प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, 'भोलि मन्त्रिपरिषद् हेरफेर हुन्छ, यसमा अन्यथा नमान्नु होला'

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिएका छन् । 


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिँदै बुधबार काठमाडौं उपत्यका भन्दा बाहिर कार्यक्रम नबनाउन पनि निर्देशन दिएका छन्।

‘कोही पर्नुहोला, कोही नपर्नुहोला। भोलि म मन्त्रिपरिषद हेरफेर गर्दै छु,' प्रधानमन्त्रीले बैठकमा भनेको भनाई उद्धत गर्दै एक मन्त्रीले भने, ‘अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद। भोलि तपाँईहरु कसैले औपचारिक कार्यक्रम नराख्नुहोला।’

बैठकमा को–को मन्त्री रहने, को हट्ने भन्नेबारे भने प्रधानमन्त्री ओलीले कुनै जानकारी नदिएको ती मन्त्रीले बताए।

प्रधानमन्त्रीले सम्भवतः बुधबार मन्त्रिपरिषद् हेरफेर गर्नेछन्।

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्ने जानकारी दिए पनि यस विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी हुन बाँकी छ। मंगलबार दाहालसँग भेट गरेका नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार ओली र दाहालबीच मन्त्रिपरिषद् हेरफेरबारे अन्तिम सहमति हुन बाँकी छ।

सोमबारको भेटमा ओली र दाहालबीच बुधबार विहान बसेर मन्त्रिपरिषद् हेरफरेको विषयमा थप छलफल गर्ने सहमति भएको थियो। तर, मंगलबार नै प्रधानमन्त्रीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने जानकारी मन्त्रीहरुलाई दिएका छन्। केही मन्त्री राख्ने वा हटाउने विषयमा ओली र दाहालबीच मतभेद थियो। त्यसैबीच नेकपाले बुधबार बिहान सचिवालय बैठक बोलाएको छ।

प्रकाशित : मंसिर ३, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्

मधेसवादी दलको माग पूरा गर्न संविधान संशोधन हुन्छः दाहाल

कान्तिपुर संवाददाता

परासी — नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान कैयौं पटक संशोधन हुन सक्ने बताएका छन् । मधेसी दल सरकारमा सहभागी हुँदा संघीय समाजवादी दलसँगको दुईबुँदे सहमतिअनुसार आफैंले संविधान संशोधनको प्रस्ताव दर्ता गराए पनि विविध कारणले संशोधन हुन नसकेको उनको भनाइ छ । 

‘अहिले नै संशोधन भएन भनेर तर्सिनुपर्ने अवस्था छैन,’ परासीमा मंगलबार व्यापार मेला उद्घाटन गर्दै दाहालले भने, ‘संविधान सात पटक मात्र होइन, कैयौं पटक संशोधन हुन सक्छ ।’

सहकार्य र एकताबाटै मुलुकलाई अगाडि बढाउने चाहनाअनुरूप आफ्नो पार्टी र सरकारले मधेसवादी दलको माग पूरा गर्न संविधान संशोधन गर्ने उनले दाबी गरे ।

संक्रमणकाल भएकाले सबैको माग एकैपटक पूरा गर्न नसकिएको दाहालले बताए । निजी क्षेत्रसँगको सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सरकारले लगानीमैत्री वातावरण बनाएको भन्दै उनले ढुक्क भएर उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

व्यापार मेला आगामी १५ गतेसम्म चल्नेछ । दाहालले मंगलबारै भैरहवामा पाँचौं लुम्बिनी पर्यटन प्रवर्द्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव पनि उद्घाटन गरेका छन् ।

प्रकाशित : मंसिर ३, २०७६ १९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×