उद्योग तथा वाणिज्य समितिले बजार अनुगमन गर्ने

दिनेश रेग्मी

काठमाडौँ — प्रतिनिधि सभाको ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’ को मंगलबारको बैठकले उपभोग्य वस्तुको अवस्था र गुणस्तरबारे बजार अनुगमन गर्न ७ सदस्यीय एक उपसमिति बनाएको छ ।

उद्योग तथा वाणिज्य समितिले बजार अनुगमन गर्ने

समिति सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार समितिमा सांसदहरु रामवीर मानन्धर, लालप्रसाद साँवा लिम्बू, अमृतदेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली स्नेही र सुजाता परियार छन् ।


समितिको अर्को वैठक बसेर संयोजक तोक्ने, एक सदस्य थप्ने र सरकारी अधिकारी सहितको टोली बनाएर अनुगमनमा निस्कने श्रीवास्तवले बताए । ‘उपभोग्यवस्तु गुणस्तरहीन भएको गुनासो आएपछि हामीले बजार अनुगमनको लागि उपसमिति बनाएका हौं’ श्रीवास्तवले कान्तिपुरलाई भने, ‘अब अनुगमन समितिको बैठक बसेर केही आधार तय गरेर अनुगमनमा निस्कने छौं ।’


उपसमितिले दाल, चामल, तेल, चिनी लगायतका दैनिक खाद्य सामाग्री, तरकारी, फलफुल माछा, मासु, दुग्धजन्य पदार्थ, मिनरल वाटर, औषधीलगायतको नापतौल, मूल्य, गुणस्तर, कारखाना निरीक्षण गर्ने जनाएको छ ।


अनुगमनमा सम्बन्धित विषय विज्ञ, नापतौल तथा गुणस्तर निकायका अधिकारी, प्रहरी र प्रशासनको समेत सहभागी हुनेछ । ‘बजार अनुगमन गरी मूल्य निर्धारणदेखि पौष्टिकता, गुणस्तर, विषादीको परीक्षण गर्ने छौं’ समिति सदस्य रसाईलीले भने, ‘उपभोक्ताको हक, अधिकारलाई सुनिश्चित गर्न अनुगमन गर्न जान लागेका हौं ।’ उपसमितिले सुरुमा उपत्यका र पछि राजधानीबाहिर अनुगमन गर्ने बताएको छ ।


प्रतिनिधिसभा नियमावली अनुसार संसदीय समितिले सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन, सरकारका काम कारबाही तथा समितिमा आएका गुनासाबारे वैठक, सोधपुछ, अनुगमन र मूल्यांकन गरी सल्लाह र निर्देशन दिन सक्ने व्यवस्था छ ।


‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’ को कार्यक्षेत्र अन्तर्गत उद्योण, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा मातहतका विभाग, कार्यालय र निकायहरु पर्छन् ।

प्रकाशित : मंसिर ३, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?