सेनाकै मेडिकल कलेजमा धम्क्याएर असुली 

विद्यार्थी भन्छन्– ‘अतिरिक्त शुल्कबारे बाहिर बोले करिअर धरापमा पारिदिने धम्की दिइयो’
सुदीप कैनी

काठमाडौँ — नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान संस्थान (मेडिकल कलेज) ले धम्क्याएर अतिरिक्त शुल्क लिने गरेको गुनासो विद्यार्थीले गरेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी शुल्क लिएको हो । 

काठमाडौंको सानोभर्‍याङस्थित कलेजले विद्यार्थीपिच्छे फरक–फरक ‘फी स्ट्रक्चर’ वितरण गरेर बढी शुल्क लिँदै आएको छ । सन् २०१७ ब्याचका विद्यार्थीबाट तोकिएको शुल्कभन्दा ४ लाख ३२ हजार रुपैयाँसम्म बढी रकम असुलेको पाइएको छ ।


सरकार र चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) ले तोकेको शुल्क र किस्ता प्रणालीसमेत उल्लंघन गर्दै कलेजले रकम असुल्ने गरेको एक विद्यार्थीले बताए । ‘बढी शुल्क लिएको विषयमा बोले करिअर (भविष्य) धरापमा पारिदिन्छौं, फेल गरिदिन्छौं भनेर धम्की दिन्छन्,’ ती छात्रले कान्तिपुरसँग भने, ‘जाँचमा फेल गर्ने डरले बोल्न सकेका छैनौं ।’ अतिरिक्त शुल्कका विषयमा निजी मेडिकल कलेजहरूमा आन्दोलन चर्के पनि सेनाको मेडिकल कलेजमा त्रासका कारण विद्यार्थी बोल्न नसकेको उनले जनाए ।


कान्तिपुरलाई प्राप्त उक्त मेडिकल कलेजको छुट्टाछुट्टै ‘फी स्ट्रक्चर’ अनुसार नौ शीर्षकमा अतिरिक्त शुल्क लिने गरिएको छ । ल्याब फीवापत ५ वर्षमा २५ हजार, आवतजावत शुल्क ५० हजार, लाइब्रेरी/आईटी शुल्क ७५ हजार, बाह्य पाठ्यक्रम फी भनेर ४० हजार, मेडिकल कभरेज शीर्षकमा २५ हजार, प्रक्रियागत शुल्क भनेर ५० हजार, मर्मतसम्भार शुल्कबापत ५० हजार र सुरक्षा शुल्क भनेर ३० हजार रुपैयाँ उठाउने गरिएको छ । कलेजले एकमुष्ट शिक्षण शुल्कबाहेक अन्य कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने मन्त्रिपरिषद्को निर्णय छ ।


कलेजले सन् २०१६ का विद्यार्थीसँग ८ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको अर्का एक छात्राले गुनासो गरिन् । सन् २०१७ का विद्यार्थीसँग पहिलो वर्ष नै ४ लाख ३२ हजारको दरले अतिरिक्त शुल्क लिएको सेनाको कलेजले सन् २०१८ का विद्यार्थीसँग भने एक लाखमात्रै बढी शुल्क लिएको छ ।


सरकारले काठमाडौं उपत्यकाभित्र एमबीबीएस पढ्न २०१७ र २०१८ का लागि ३८ लाख ५० हजार शुल्क तोकेको थियो । कलेजले २०१७ ब्याचका विद्यार्थीसँग ४२ लाख ८२ हजार १ सय रुपैयाँ उठाएको थियो । २०१८ ब्याचका विद्यार्थीबाट ३९ लाख ५१ हजार रुपैयाँ लिइएको छ ।


कलेजले शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग समेत आन्तरिक परीक्षा, आवतजावत, मेडिकल कभरेज, सम्बन्धन शुल्क लिइरहेको छ । सम्बन्धन शुल्क ३३ हजार ३ सय ९० रुपैयाँ, त्रिभुवन विश्वविद्यालय परीक्षा फी ७ हजार ५ सय, मेडिकल कभरेजका लागि २५ हजार, आन्तरिक र आवतजावत शुल्कबापत ५०/५० हजार शुल्क तोकिएको ‘फी स्ट्रक्चर’ मा उल्लेख छ ।


छात्रवृत्तिमा पढ्ने विद्यार्थीबाट पनि एकमुष्ट २ लाख २ हजार एक सय ९० रुपैयाँ शुल्क लिइएको एक छात्राले बताइन् । ‘बढी पैसा लिएको विषयमा क्याम्पस प्रमुखलाई लिखित जानकारी गराएका छौं,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै चासो दिइएको छैन ।’ यस्तै भइरहे सरकारको आग्रहअनुसार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने आन्तरिक तयारी गरिएको विद्यार्थीहरूले जनाए ।


