कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सेनामा हेलिकप्टर र विमान ‘अपुग’

जगदीश्वर पाण्डे

काठमाडौँ — सेनाले उद्धार तथा राहत वितरणका लागि पर्याप्त हेलिकप्टर र विमान नभएको बताएको छ । सेनासित हाल १३ हेलिकप्टर छन् । तीमध्ये ८ वटा सञ्चालन र ५ वटा मर्मतमा छन् । ६ वटा जहाजमध्ये ४ वटा सञ्चालनमा छन् र अन्य २ वटालाई लिलामीको प्रक्रियामा राखिएको छ ।

सेनामा हेलिकप्टर र विमान ‘अपुग’

प्राकृतिक विपत्तिका बेला उद्धार र अति विशिष्ट पदाधिकारीलाई सेनाले स्थल एवं हवाई सुरक्षा दिँदै आएको छ । कम हेलिकप्टर र विमानले बढी काम गर्नुपर्ने चुनौती रहेको सेनाले जनाएको छ ।


सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अति विशिष्ट व्यक्तिहरूका लागि प्रयोग भइरहेका तीन अमेरिकी बेल हेलिकप्टरमध्ये एउटा मात्र सञ्चालनमा छ । दुइटा मर्मतमा छन् । ‘सुरक्षा चुनौती र दायित्वलाई ख्याल गरेर सेनाले उद्धार तथा विपद् व्यवस्थापन गर्न काठमाडौं, सुर्खेत र इटहरी गरी मुलुकका तीन स्थानमा एयर बेस निर्माण गरेको उनको भनाइ छ ।


सेनाले मुलुकको भौगोगिक अवस्था र प्राकृतिक विपत्तिलाई आकलन गरी उद्धार, राहत र पुनःस्थापनाका लागि एउटा एयर बेसमा ५ हवाई साधन (चार हेलिकप्टर र एक विमान) राख्ने लक्ष्य राखेको छ । ‘पूर्वको इटहरी एयर बेसमा हालसम्म कुनै हवाई साधन छैनन् । पश्चिमको सुर्खेतमा भएका दुई हेलिकप्टरमध्ये एउटा सञ्चालनमा छ भने अर्को मर्मत गराइँदै छ,’ प्रवक्ता पाण्डेले भने ।


मध्य एयर बेस काठमाडमौंमा भएका अन्य हेलिकप्टर र विमानसमेत सबै पूर्णरूपमा सञ्चालनमा छैनन् । अति विशिष्ट व्यक्तिको सुरक्षादेखि गृह मन्त्रालयको सहकार्यमा अन्य सुरक्षा निकायहरू (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभाग) लगायतले सेनाकै सहयोगमा हेलिकप्टरलाई विभिन्न प्रयोजनका लागि उपयोग गर्दै आएका छन् ।


यसै वर्ष सरकारले अगुस्टावेस्टल्यान्ड हेलिकप्टर (राष्ट्रपतिका लागि) र सीएन २३५–२२० विमान ल्याएको छ । ती दुवै सेनालाई हस्तान्तरण गर्न बाँकी छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार अमेरिकाले दिने चारमध्ये थप दुई स्काई ट्रक पुस दोस्रो साता नेपाल भित्रिंदै छन् । ‘त्यसपछि सन् २०२० मा एउटा र सन् २०२१ मा अन्य दुई स्काई ट्रक आउनेछन््,’ उनले भने ।


सुरक्षा जानकार गेजा शर्मा वाग्ले नेपाली सेनाले प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरोदेखि अतिविशिष्ट व्यक्ति र निर्वाचन सुरक्षा, अन्तर्राष्ट्रिय आतंकवादसम्मको कुरा हेर्नुपर्ने भएकाले हवाई सुरक्षाका लागि स्पष्ट नीति र रणनीति अख्तियार गर्न जरुरी रहेको बताए । ‘सेनालाई हवाई सुरक्षाका लागि उपयुक्त उपकरण, भौतिक पूर्वाधार र हवाईजहाज उपलब्ध हुनुपर्छ,’ उनले भने, ‘भएका उपकरणहरू उपयोग गर्न पनि त्यत्तिकै आवश्यक छ ।’ वाग्लेले पनि अहिले सेनामा हवाई उपकरण उद्धार र राष्ट्रिय सुरक्षाका लागि पर्याप्त नरहेको बताए । ‘पर्याप्त प्राविधिक तालिम र उपकरण, नीति र सहकार्य भए सेनाले प्रभावकारी ढंगले हवाई सुरक्षामा भूमिका खेल्न सक्छ,’ उनले भने ।


विपद् व्यवस्थापन जानकार कृष्ण देवकोटा नेपालमा जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्ने भएकाले राष्ट्रिय सेनालाई तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिन्छन् । ‘नेपालमा एक ठाउँबाट अर्को ठाउँमा उद्धार वा केही समस्या पर्दा स्थलमार्गबाट पुग्न घन्टौं लाग्छ । कतै त सडक सञ्जाल नै पुगेको छैन । त्यसैले हाम्रो हवाई सेवा बलियो हुनुपर्छ,’ उनले भने ।


पूर्वउपरथी तथा सुरक्षा जानकार विनोज बस्न्यातले पनि नेपालका सुरक्षा निकायमा सुरक्षाका साधन अपर्याप्त रहेको बताए । ‘सेनासित जति हेलिकप्टर र जहाज छन्, ती अपर्याप्त छन् । सेनामा मजबुत हवाई सुरक्षा हुनुपर्छ । जसले विपद् पर्दा उद्धार र राहत गर्न सहज हुन्छ,’ उनले भने ।


सेनामा जम्मा १९ हवाई साधनः

हेलिकप्टर

जम्माः १३

चालुः ५

मर्मतमाः ५


जहाज

जम्माः ६

चालुः ४

लिलामी प्रक्रियामाः २


यो पनि पढ्नुहोस्ः

अब सेना पनि सीमा अनुगमनमा

प्रकाशित : मंसिर ३, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?