३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

वडाध्यक्ष छाडेर शिक्षक

(सल्यान) — सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बीएम आइतबारदेखि पोखराको हेम्जामा छन् । वडा, गाउँपालिकाको काम वा घुम्ने रहरले उनी घर छाडेर त्यहाँ पुगेका होइनन् । बर्सेनि कात्तिक १५ पछि जाडो छल्न मुस्ताङवासी जिल्ला बाहिर निस्कन्छन् । यही लर्कोमा उक्त जिल्लाका १८ वटा विद्यालयका शिक्षक पनि विद्यार्थी लिएर झर्छन् । 

वडाध्यक्ष छाडेर शिक्षक

यसरी झरेका विद्यालयहरूले पोखराका विभिन्न स्थानमा हिउँदभरि कक्षा चलाउँछन् । यिनै घुम्ती विद्यालयमध्ये लोमन्थाङ–३ को दिव्य ज्ञान आधारभूत विद्यालयका शिक्षक बनेर आइपुगेका हुन् दिनेश ।


शिक्षक सेवा आयोगअन्तर्गत प्राथमिक तहको स्थायी शिक्षकको विज्ञापन खुल्दा उनले पोहोर असारमा मुस्ताङबाट खुला कोटातर्फ फारम भरेका थिए । सोही वर्ष असोज दोस्रो साता लिखित परीक्षा भयो । पर्वतको कुश्मा केन्द्रबाट परीक्षामा सहभागी उनले आफू उत्तीर्ण भएको खबर अलि ढिला पाए । जब खबर पाए, लगत्तै साउन ३ मा बागलुङमा मौखिक परीक्षा थियो ।


परीक्षा दिएर गएपछि उनले गत महिना आफ्नो नियुक्ति भएको विद्यालयका बारेमा फोनबाटै बुझे । उनले पढाउनुपर्ने विद्यालयको टोली घुम्ती कक्षाका लागि पोखरा झरिसकेको थियो ।


गाउँमा आफ्नो भलो चाहनेको रायसल्लाह लिए । अधिकांशले स्थायी सरकारी जागिर भएकाले राजनीति छाडेर जान सल्लाह दिए । गाउँपालिका पुगेर वडाध्यक्षको पदबाट राजीनामा बुझाएपछि बसमा पोखरा हान्निए । ‘म २८ वर्ष पुगें, राजनीति त पछि पनि गर्न सकिन्छ भन्ने ठानेर वडाध्यक्ष पद छाडेर शिक्षण पेसा रोजें,’ सोमबार साँझ उनले पोखराबाट फोनमा भने, ‘उमेरमा सबैभन्दा ठूलो कुरा कसरी सही पेसा रोज्ने, कसरी सजिलोसँग परिवार पाल्ने भन्ने हुँदो रहेछ ।’ वृद्धा आमा, श्रीमती, ८ र २ वर्षका छोराप्रति आफ्नो जिम्मेवारी सम्झँदा करिअरको बाटो फेर्न गरेको निर्णयमा कुनै पछुतो नभएको उनले बताए ।


‘मैले अंग्रेजी विषय लिएर ब्याचलर सकेको हुँ,’ उनले भने, ‘राजनीतिमा लाग्नुअघि पनि रहर शिक्षण पेसा गर्ने नै थियो । बरु अलि विकट ठाउँमा गएर पढाउने रहर हो ।’ हेम्जामा कक्षा राखेका उनले पढाउने घुम्ती विद्यालयमा २६ विद्यार्थी छन् । बीएम स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुने सिद्धकुमाखमा एक्ला जनप्रतिनिधि थिए । विजेता बन्न भने भाग्यले साथ दिएको थियो ।


उनको र साबिक एमालेका उम्मेदवार देवेन्द्र रोकाले समान ३ सय २१ मत आएको थियो । मत बराबरी भएपछि गरिएको गोलाप्रथाबाट बीएम छानिएका थिए । वडाध्यक्ष भएर काम थाले पनि उनी राजनीतिमा रमाएका थिएनन् । ‘वडाध्यक्षमा विजयी भए पनि अधिकार र सुविधा नपाएको छटपटी हुन्थ्यो,’ उनी भन्छन्, ‘जीविकोपार्जनको आधार दरिलो नदेखेपछि मैले फरक बाटो रोज्छु भन्ने सोचेको थिएँ ।’ वडाध्यक्ष हुनुअघि पनि उनी शिक्षण पेसामा आबद्ध थिए ।


यो पेसामा भएपछि कम्तीमा आफ्नो ज्ञान पछिल्लो पुस्तालाई बाँड्न सक्नुका साथै हातमुख जोर्न सजिलो हुने उनी ठान्छन् । ‘आफ्नो वडाको विकासमा केही गर्छु भन्ने नभएको होइन तर यो व्यवस्थाको जग नै नबसिसकेकाले राजनीतिमा हात हाल्नै हतार गरिएछ जस्तो लाग्दै आएको थियो,’ उनले भने, ‘वडा छाड्दा पनि मैले केही मतदातासँग सल्लाह गरेरै छाडेको हुँ ।’


शिक्षक भएर पनि समाजका लागि काम गर्न सकिने उनको विश्वास छ । उनले वडाध्यक्ष पदबाट राजीनामा दिएपछि गाउँ कार्यपालिकाको निर्णयअनुसार ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए ।

प्रकाशित : मंसिर ३, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?