२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पूर्वराजा जब क्लब छिरे...

सुशील पौडेल

काठमाडौँ — शनिबार रातको १२ बज्दै थियो । ठमेलस्थित क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) मा सधैंझैं नाचगानको माहोल थियो । क्लबका कार्यकारी निर्देशक रविन श्रेष्ठलाई खबर आयो, पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आउँदै छन् । १५ मिनेटमै ज्ञानेन्द्र बुहारी हिमानी, दुई छोरी र केही अंगरक्षक लिएर एलओडी छिरे । क्लबको माहोल एकाएक फेरियो । सबैको ध्यान पूर्वराजपरिवारतिर गयो । भर्खरैसम्म घन्किइरहेका गीतहरू रोकिए । अनि बज्न थाले, राष्ट्रभक्तिका गीत– ‘रातो र चन्द्र सूर्य...’, ‘मेरो नेपाल...’, ‘यो मन त मेरो नेपाली हो...।’ एकपछि अर्को गर्दै यस्तै गीतहरू गुन्जिरहँदा पूर्वराजा शाह त्यहाँ उपस्थितहरूमाझ आएर नाच्न थालिसकेका थिए । परिवारका अन्य सदस्यले पनि संगीतको तालमा झुम्दै उनलाई साथ दिएका थिए । 

पूर्वराजा जब क्लब छिरे...

कमेडी च्याम्पियनको प्रिमियरका लागि भेन्यु हेर्न भनेर सोही दिन अभिनेत्रीद्वय केकी अधिकारी, रिमा विश्वकर्मा र निर्देशक विशाल भण्डारी पनि एलओडी पुगेका थिए । निस्कने तरखरमा रहेको कलाकार टोली पनि पूर्वराजा आउने खबर पाएपछि बसे । त्यो रातको माहोल सम्झनलायक भएको केकीले बताइन् । ‘उहाँ (ज्ञानेन्द्र) का क्रियाकलाप हामीहरूकै जस्तो सामान्य र सहज थियो । उहाँहरू हामीसँग मात्र नभई क्लबमा भएका सबैसँगै नाच्दै, बोल्दै र फोटो खिच्दै हुनुहुन्थ्यो ।’


कलाकारहरूको टेबुल ज्ञानेन्द्रकै टेबुल सामुन्ने थियो । ‘हामीले कलाकार हौं भनेपछि उहाँले सम्मान गर्दै आफूले पनि नेपाली फिल्म हेर्ने र कलाकारलाई चिन्ने बताउनुभयो,’ रिमाले भनिन्, ‘अहिले त कमेडी खुब चलेको छ । अझ राम्रो गर्दै जानुहोला भन्नुभयो ।’


अभिनेत्री रिमाले शनिबारको माहोलमा आफूलाई पूर्वराजा चाखलाग्दो लागेको बताइन् । ‘राजाबाट रंक हुँदासम्म पनि उहाँले आफूलाई कति मज्जाले सम्हाल्न सकेको ?’ उनले भनिन्, ‘त्यो माहोल देख्दा मलाई आफूलाई सन्तुलनमा राख्न सक्यो भने खुसी त्यसै मिल्ने रहेछ भन्ने महसुस गरायो ।’ ज्ञानेन्द्र क्लबमा पस्दा अरूले कुनै स्टार छिरेको जस्तो व्यवहार गरे पनि उनको व्यवहार सामान्य भएको पाएको बताइन् ।


‘हामीलाई सुरुमा डर लागेको थियो । उहाँहरूलाई क्लबको लाउड म्युजिक र माहोल मन पर्दैन कि भनेर । त्यसैले आफैंले राष्ट्रभक्तिका गीत छानेर बजाइदिएका थियौं,’ क्लबका निर्देशक श्रेष्ठले भने, ‘उहाँहरू भीआईपी कक्षबाट तल झरेर सबैसँग नाच्नुभयो । डेढ घण्टा जति रमाइलो गर्नुभयो ।’


श्रेष्ठका अनुसार शाह परिवार आउने खबर पहिल्यै दिइएको थिएन । ‘कतै डिनर गरेपछि यहाँ आउने योजना बनाउनुभएको रहेछ । आउन मिल्छ भनेर सोधेपछि हामीले मिल्छ भन्यौं । त्यसको १५ मिनेटभित्रै आइपुग्नुभयो ।’

पूर्वराजासहितको टोली क्लब छिरेपछि एलओडीले स्क्रिनमा ‘राजा’ भनेर स्वागत गरेको फोटो सोमबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रह्यो । यसमा गल्ती भएको स्वीकार गर्दै श्रेष्ठले भने, ‘कसैले भनेपछि हाम्रै कर्मचारीले हालेका रहेछन् । मैले देख्नेबित्तिकै गल्ती भएको भन्दै हटाइहाल्न लगाएँ । सायद ३/४ सेकेन्ड मात्रै डिस्प्ले भयो होला ।’ उनका अनुसार, शाही परिवारले ड्रिंक्स र केही स्न्याक्स लिएर करिब दस हजार रुपैयाँको बिल तिरेका थिए ।

क्लबबाट जाँदाजाँदै ज्ञानेन्द्रले रविनलाई भने, ‘राम्रो ठाउँ खोल्नुभएछ, मज्जा आयो ।’

प्रकाशित : मंसिर ३, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?