (हिउँदे बाली) लाई समेत असर गर्छ । ‘धानलगत्तै तराईमा मंसिरको पहिलो साता गहुँको सिफारिस गरिएको छ । एक दिन ढिला हुँदा प्रतिहेक्टर ३० देखि ४० किलो उत्पादन घट्दै जान्छ,’ सिंहले भने, ‘ढिला हुँदा तराईमा तातो हावाले समेत असर गर्छ ।’ अहिले देखिएको समस्यालाई समाधान गर्न सरकारले अभियानकै रूपमा लैजानुपर्ने उनको सुझाव छ ।

प्रकाशित : मंसिर ४, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×