भारतले शारदा ब्यारेज खोलिदिँदा पुल निर्माणमा समस्या

महाकालीमा पानीको सतह बढ्दा एक्स्काभेटर र टिपरमा पानी पस्यो
भवानी भट्ट

कञ्चनपुर — सीमा क्षेत्रको शारदा ब्यारेजबाट भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा समस्या भएको छ । निर्माण कम्पनीले डाइभर्सन बनाएर काम गरिरहे पनि बेलाबेला पानी निर्माणस्थलमै पुग्ने गरेको छ । ‘काम रोकिएको छैन, तर जुन गतिमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन,’ निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने ।

भारतले शारदा ब्यारेज खोलिदिँदा पुल निर्माणमा समस्या

नदीमा पानी बढी भएका कारण निर्माण सामग्री ढुवानी तथा कामदारलाई आउजाउ गर्नसमेत समस्या भएको छ । एक्स्काभेटर तथा टिपरहरूमा पानी पसेर दुई/तीन दिनमै बिग्रन थालेको उनले बताए । भारतीय पक्षले शारदा ब्यारेजको पुल मर्मतका लागि भन्दै पूर्व र पश्चिमतर्फका पाँचवटा ढोका खोलिदिने गरेको छ । सामान्य अवस्थामा एक/दुई ढोका मात्रै खोलिन्थ्यो ।


महाकालीमा चार ठाउँमा डाइभर्सन बनाएर नदीलाई पूर्व र पश्चिमतर्फ मोडेर पुल निर्माणको काम हुँदै छ । नदीमा पानी बढी भएकाले थप दुई ठाउँमा डाइभर्सन बनाउनुपर्ने पाण्डेयले बताए । यस विषयमा जिल्ला प्रशासन कार्यालयसँगै महाकाली पुल आयोजनालाई पनि जानकारी गराइएको उनले बताए ।


अहिले पिलर निर्माणसँगै पाइलिङ र बनेको पिलरमाथि स्ल्याब राखिँदै छ । ‘बेलाबेलामा काममा अवरोध भइरहेको छ, यो अहिले मात्रै होइन, काम सुरु भएदेखिकै समस्या हो,’ निर्माण कम्पनीका प्रबन्धक प्रेमकुमार श्रेष्ठले भने, ‘हामीले नदीमा काम गर्न पाउने भनेको वर्षमा ५/६ महिना मात्रै हो । बीचमा व्यवधान हुँदा त्यसले समस्या थपिदिने गरेको छ ।’ हरेक दिन फरकफरक समयमा भारतले पानी छाडिदिने गरेकाले समस्या भएको श्रेष्ठले बताए ।


महाकाली नदीको पानी डाइभर्सन गरिँदै । नदीमा पानीको बहाव बढी भएपछि ४ ठाउँमा डाइभर्सन गरिएको छ । तस्बिरः भवानी भट्ट/कान्तिपुर

०७४ देखि निर्माण सुरु भएको पुलका १७ वटा पिलर बनेका छन् भने १७ पिलर निर्माण हुन बाँकी छन् । पाइलिङको काम पनि बाँकी छ । यस वर्ष पाइलिङ र पिलरको काम सक्ने लक्ष्य राखिएको पाण्डेयले बताए । बनिसकेक पिलरमा स्ल्याब राख्ने काम पनि सुरु हुन लागेको उनको भनाइ छ ।


भारतीय पक्षले पुल मर्मतका लागि दुई महिनासम्म ५ वटा ढोका खोल्ने जानकारी गराए पनि कुन समयमा खोल्ने भन्ने विषयबारे नखुलाएको महाकाली पुल आयोजनाका इन्जिनियर सुलभ न्यौपानेले बताए । कति बेला पानी बढ्ने हो भन्ने जानकारी नहुँदा निर्माणमा समस्या भएको उनको भनाइ छ ।


०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए । सोही वर्ष हिउँददेखि पुल निर्माण थालिएको हो । आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुल निर्माणका लागि कुमार श्रेष्ठ सीएफईसी जेभीसँग ३ वर्षभित्र काम सक्ने गरी ३ अर्ब २७ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

प्रकाशित : मंसिर ३, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?