२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बलात्कारीलाई साढे ११ वर्ष कैद

काठमाडौँ — बैतडीकी एक किशोरीलाई बलात्कार गर्ने दुई युवकलाई सर्वोच्च अदालतले साढे ११ वर्षका दरले कैद सजाय तोकेको छ । पक्राउ परेका सागर भट्ट र अमर अवस्थीलाई कैद सजायसँगै पीडितलाई साढे १० लाख रुपैयाँ भराउन सर्वोच्चले आदेश दिएको हो । 

बलात्कारीलाई साढे ११ वर्ष कैद

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयालको इजलासले गत पुस ७ मा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै आरोपितहरूलाई दोषी ठहर गरेको थियो । सोमबार उनीहरूमाथि सजाय निर्धारण भएको हो । घटनामा जिल्ला अदालत बैतडीले १३ वर्ष सजाय र ५० हजार क्षतिपूर्तिको फैसला गरेको थियो, जसमा बलात्कारको आरोपमा ८ वर्ष र सामूहिक बलात्कारको आरोपमा थप ५ वर्ष सजाय सुनाइएको थियो । पछि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्लाको फैसला उल्टाई आरोपितहरूलाई निर्दोष भनी फैसला गरेको थियो । एसएलसी दिन सदरमुकाम आएकी किशोरी २०६८ चैत ९ मा परीक्षाकै बेला बलात्कृत भएकी थिइन् । बलात्कारपछि नालीमा फालिएकी उनको प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्राध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए, तर प्रहरीले लिन मानेन । पछि विद्यार्थीहरूले जुलुसै निकाले र बजारै बन्द गरे । अनि मात्रै आरोपितलाई प्रहरीले पक्राउ गर्‍यो र मुद्दा चलायो । सागर भनिने युवक जगन्नाथ पुस्तक पसल र अमर चाँदनी फोटो स्टुडियोका सञ्चालक हुन् ।


जिल्लाको फैसला पुनरावेदन अदालतबाट उल्टिएपछि पीडितले कान्तिपुरमार्फत न्यायपरिषद्का अध्यक्ष तथा सदस्यहरूलाई खुलापत्र लेख्दै न्यायाधीशहरूमाथि छानबिन र सजायको माग गरेकी थिइन् । त्यतिबेला पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशहरू नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीले विवादास्पद फैसला गरेका थिए । शाही ‘खराब आचरण’ को फरक आरोपमा केही दिनअघि मात्रै बर्खास्तको सिफारिसमा परेका थिए । राजभण्डारी भने हाल पनि उच्च अदालतमै न्यायाधीश छन् ।


त्यतिबेला शाही र राजभण्डारीको इजलासले ‘पीडित किशोरीले आफूमाथि भएको घटनाको सिलसिलेवार रूपमा बयान दिन नसकेको र घटनाको अनुसन्धान नै फितलो भएको’ आधार देखाउँदै जिल्ला अदालतको फैसला उल्ट्याएको थियो । ‘जब पीडित बालिकाको शरीरमा शुक्रकीट र रौंहरू फेला परेको भन्ने उल्लेख गरिएको छ । त्यसको डीएनए किन परीक्षण गरिएन, सबैभन्दा ठूलो कमजोरी यही हो,’ विवादमा परेका न्यायाधीश शाहीले त्यतिबेला (०७१ पुस २ गते) कान्तिपुरसँगको प्रतिक्रियामा भनेका थिए, ‘हामी कति बयानका पछि लाग्ने ? प्रतिवादीले प्रहरीदेखि अदालतसम्म कतै कसुर स्विकारेको छैन ।’


पुनरावेदन अदालतले फैसलामा पीडित बालिकाको भित्री वस्त्रमा वीर्य र रौंहरू भेटिए पनि त्यो प्रतिवादीको भनेर यकिन हुन नसकेको’ ठहर गरेको थियो । जबकि बलात्कारको घटनामा पीडितको बयान र किटानी महत्त्वपूर्ण प्रमाण मानिन्छ । पीडितको शरीर जाँचका क्रममा गुप्तांगमा चोट पुगेको अनि आँखाको तलतिर चोट लागेको प्रतिवेदन थियो ।


प्रकाशित : मंसिर ३, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?