१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कांग्रेसद्वारा सरकारको समीक्षा : ‘२१ महिनामा २१ वटै असफलता’

संघीयता कार्यान्वयन, कूटनीतिक मामिला, सीमा सुरक्षा, वाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरणलगायतमा सरकार चुकेको ठहर 

काठमाडौँ — प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको २१ महिनामा २१ असफलता औंल्याएको छ । ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’ भनेरै कांग्रेसले बुँदागत रुपमै सरकारको असफलताबारे टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचन अघि कम्युनिस्ट सरकारको असफलता जनताले बुझ्नुपर्ने बताए । 

कांग्रेसद्वारा सरकारको समीक्षा : ‘२१ महिनामा २१ वटै असफलता’

प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारको २१ महिनाको समीक्षा गर्दै यो अवधिमा २१ वटै असफलता रहेको चित्रण गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले राष्ट्रियता, संविधान र संघीयता कार्यान्वयन, कूटनीतिक मामिला, शान्तिसुरक्षा, वाइडबडी जहाज खरिद, बूढीगण्डकी जलविद्युत्, बालुवाटार जग्गा प्रकरणलगायत मुद्दामा सरकार विफल भएको जनाएको हो ।


‘पाँच वर्षका लागि गठित सरकारको सफलता र असफलताको समग्र मूल्यांकन पाँच वर्ष पुग्दै गर्दा नै हुने हो । तर बिहानीले दिउँसोको संकेत गर्दछ भनिएझैं दुई तिहाइको सरकारको ५ वर्षको एक भाग अर्थात् २१ महिना सकिइसकेको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘यो अवधिले बाँकी दिउँसो र साँझका लागि परिणाममुखी सुखद संकेत बिल्कुलै दिएको छैन ।’


भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपाली भूभाग फिर्ता ल्याउने दिशामा सरकारले परिणाममुखी संवाद गर्न नसकेको कांग्रेसको आरोप छ । सरकार तराई–मधेसलगायत भूभागमा रहेको असन्तुष्टि सम्बोधन गरी संविधानको अपनत्वको दायरा विस्तार गर्न सरकार चुकेको, संविधानप्रतिको निष्ठाभन्दा कम्युनिस्ट दर्शनको शास्त्रीय भड्कावमा परेको, प्रदेशको नामकरण र राजधानी निर्धारण गर्न नसकेर संघीयता कार्यान्वयनको दिशामा समेत असफल भएको कांग्रेसको आरोप छ ।


केन्द्रले प्रदेश सरकारलाई आवश्यक अधिकार र पर्याप्त बजेट दिन तथा कर्मचारी समायोजनमा उदारता नदेखाउँदा संघीयता कार्यान्वयनमा इमानदारी नदेखिएको तर्क प्रवक्ता शर्माको छ ।


कांग्रेसले वाइडबडी जहाज खरिद प्रकरणलाई सरकारले ढाकछोप गरेको आरोपसमेत लगाएको छ । ‘प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विवरण बाहिर ल्याएको थियो । त्यसलाई लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत टुंगोमा पुग्न सकिने विधिलाई अतिक्रमण गरेर सरकारले ‘शाही आयोग’ गठनको शैलीमा ढाकछोपका लागि छानबिन आयोग बनायो,’ कांग्रेसको भनाइ छ, ‘त्यो आयोगको अस्तित्व यतिबेला बेपत्ता छ । यस्ता थुप्रै भ्रष्टाचार प्रकरणका कारण इतिहासमै बढी भ्रष्टाचारको रेकर्ड यो अवधिमा कायम भएको छ ।’


निर्मला पन्त प्रकरणका दोषी समात्न नसकेको, बिनाप्रतिस्पर्धा बूढीगण्डकी जलविद्युत् चिनियाँ कम्पनी गेजुवालाई सुम्पेर राष्ट्रघात गरेको, निजगढ विमानस्थलबारे अन्योल बनाएको, मेलम्ची परियोजनामा खेलबाड गरेको, चिकित्सा शिक्षाका विद्यार्थीको भविष्य अन्योलमा पारेको, प्रेस स्वतन्त्रतामा नियन्त्रण, सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग, सेयर बजार ओरालो लागेकोजस्ता सूचक अघि सार्दै कांग्रेसले सरकार पूर्ण रूपमा असफल रहेको दाबी गरेको छ ।



यी हुन् कांग्रेसले औंल्याएको सरकारका २१ असफलता


१. राष्ट्रियताको प्रश्नमा असफलता

२. संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

३. सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता

४. संघीयताका बाँकी कार्यभार पूरा गर्नमा असफल

५. कूटनीतिक मामिलामा अपरिपक्वता

६. विप्लव प्रकरण : असफलताको फरक पाठ

७. शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार

८. मूल्य वृद्धि : धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी

९. वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

१०. बूढी गण्डकी : कम्युनिस्ट सरकारको राष्ट्रघात

११. मेलम्ची परियोजनामाथि खेलबाड

१२. निजगढ एयरपोर्टको भविष्य अन्यौल

१३. चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

१४. सरकारको नियतले असफल संवैधानिक परिषद्

१५. शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण

१६. धर्मको प्रश्नमा होली वाइन प्रकरण

१७. गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता

१८. सामाजिक सुरक्षा कोष : कर्म कसैको, प्रचार कसैको

१९. बालुवाटार काण्डमा लिलाम नैतिकता

२०. कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

२१. असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र


प्रकाशित : मंसिर ३, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?