कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पार्टी आफूअनुकूल बनाउँदै देउवा

काठमाडौँ — ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । कांग्रेसमा बीपीपछि युवा अवस्थामै प्रधानमन्त्री बन्ने भाग्यशाली व्यक्ति उनै हुन् । बीपी ०१५ सालमा प्रधानमन्त्री बन्दा ४६ वर्षका थिए ।

पार्टी आफूअनुकूल बनाउँदै देउवा

देउवा आफैं पनि कर्मभन्दा भाग्यमा विश्वास गर्छन् । ज्योतिषीले ६ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको उनी बेलाबखत पार्टी नेताहरूलाई सुनाउने गर्छन् । ७४ वर्षीय उनी अहिले पार्टी–सत्ता हाँकिरहेका छन् र दोस्रो कार्यकालका लागि नेतृत्व हात पार्ने ध्याउन्नमा छन् । नेतृत्वमा दोहोरिएर ८० वर्षसम्म पार्टीमा क्रियाशील रहने चाहना उनमा पछिल्लो पटक प्रकट हुँदै आएको छ । तर सजिलो भने छैन । उनको नेतृत्वमा पार्टी कमजोर बनेको र चर्चा गर्नयोग्य एउटै काम नभएको भन्दै दोस्रो र तेस्रो पुस्ताका नेताहरूले विरोध गर्दै आएका छन् ।


हुन पनि महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभाग देउवाले अहिलेसम्म गठन गर्न सकेका छैनन् । भ्रातृ संस्थाहरूलाई नेतृत्वविहीन बनाएको, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति गठन तथा विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन गर्न नसकेको लगायत आरोप उनीमाथि छ । उनकै नेतृत्वमा तीन तहको चुनावमा होमिएको कांग्रेसले नराम्रोसँग पराजय भोगेकाले पनि परिस्थिति अनुकूल छैन ।


यतिबेला उनी पार्टीका निकायहरूलाई आफूअनुकूल क्रियाशील बनाउन जुटेका छन् । पार्टीका संरचनालाई पूर्णता दिएर मात्रै महाधिवेशन गर्ने उनको योजना छ । त्यसका लागि केन्द्रीय विभाग, कार्यसम्पादन समिति गठन, म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति निर्माण गर्न लागिपरेका छन् । यसो गर्दा आफ्नो गुटका नेता–कार्यकर्ताको व्यवस्थापन हुने बुझाइ उनमा छ । व्यवस्थापनकै लागि १७ वटा केन्द्रीय विभाग थप्ने प्रस्तावसमेत ल्याएका छन् । नेता–कार्यकर्ताको व्यवस्थापनपछि अनुकूल परिस्थिति निर्माण हुने र त्यसैको जगमा महाधिवेशनमा जानुपर्ने उनको रणनीति छ ।


वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको संस्थापनइतर खेमा भने देउवाका यिनै कमजोरीलाई महाधिवेशनको मुद्दा बनाउने योजनामा छन् । आफ्ना कमजोरीलाई मुद्दा बनाउन नदिने देउवाको तयारी र उनको कमजोरीलाई मुद्दा बनाएरै महाधिवेशनमा जाने संस्थापन इतरपक्षको रणनीति कांग्रेसभित्रको राजनीति बनेको छ ।


कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा र श्याम घिमिरेका अनुसार आसन्न पार्टी महाधिवेशनमा देउवा सभापतिका उम्मेदवार हुन् । १३ औं महाधिवेशनबाट सभापति निर्वाचित उनको पहिलो कार्यकाल फागुनमा सकिँदै छ । नियमित महाधिवेशन आगामी फागुनमा हुनुपर्ने भए पनि विधानको सुविधा उपयोग गर्दै देउवाले ०७७ फागुनमा मात्रै महाधिवेशन गर्ने तयारी गरेका छन् । त्यतिबेला उनी उमेरले ७५ कटिसकेका हुनेछन्, कार्यकाल सकिने बेला ८० वर्ष पुग्नेछन् ।


