त्रिविबाटै स्नातक तहको नक्कली प्रमाणपत्र जारी !

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय मातहतको परिक्षण नियन्त्रण कार्यालयबाटै मानविकी विषयमा स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट त्रिविका तत्कालीन परिक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी गरेको पाइएको हो ।

त्रिविबाटै स्नातक तहको नक्कली प्रमाणपत्र जारी !

अख्तियारका अनुसार थपलियाले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई स्नातक तहको नक्कली प्रमाणपत्र बनाइदिएका हुन् । पोखरेलले उक्त नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा गोरखापत्र संस्थानमा सेवा प्रवेश गर्नुका साथै बढुवासमेत भएका थिए ।


पोखरेलको शैक्षिक प्रमाणपत्रको छानबिनका क्रममा त्रिविबाट जारी उनको स्नातक तहको लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र नक्कली भएको फेला परेको अख्तियारले जनाएको छ ।


थपलियाले नक्कली शैक्षिक प्रमाणपत्र जारी गरेको र गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक पोखरेलले त्यसैका आधारमा सेवा प्रवेश गरी बढुवासमेत भएका छानबिनबाट पुष्टि भएकाले दुवै जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । थपलियाले गलत मनसायका साथ नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेकोसमेत अख्तियारले उल्लेख गरेको छ ।


यसैगरी अख्तियारले मालपोत कार्यालय, पर्साका तत्कालीन फाँटवाला मदनप्रसाद गुप्ताले ७७ लाख ८६ हजार ८ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । छानबिनबाट गुप्ताले जग्गाको लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेसनमा भएको थैली रकम घटाई कम मूल्य कायम गरी करिब ७८ लाख राजस्व हिनामिना गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


अख्तियारले अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीका प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध समेत सोमबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । चौधरीले भारतीय सिमा बजारबाट सामान ल्याउन सहज गरिदिने नाममा सेवाग्राहीसित घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।


प्रकाशित : मंसिर २, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?