१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सुरक्षाघेराबाटै चागुनारायणमा मुर्ति चोरियो

दामोदर न्यौपाने

काठमाडौँ — चाँगुनारायण मन्दिर परिसरबाट आइतबार राति लक्ष्मीनारायणको मुर्ति चोरी भएको छ । चाँगु परिसरको उत्तरतिरको सत्तलको भित्तामा रहेको मुर्ति सत्तल पुननिर्माण गर्ने क्रममा त्यहाँबाट झिकेर कृष्ण मन्दिर परिसरमा राखिएको थियो ।

सुरक्षाघेराबाटै चागुनारायणमा मुर्ति चोरियो

हराएकै भोलिपल्ट स्थानीयवासी प्रजेन ग्वाला भँडेलले चागुनारायण नगरपालिका, पुरातत्व विभाग, भक्तपुर दरबार हेरचाह अड्डा लगायत निकायमा निवेदन दिएका छन् ।


मुर्ति खोज्न सम्पदा संरक्षण अभियन्ता संजय अधिकारीले पनि पुरातत्व विभागमा निवेदन दिएका छन् । ‘भेटिएकोचाहिँ छैन,’ भँडेलले भने, ‘पुरातत्व विभाग र सशस्त्र प्रहरीको लापरवाहीले मुर्ति चोरी भयो ।’


चाँगुनारायण विकास समितीका अध्यक्ष तथा पुजारी चक्राधरानन्द राजोपाध्यायका अनुसार सत्तल निमार्ण गर्ने क्रममा हनुमान र लक्ष्मी नारायणको मुर्ति बाहिर झिकेर राखिएको थियो । ‘ठकेदारले काम गरिराखेका छन्, मुर्ति कहाँ राख्छन् भन्ने ठेगानै हुँदैन,’ राजोपाध्य भन्छन्, ‘सत्तल भत्काएर खुला राखेको छ । काम पनि चाँडो सक्दैन ।’


पुरातत्व विभाग अन्तर्गतको भक्तपुर दरबार हेरचाह अड्डालाई मन्दिर क्षेत्र व्यवस्थित गरिदिन माग गरे पनि सुनुवाइ नभएको पुजारी राजोपाध्याय गुनासो गर्छन् । ‘कामको जिम्मा ठकेदारले लिएका छन् तर मुर्ति लगायत व्यवस्थापन गरेनन् भनेर अड्डालाई जानकारी गराएका थियौं,’ उनी भन्छन्, ‘चाँगु क्षेत्र व्यवस्थित गर्न अफिसै खडा गरिदिन्छु भनेका थिए । तर भन्नु मात्रै भयो, कामचाहिँ गरिदिएनन् ।’


चाँगु क्षेत्रमा सशस्त्रको अस्थायी क्याम्प छ । त्यही छेउमा जनपद प्रहरीको पनि पोष्ट छ । यतिले मात्र पनि चाँगुको मन्दिर सुरक्षा हुन नसकेको उनी बताउँछन् । ‘यहाँ हतियारसहितको प्रहरी राख्न माग गरेका छौं,’ उनी भन्छन्, ‘यही अवस्था रहने हो भने मन्दिरका मुर्ति सुरक्षा गर्न मुस्किल हुन्छ ।’


प्रकाशित : मंसिर ३, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?