इतर पक्षका नेताहरू उनलाई दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न दबाब दिइरहेका छन् । ‘चारपटक प्रधानमन्त्री र एकपटक सभापति भइसकेको मान्छे अब फेरि केका लागि चुनाव लड्ने ?’ केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा कांग्रेस नेता शेखर कोइरालाको सुझाव थियो, ‘देउवा र उनका समकक्षी रामचन्द्र पौडेलले अब उत्तराधिकारी खोज्नुपर्छ । दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ, आफूले भोगेको इतिहासका बारेमा किताब लेखेर बस्नुपर्छ ।’ तर, देउवा पार्टी सभापति भएर अझै मुलुकको प्रधानमन्त्री बन्ने आसमा छन् ।


संस्थापनमा देउवाको उत्तराधिकारी बन्न उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार अग्रसर छन् तर दुवै जना देउवाले आफैं नछाडेसम्म चुनौती दिने पक्षमा छैनन् । संस्थापनइतर खेमामा देउवालाई चुनौती दिन उनकै समकक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल अग्रभागमा छन् । उनी देउवाभन्दा एक वर्ष जेठा अर्थात् हजुरबा पुस्ताकै नेता हुन् । महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि देउवालाई चुनौती दिने लाइनमा छन् । तर आफ्नै समूहभित्र कसले जित्ने भन्ने प्रतिस्पर्धा छ । संस्थापन इतरपक्षमा सर्वसम्मत हुने वातावरण नबनेकाले देउवालाई थप उत्साहित बनाएको छ ।


देउवाको निकट रहेर काम गरेका नेता विश्वकर्माका अनुसार फेरि देउवा नै किन ? भन्ने प्रश्न संस्थापन पक्षभित्रै पनि उठ्ने गरेको छ । ‘भरपर्दो उत्तराधिकारी नपाएरै देउवाले आफैं उठ्न खोज्नुभएको हुन सक्छ,’ उनी भन्छन् । राजनीतिलाई व्यवसाय बनाइएकाले पनि हत्तपत्त नेतृत्वमा पुग्नेहरूले कुर्सी छाड्न नसक्ने ठम्याइ उनको छ । ‘पदमा पुग्नेले पूर्वाधार बनाएको हुन्छ, त्यसमा सबैको आस र त्रास जोडिन्छ । अमेरिका, भारत र बेलायतमै पनि राजनीतिबाट रिटायर्ड भएकाहरूले आरामको जीवन बिताएका छन्,’ उनी भन्छन्, ‘हाम्रोमा पूर्व भए पनि, हारे पनि र जिते पनि खचपच गर्ने प्रवृत्ति छ ।’


पार्टीले गत प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनमा पराजय भोगेपछि चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरेलगायत युवानेता नेतृत्व परिवर्तन नभई पार्टी सुधार नहुने निचोडमा पुगेका थिए । उनीहरूले नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नभएकाले पार्टी जमेको पोखरीमा परिणत भएको लिखित धारणा केन्द्रीय कार्यसमिति र महासमिति बैठकमै राखे । ‘पार्टीको चुस्त संगठन चलाउन प्रस्ट सैद्धान्तिक खाका त कोर्‍यौं तर त्यसलाई चलाउने नेतृत्वमा गतिशीलता छैन, यथास्थितिवादमा संगठन कसरी चलायमान हुन्छ ?’ उनीहरूले भनेका थिए– ‘त्यसैले नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु नै हो ।’


केन्द्रीय सदस्य घिमिरेले नेपालमा मृत्युअघिसम्म राजनीति गरिराख्ने संस्कार हाबी भएकै कारण आफू छँदै उत्तराधिकारी खोज्ने चलन नभएको बताए । गिरिजाप्रसाद कोइराला निधन हुँदा पार्टी सभापति थिए । उनका उत्तराधिकारी सुशील कोइरालाको पनि पार्टी सभापति रहेकै बेला निधन भएको हो । ‘हाम्रो राजनीति सामन्ती ढाँचाको छ, जवाफदेहीविहीन सुविधा उपयोग गर्न पाउने क्षेत्र भनेकै राजनीति बनेको छ,’ उनले भने, ‘विकसित मुलुकमा जवाफदेहिता बहन गर्नुपर्ने भएकाले नेतृत्व छाड्छन् तर हाम्रोमा जवाफदेही हुनु नपर्ने भएकाले जीवित रहुन्जेल राजनीति गर्ने परम्परा छ, चाहे कांग्रेस होस् वा अन्य दल ।’

प्रकाशित : मंसिर ४, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?