कास्की–२ उपनिर्वाचन : जोगिन्छ कि भत्किन्छ विरासत

लालप्रसाद शर्मा

(पोखरा) — संविधानसभाका दुवै र पछिल्लो प्रतिनिधिसभा निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका थिए रवीन्द्र अधिकारीले । कास्की–२ बाट जितेपछि मन्त्री भएका उनको गत फागुन १५ मा हेलिकप्टर दुर्घटनामा निधन भयो ।

कास्की–२ उपनिर्वाचन : जोगिन्छ कि भत्किन्छ विरासत

प्रतिनिधिसभाको एक मात्र यही क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । विभिन्न दल र स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन् । नेकपाबाट उम्मेदवार बनेकी रवीन्द्रकी पत्नी विद्या भट्टराई पतिको विरासत जोगाउने योजनामा छिन् । कांग्रेसबाट उठाइएका पाका उम्मेदवार खेमराज पौडेल त्यो विरासत भत्काउने दाउमा छन् ।


अहिले निर्वाचन हुन लागेको क्षेत्र यसअघि ३ नम्बर रहेकामा निर्वाचन क्षेत्र पुनःसंरचनापछि २ नम्बर भएको हो । यहाँ २०४८ मा तत्कालीन एमाले र ०५१ र ०५६ का निर्वाचनमा कांग्रेस विजयी भएका थिए । त्यसपछिका सबै निर्वाचन रवीन्द्रले जिते । ६ वटा निर्वाचनमा चारपटक आफूले जितेको विरासत जोगाउन सत्तारूढ नेकपा पनि जोडतोडले कसरत गरिरहेको छ । कांग्रेससँगै समाजवादी, साझा र विवेकशील दल पनि कस्सिएर लागेका छन् ।


समाजवादीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी, विवेकशीलकी जमुना शर्मा र अन्य उम्मेदवार घरदैलोमा व्यस्त छन् । सरसर्ती हेर्दा नेकपा र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।


४७ वर्षीया भट्टराई त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर चुनावमा होमिएकी हुन् । रवीन्द्रप्रतिको माया र सद्भावसँग आफ्नो उम्मेदवारी जोडिएको भन्दै उनले शोकलाई शक्तिमा बदल्न उम्मेदवारी दिएको जनाइन् ।


भट्टराईले पोखरालाई उत्कृष्ट पर्यटकीय स्थल बनाउने, समयमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, उद्यमशील युवा र आत्मनिर्भर महिला, एक घर एक रोजगार र समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सघाउने एजेन्डा अघि सारेकी छन् । ‘नेकपाले पटकपटक जितेको, रवीन्द्रको भावना जोडिएको र संगठनको वर्चस्वलाई जित्ने आधार मानेकी छु,’ उनले भनिन्, ‘शोकलाई शक्तिमा बदल्छु र रवीन्द्रका अधुरा सपना पूरा गर्छु ।’ उनी कास्कीमा नयाँ अनुहार हुन् ।


कांग्रेसका उम्मेदवार ७४ वर्षीय पौडेलले उपनिर्वाचनमा आफूले जितेर सरकारलाई ‘सबक’ सिकाउने बताए । तत्कालीन प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति बनेका उनी निष्ठावान् नेता मानिन्छन् । लामो समय शिक्षण पेसामा बिताएर ‘खेमराज गुरु’ का रूपमा परिचित उनी युवामाझ भने भिजेका छैनन् । पटकपटक एउटै दलले नजित्ने दाबी गर्दै पौडेलले जनताको ‘रेस्पोन्स’ देखेर उत्साही भएको बताए । ‘सरकारलाई गलत बाटोमा जान नदिने खबरदारी स्वरूप निर्वाचनमा होमिएको हुँ,’ उनले भने, ‘सरकारले राष्ट्रियता, लोकतन्त्र, संघीयता कमजोर बनाएकाले त्यसलाई रोक्ने काम कांग्रेसको हो ।’


पौडेलले पोखरालाई पर्यटकीय गन्तव्य बनाउने, महानगरका ग्रामीण क्षेत्रमा थप विकास गर्ने प्रतिबद्धता जनाएका छन् । तर साझा पार्टीकी उम्मेदवार केसी केही समयअघि मात्र कांग्रेस छाडेर आएकाले पौडेललाई त्यसको असर पर्न सक्ने विश्लेषणसमेत भइरहेको छ ।


समाजवादी, साझा पार्टीलगायतले पनि घरदैलो कार्यक्रम तीव्र बनाएका छन् । उनीहरूले पुराना पार्टी अब देशका लागि काम नलाग्ने भइसकेको भन्दै नयाँ पार्टी र विचारलाई जिताउनुपर्ने बताउँदै आएका छन् । साथै ठूला दल भ्रष्टाचारमा डुबेको भन्दै अब वैकल्पिक शक्ति खोज्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : मंसिर ३, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?