कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यसकारण लम्बिँदै छ मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया

बबिता शर्मा

काठमाडौँ — दुई मन्त्रीलाई हटाउने र राख्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद हुँदा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया ढिला भएको छ । पूर्व माओवादीतर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा र खानेपानी मन्त्री बीना मगरलाई हटाउने वा नहटाउने भन्ने विषयमा ओली–दाहालबीच मतान्तर देखिएको हो  । 

यसकारण लम्बिँदै छ मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया

प्रधानमन्त्री निकट स्रोतअनुसार प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई यथावत राख्ने र खानेपानीमन्त्री मगरलाई हटाउने पक्षमा छन् । तर, अध्यक्ष दाहाल गृहमन्त्री थापालाई हटाउने र बुहारी बीनालाई खानेपानीमन्त्रीमै यथावत राख्ने अडानमा छन् । ओली र दाहालको यही अडानका कारण मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको छ ।


आफ्नो पारिवारिक कारण बुहारी समेत रहेकी मन्त्री मगरलाई नहटाउने अडान दाहालले प्रधानमन्त्री समक्ष लिएका छन् । दाहाल गृहमन्त्री थापालाई हटाएर उनको ठाउँमा आफू अनुकुलका व्यक्ति पठाउने योजनामा छन् ।


दाहाल निकट एक नेताकाअनुसार पछिल्लो समय दाहाल र थापाबीचको सम्बन्ध राम्रो छैन । सरकारमा गएपछि आफूलाई सहयोग र समन्वय नगरेको भन्दै दाहाल थापासँग असन्तुष्ट छन् । त्यसकारण उनलाई हटाएर आफू अनुकुलको व्यक्ति गृहमन्त्री बनाउने सोचमा दाहाल छन् ।


अध्यक्ष दाहाल कृषिमन्त्री चक्रपाणी खनाल र उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनीहरुको ठाउँमा जनार्दन शर्मा, लेखराज भट्ट वा अग्नी सापकोटालाई मन्त्री बनाउने योजनामा छन् । प्रधानमन्त्री ओली भने थापालाई मन्त्रीमै यथावत राख्दा पार्टीभित्रको शक्ति समीकरण नबिग्रने भन्दै हटाउन चाहँदैनन् ।


‘प्रधानमन्त्रीको चाहना त पूर्व माओवादी तर्फका दुईजना (थापा र वर्षमान पुन) बाहेक अरु सबै हटाउने र नयाँ ल्याउने भन्ने छ । तर, अध्यक्ष दाहाल भने दुईजना मात्रै हटाउने अडानमा हुनुहुन्छ । यीनै अडानले मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको हो,’ स्रोतले भन्यो ।


ओली र दाहालबीच यस विषयमा कुरा मिलेलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । यही विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल छलफलमा बसेका छन् । बालुवाटार स्रोतका अनुसार आगामी बिहीबारअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनामा प्रधानमन्त्री ओली छन् । यही योजनाअनुसार उनले आफ्नो गृहकार्य अगाडि बढाएका छन् ।

प्रकाशित : मंसिर २, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?