२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेपालसँगको सम्बन्धमा भारतले कसैलाई जवाफ दिनु छैन : भारतीय विदेशमन्त्री

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतले नेपालमा उत्तरी छिमेकी चीनले विकास गर्ने पूर्वाधार योजनाहरूप्रति आफ्नो कुनै चिन्ता र चासो नभएको टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकर (एस जयशंकर) ले जर्मनीको एउटा खबरपत्रिका डेर स्पिगललाई दिएको अन्तर्वातामा त्यस्तो धारणा राखेका हुन् ।

नेपालसँगको सम्बन्धमा भारतले कसैलाई जवाफ दिनु छैन : भारतीय विदेशमन्त्री

साथै उनले विगतमा दक्षिण एसियामा क्षेत्रीय भावना कम हुनुमा ठूलो मुलुक भएकाले भारतको बढी कमजोरी रहेकोसमेत उल्लेख गरेका छन् । तर, पछिल्लो पाँच वर्षमा विगतका ती गल्ती सुधार गर्न भारतले सकेसम्म प्रयास गरिरहेकोसमेत उनको दावी छ ।


डेर स्पिगलको भारतस्थित संवाददाता लाउरा होफ्लिन्गरसितको अन्तर्वार्तामा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका प्रभावशाली मन्त्री जयंशकरले भारतले विगतदेखि नै नेपाल, बंगलादेशलगायतका दक्षिण एसियाली मुलुकहरूमा लगानी गर्दै आएको र त्यो कुनै अन्य मुलुक (चीन) लाई जवाफ दिनका लागि नभएकोसमेत जिकिर गरेका छन् ।


‘चीनले पाकिस्तान, नेपाल र श्रीलकांमा ठूला पूर्वाधार योजनाहरु अघि बढाएको छ, यस क्षेत्रमा चीनको बढ्दो प्रभावको जवाफमा भारतले के गरिरहेको छ’ भन्ने प्रश्नमा जयशंकरले भनेका छन्, ‘हामीलाई चीनको प्रभावलाई जवाफ दिनुछैन । एक छिनका लागि चीनलाई बिर्सिदिने हो पनि हामी अहिलेको जस्तै नेपाल, बंग्लादेश वा श्रीलंकामा लगानी गरिरहने नै छौं ।’


उनले दक्षिण एसियामा क्षेत्रीय भावनाको अभाव रहेको र त्यसका लागि सबभन्दा ठूलो मुलुक भएकाले केही हदससम्म भारत दोषी रहेको समेत उल्लेख गरेका छन् । ‘म भारतलाई बढी जिम्मेवार ठान्छु । तर, पछिल्लो पाँच वर्षमा गल्ती सुधार गर्न हामीले सकेसम्म प्रयास गरेका छौं । दक्षिण एसिया जति बढी आपसमा जोडिन्छ हाम्रा लागि पनि त्यति नै बढी फाइदा छ,’ उनले भनेका छन् ।


उनले चीनले भारतको सिमासम्म पुग्ने नयाँ हिमालय सिमापार रेलमार्गलगायतका पूर्वाधारहरु नेपालमा निर्माण गर्ने योजना अघि बढाए पनि त्यसमा भारतको कुनै चासो र सरोकार नरहेको पनि बताए् । जयशंकरले त्यस्तो भने पनि प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गलाई लिएर दिल्लीमा अलि बढी नै चासो रहेको पाइन्छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि चिनियाँ राष्ट्रपति सि चिन पिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा सम्झौता गरिएको थियो ।


भारतले पनि त्यसको जवाफमा रक्सौल–काठमाडौं जोड्ने रेलमार्ग निर्माण गर्न अध्ययन अघि बढाएको छ । उक्त रेलमार्गले भारतले सम्भाव्यता अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि सम्झौता गर्न दुवै पक्षबीच अन्तिम गृहकार्य जारी रहेको स्रोतको भनाइ छ ।


जयंशकरले डेर स्पिगललाई दिएको अन्तर्वार्तामा घुमाउरो पाराले नेपाल–भारत सम्बन्ध अन्य मुलुक (चीन) सँग हुन नसक्ने पनि संकेत गरेका छन् । ‘त्यहाँ अहिले नै नेपाल र भारतबीच दुई ठाउँमा रेलसम्पर्क छ अबको केही वर्षमै त्यो संख्या पाँच पुग्दैछ । नेपालको भारतर्फको सीमा खुला छ, चीनतर्फ त्यस्तो छैन । थुप्रै नेपाली भारतमा कामका लागि आउँछन् । यस्ता कुराको कसरी तुलना हुन्छ ?’


यसका अतिरिक्त अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले ५ अगस्टमा भारत सरकारले जम्मुकश्मिरको विशेषाधिकार खारेज गर्ने निर्णयको समेत बचाउ गरेका छन् । साथै उनले भारतको आफ्नै महात्वाकांक्षा रहेको र भारत कसैको ‘ठूलो खेल’ को प्याधा बन्दैछ भन्ने धारणा अत्यन्त हेयभावग्रस्तको उपज रहेकोसमेत दाबी गरेका छन् ।


प्रकाशित : मंसिर २, २०७६ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?