कलेजमा शतप्रतिशत शुल्कमा सर्वसाधारण, सेनाका परिवार र विदेशी विद्यार्थी अध्ययनरत छन् । शतप्रतिशतका साथै ८०, ६५ र ५० प्रतिशत छुटमा सेनाका परिवारका विद्यार्थी तथा शिक्षा मन्त्रालयको शतप्रतिशत छात्रवृत्तिमा गरी सात प्रकारका विद्यार्थी पढ्छन् । उनीहरूसँग सातै प्रकारको फी स्ट्रक्चर बनाएर घटीबढी अतिरिक्त शुल्क उठाउने गरिएको विद्यार्थीको गुनासो छ । एउटै शीर्षकमा पनि विद्यार्थीको प्रकारअनुसार कम बढी शुल्क लिने गरिएको छ । उक्त कलेजमा एक सय सिटमा विद्यार्थी एमबीबीएस अध्ययनरत छन् ।


उक्त तहका विद्यार्थीले सरकारले तोकेको शुल्क किस्ता प्रणालीमा बुझाउने व्यवस्था छ । कलेजले उक्त किस्ता प्रणालीसमेत उल्लंघन गरेर पहिल्यै रकम लिने गरेको पाइएको छ । पहिलो किस्ता (भर्ना हुने बेला) मा ५० र त्यसपछि दोस्रो र तेस्रो वर्षको अन्त्यमा २५/२५ प्रतिशत शिक्षण शुल्क बुझाउन भनिएको छ । ‘३८ लाख ५० हजारको ५० प्रतिशत पहिलो किस्ता १९ लाख २५ हजार तिरेर भर्ना भयौं,’ ती छात्रले भने, ‘भर्ना भएको एक साता पूरा नहुँदै ४२ लाख ८२ हजारको फी स्ट्रक्चर देखाएर थप रकम मागियो ।’



सम्पत्ति शुद्धीकरण टोली नोबेलमा


विराटनगर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेल मेडिकल कलेजका पदाधिकारीको तीनपुस्ते विवरण लिएको छ । एमबीबीएस र बीडीएसलगायतका विद्यार्थीबाट सरकारले तोकेभन्दा धेरै अतिरिक्त शुल्क लिएको आरोप लागेकै बेला विभागका तीन सदस्यले आइतबार र सोमबार कलेजका सञ्चालक, उच्च तहका कर्मचारीको विवरण र परिवारको नामावलीसहित हालसम्म भर्ना भएका सबै कार्यक्रमका विद्यार्थी संख्या, शुल्कसम्बन्धी विद्यार्थी र अभिभावक तथा अन्यसँग भएका सम्झौताको प्रतिलिपि लिएका छन् ।


कलेजको लेखापरीक्षण प्रतिवेदन, कलेजको आर्थिक प्रशासन सञ्चालनसम्बन्धी कानुनको प्रमाणित प्रतिलिपि पनि टोलीले लगेको सञ्चालक सुनिल शर्माले बताए । त्यसैगरी चिकित्साशास्त्र विभिन्न विधामा भर्ना भएका विद्यार्थी र परीक्षाको पाँच वर्षको विवरण, कलेजका निर्णयहरू, सम्पत्ति विवरण र अध्ययनरत तथा गएका विद्यार्थीका नामावली र शुल्कको विवरण पनि विभागको टोलीलाई उपलब्ध गराइएको शर्माले बताए । कलेज सञ्चालक शर्मा, पत्नी इन्दिरा बराल शर्मा, बाबु लोकनाथ न्यौपाने, आमा हुमादेवी, छोरा इशान, छोरी स्वयन, लेखा प्रमुख अमिर न्यौपाने, प्रशासन प्रमुख दीपेश राई, प्रबन्धक नारायण दाहाल र प्राध्यापक डिल्लीराम निरौलाको तीनपुस्ते विवरण टोलीले लगेको छ ।


नोबेल मेडिकल कलेजले तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार १ सय १८ रुपैयाँ विद्यार्थीबाट अतिरिक्त लिएको केन्द्रको ठहर छ । त्यसैगरी सन् २०१८ मा मात्र यो कलेजले प्रतिविद्यार्थी भर्नामा ७ लाख ४५ हजार रुपैयाँ अतिरिक्त उठाएको र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार ७ सय ३२ रुपैयाँ असुली गरेको र सन् २०१८ मा मात्र कलेजले ५० पेइङ विद्यार्थीबाट १२ करोड ७० लाख २६ हजार रुपैयाँ बढी उठाएको केन्द्रको प्रतिवेदन छ । प्रकाशित : मंसिर ३, २०७६ ०९:५५

