कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजेल बोकेको ट्यांकर लहानबाट 'गायब', चालक र सहचालक भन्छन्, 'अपहरणमा परियो'

राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । 

ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर 'अपहरण'मा परेको लिखित जानकारी निगमलाई मंगलबार बिहान १० बजे गराएका थिए । अपहरणकारीहरुले चालक रामदेव यादव र सह-चालक उमेश यादवलाई छाडेर ट्यांकरसँगै लगेको गुप्ताको दाबी छ ।


उक्त ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन् ।


गुप्ताका अनुसार चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा पुर्‌याएर छाडेको र ट्यांकर भने उनीहरुले आफैँसँग लगेका छन् ।


आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ढुवानीकर्ताले ट्यांकर गायब भएको कुरा निगमलाई जानकारी गराएको पुष्टि गरेका छन् । उनले घटनाबारे छानबिन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।

प्रकाशित : मंसिर ३, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल कुवेतसँग पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँगको होम म्याचमा १-० गोलअन्तरको पराजय ब्यहोरेको छ । यो हारले विश्वकपको तेस्रो चरण तथा एसियन कपमा छनोटको सम्भावना न्यून बनेको छ । भुटानको चाङलिमिन्थाङ रंगशालामा नेपालले पहिलो हाफमै गोल खाएको थियो । 

पुनर्निर्माणको चरणमा रहेको दशरथ रंगशालामा खेल गर्न एसियाली फुटबल महासंघले स्वीकृति नदिएपछि अखिल नेपाल फुटबल संघ एन्फाको प्रस्तावमा कुवेतसँगको होम म्याच भुटानमा खेलाइएको हो ।

खेलको २८ औं मिनेटमा कुवेती कप्तान बादर अल अल्मोतोबाले बक्स बाहिरबाट शानदार गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यही गोल ३ अंकका लागि निर्णायक बन्यो ।

यसअघि गएको भदौमा कुवेतमा खेलिएको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिताको समूह बी बाट नेपालले ५ खेलमा एक खेलमा मात्र जित निकालेको छ । चाइनिज ताइपेइबिरुद्धको अवे खेल नेपालले २–० ले जितेको थियो । त्यसयता सबै खेलमा पराजित भएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×