कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सारंगीको धुनले...

बिना थापा

(कास्की) — रेशम फिरिरि, रेशम फिरिरि 
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरि... 

सारंगीको धुनले...

यही गीत गाउँदै सारंगी पनि रेटिरहेकी छन् रोशनी गायक । तीन साता भयो, उनको दिनचर्यामा सारंगी बजाउन सिक्ने काम थपिएको । लोप हुन लागेको मौलिक बाजा र संस्कृति संरक्षणका लागि नयाँ पुस्ता अघि सर्नुपर्छ भनेर उनी सारंगी सिक्न अघि सरेकी हुन् ।

उनीसँगै नौ जना युवाले पनि पोखरा–१६ बाटुलेचौरस्थित नेपाल गन्धर्व समुदाय विकास केन्द्रमा सारंगी बजाउन सिकिरहेका छन् । यहाँ सारंगी मात्र होइन, मादल सिक्नेहरू पनि छन् । १० जना बालबालिकाले मादल सिकिरहेका छन् ।


केन्द्रले आयोजना गरेको पाँचमहिने तालिममा उनीहरूले मौलिक बाजा बजाउन सिकिरहेका छन् । बाटुलेचौर स्व.झलकमान गन्धर्वको गाउँ हो । यहाँ गन्धर्व संग्रहालय पनि छ । सारंगी, अरबाजोलगायत विभिन्न प्रकारका बाजा राखिएको संग्रहालयनजिकै तालिम पनि भइरहेको हो । गन्धर्व परिवारमा छोराहरूले मात्रै सारंगी बजाउने गर्दै आएका थिए । नयाँ पुस्ता वैकल्पिक पेसा रोज्दै सारंगी समात्न उत्साहित नहुँदा अब सिक्न चाहने छोरीहरूका लागि बाटो खुला भएको छ ।


‘छोरीहरूले पनि सिक्दा हुन्छ भनेपछि आफ्नो संस्कृति संरक्षण हुने, सीप पनि सिकिने भनेर तालिममा बसेकी छु,’ रोशनीले भनिन्, ‘अरू केही भएन भने पनि पछि मैले अरूलाई सांरगी बजाउन सिकाउने हुनु छ ।’ छोरीहरूलाई पनि सिक्ने बाटो खुला गरेकामा खुसी लागेको उनले बताइन् । सारंगी जोकोहीले सजिलै बजाउन नसक्ने अर्का सहभागी सुजन गायकले बताए । ‘यो हामी गन्धर्वको पुर्ख्यौली बाजामात्रै होइन, संस्कृति हो,’ उनले भने, ‘पछि कमाइखाने पेसा जेसुकै भए पनि सीप हो, सिकिराखौं भन्ने लागेर तालिममा बसेको छु ।’


गन्धर्वले मात्रै नभई अरू समुदायले पनि यसमा चासो देखाए सारंगी सधैं बजिरहने उनले बताए ।


केन्द्रले प्रशिक्षक समीर गायकलगायत ११ जनालाई काठमाडौं लगेर मौलिक बाजाबारे पढाएको र सारंगी पनि सिकाएको थियो । सारंगी बजाउन सिकेपछि मात्र आफूले यसको महत्त्व बुझेको समीरले बताए ।


‘अहिले प्रशिक्षक भएर अरूलाई सिकाउँदै छु,’ उनले भने, ‘सहभागीले निकै चासोसाथ सिकिरहेका छन् ।’ सारंगीलगायत मौलिक बाजाको संरक्षण होस् भनेर तालिम आयोजना गरिएको केन्द्रका अध्यक्ष भोजबहादुर गायकले बताए । ‘अबका नयाँ पुस्ता भेला पारेर तालिम दिएमात्रै सिक्ने खालका भए,’ उनले भने, ‘सिकाइयो भने हाम्रा सांस्कृतिक बाजाले सधैं दक्ष हात पाउँछन् । हाम्रो धुन मर्दैन ।’


गत वर्ष पोखरा महानगरपालिकाले केन्द्रका लागि छुट्ट्याएको ५० हजार रुपैयाँले १० मादल र १० वटा सारंगी किनेको उनले बताए । डेढ महिनाअघि पोखरा–१६ दीपका स्व.मिनोद मोक्तानको पहिलो वार्षिक स्मृतिमा उनको परिवारले केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको थियो । त्यही पैसाले केन्द्रले पाँचमहिने तालिम थालेको हो ।


प्रकाशित : मंसिर ४, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?