प्रतिक्रिया
पठाउनुहोस्

सिंचाइ नहुँदा बाँझियो पकुवा

अगन्धर तिवारी

(पर्वत) — जनशक्ति नभएर खेतबारी बाँझिनु सामान्य भइसक्यो । आधुनिक प्रविधि, उपकरण, बीउ, मललगायत सुविधा भएर पनि सिंचाईको अभावमा कुश्मा नगरपालिकाभित्रकै उर्वरभूमि बाँझिन थालेको छ । 

कुश्मा–११ पकुवामा सिंचाइ अभावमा किसानले खेती गर्न पाएका छैनन् । अन्न, तरकारी र फलफुल खेतीको राम्रो सम्भावना भएको पकुवामा सिंचाइ सुविधा नहुँदा किसानले हिउंदे खेती गर्न पाएका छैनन् । आकासे पानीको भरमा वर्षामा धान रोपेका किसानले हिउँदे खेती लगाउन पाउँदैनन् । स्थानीय सीता रिमालका अनुसार वर्षौं पहिला बनेको पकुवा सिंचाइ नहर ठाउँठाउँमा भत्किएर जीर्ण भएर हिउँदमा खेती लगाउन नसकिएको हो । ‘वर्षामा पनि भल छोपेर धान रोप्ने हो,’ उनले भनिन्, ‘रोपेपछि आकाशको पानी नपरे रोप्नु मात्रै हुन्छ ।’ पकुवाको मुख्य खेती हुने फाँटसम्म आउने नहरमा समस्या भएको उनले बताइन् ।

फाँटदेखि करिब २ किलोमिटर नजिकको जहरेखोला वरिपरि व्यावसायिक तरकारी खेती गरेको देखेका किसान आफ्नो गाउँ टार भएर बाँझै हुँदा निराश छन् । खोलाकिनासमा सानातिना कुला निकालेर खेती गरेको भए पनि मुख्य फाँटमा पानी अभावकै कारण बाँझै भएको स्थानीय तोयानाथ रिमालले बताए । ‘खोलाकिनारको ओसेपमा कस्तो राम्रो खेती भएको छ,’ उनले भने, ‘पानी भए यो फाँटमा कस्तो फल्दो हो ।’ पकुवा सदरमुकाम कुश्मादेखि करिब ७ किलोमिटर टाढाको गाउँ हो । मध्यपहाडी लोकमार्गबाट करिब १० मिनेटमा पुग्न सकिने गाउँसम्म बाह्रै महिना यातायात सुविधा छ । सिंचाइ सहज भए गाउँमा उत्पादित सामान बजार पठाउन समस्या नभएको स्थानीय बताउँछन् । ‘तरकारी फलाए बिक्रीको समस्या छैन,’ स्थानीय गणेश पौडेलले भने, ‘घरघरै गाडी आउँछन् । आफैंले पनि सजिलै लैजान सकिन्छ ।’ बेमौसमी तरकारी फलाउन सके व्यापारी घरघरै आउने र मूल्य पनि राम्रो पाउने उनले बताए । सदरमुकामसहित पोखरा, बाग्लुङलगायत बजारसम्म उत्पादन सजिलै पुर्‍याउन सकिने भए पनि सिंचाइका कारण सबैतिर व्यावसायिक तरकारी उत्पादन सम्भव नभएको किसानले बताएका छन् । चार दशकअघि निर्माण गरिएको जहरे सिंचाइ योजना ६ वर्षअघिको वर्षा र पहिरोले धेरै ठाउँमा भत्किएको छ ।

अहिले नहरमा वर्षाका बेलासमेत पर्याप्त पानी ल्याउन नसकिएको किसानको गुनासो छ । हिउँदमा गहुँ, आलु, तोरी, फापरलगायत तरकारी उत्पादन गर्न सिंचाइको मुख्य समस्या रहेको रेशमलाल रिमालले बताए । सिंचाइ समस्या लिएर स्थानीय सरकारलाई धेरैपटक नहर मर्मतका लागि आग्रह गरिएको उनले बताए ।

कुश्मा नगरपालिकाले पकुवामा सिंचाइ सुविधा पुर्‍याउन नयाँ नहर निर्माणको योजना अघि सारिएको जनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×