मन्त्री हेरफेर ‘आज’

बुधबार सार्वजनिक कार्यक्रम नराख्न र टाढा नजान मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन
बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् । ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठीकै भयो, भोलि आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधन उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरूले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानुहोला ।’



प्रधानमन्त्री ओलीले आफूले सोचविचार गरेरै केही निर्णय गर्न लागेको बताए । ‘मैले केही सोचिरहेको छु, भोलि केही न केही निर्णय लिन्छु होला, सहकार्यका लागि तपाईंहरू सबैलाई धन्यवाद,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘फेरि पनि सहकार्य हुने नै छ, चित्त नदुखाउनुहोला ।’

बैठकमा विदेशमा रहेका दुवै उपप्रधानमन्त्री र शिक्षामन्त्रीसहित केही मन्त्री अनुपस्थित थिए । बुधबारै मन्त्रिपरिषद्बाट बाहिरिने सूचीमा रहेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनाल बैठकमा नआएको मन्त्रिपरिषद् स्रोतको भनाइ छ । यस्तै अर्थमन्त्री युवराज खतिवडा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि मंगलबारको बैठकमा उपस्थित थिएनन् । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफू निकटका केही मन्त्री तथा नेतासँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेका हुन् । मन्त्रीबाट कसलाई हटाउने र राख्ने भन्ने विषयमा दुई अध्यक्षबीच लामो समयदेखि छलफल चलिरहेको थियो ।

ओलीले आफ्नो भावनाअनुसार काम गर्न नसकेका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन मूल्यांकनअनुसार ‘रेड’ जोनमा रहेका केही मन्त्रीलाई हटाउने संकेत गरिसकेका छन् । मन्त्रीहरूको हेरफेर जिम्मेवारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बुधबार बिहान नेकपा सचिवालय बैठक पनि बोलाएका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।

प्रकाशित : मंसिर ४, २०७६ ०८:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दिल्लीको पिउने पानी ‘अस्वच्छ’

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — वायु प्रदूषणको अत्यधिक मार खेपिरहेको भारतको राजधानी नयाँदिल्लीमा सार्वजनिक धारामार्फत् वितरण हुने पिउने पानीसमेत अत्यधिक दूषित रहेको पाइएको छ । 


भारतको गुणस्तर विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा विभिन्न २१ वटा प्रादेशिक राजधानीमध्ये नयाँदिल्लीको खानेपानी सबैभन्दा प्रदूषित रहेको जनाइएको छ । अन्य विभिन्न सहरमध्ये कालकाता, चेन्नई, बैंग्लोर, जयपुर, लखनउलगायत सहरको पानीको नमुनाले पनि न्यूनतम गुणस्तर पूरा गरेका छैनन् ।

प्रतिवेदनमा भारतका सहरहरूमध्ये मुम्बईको खानेपानी मात्र पिउनयोग्य रहेको जनाइएको छ । परीक्षणका क्रममा विभागले तोकेको विभिन्न २८ वटा मापदण्डमध्ये दिल्लीको पानी १९ वटामा अयोग्य देखिएको थियो । भारतीय सहरहरूमध्ये मुम्बईले मात्र ती सबै मापदण्ड पूरा गरेको छ ।

मापदण्ड परीक्षण गर्दा आर्सेनिक र रेडियोधर्मी पदार्थ, विषालु रसायन, पीएच स्तर, कोलिफर्मजस्ता हानिकारक जीवाणु, गन्ध, क्लोरिनजस्ता रसायन लगायतको मात्रा हेरिएको थियो । जसमध्ये दिल्लीको पानीमा हानिकारक कोलिफर्म पाइनुका साथै एलुमिनियम, एमोनिया, आइरन, सल्फाइडलगायतका पदार्थ पनि भेटिएका थिए ।

अध्ययनमा दिल्लीको पानीमा पीएच स्तर पनि अत्यधिक रहेको देखिएको छ । त्यसैगरी, दिल्लीको सबैजसो नमुनामा धमिलोपन र नराम्रो गन्धसमेत पाइएको छ । जब कि केन्द्र सरकारले जल जीवन मिसनअन्तर्गत सन् २०२४ भित्र सबै घरमा स्वच्छ पिउने पानी पुर्‍याउने घोषणा गरेको छ ।

त्यसै पनि प्रदूषित हावाका कारण कष्टकर दैनिकी भोगिरहेका दिल्लीबासीलाई धारामा आउने पानीसमेत पिउन अयोग्य भएको तथ्यले थप प्रताडित तुल्याएको छ । विगत केही वर्षयता दिल्लीबासीले अत्यधिक प्रदूषणको मार खेप्दै आएका छन् । त्यसमाथि पछिल्लो एक महिनायता त वायुको प्रदूषण स्तर जोखिमपूर्ण स्तर नै नाघेको छ । जसले गर्दा दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहरका रूपमा चिनिन पुगेको छ ।
दिल्लीको वायु प्रदूषणका पछाडि स्थानीय कलकारखाना, अत्यधिक सवारीसाधनका अतिक्ति पन्जाब र हरियाणाका खेतमा धानको पराल र ठुटो जलाउँदा निस्केको धुवाँलाई प्रमुख कारण मानिएको छ । त्यसमाथि तिहारलगायतका चाडपर्वमा पड्काइएका पटाकाका कारण पनि वायु प्रदूषण अत्यधिक बढ्न गएको ठानिएको छ ।

विभिन्न निकायले गरेको मापनले यहाँको हावाको प्रदूषण स्तर निकै नै जोखिमपूर्ण देखिएको छ । गत शुक्रबार दिल्लीको हावाको गुणस्तर मापन गर्ने सूचक एअर क्वालिटी इन्डेक्स (एक्वूआई) ३९३ थियो ।

प्रकाशित : मंसिर ४, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT