१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

द्वन्द्वपीडित परिवारको भेला : पीर बिर्संदै भलाकुसारी 

राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका र मारिएका आफन्तलाई सम्झादै उस्तै परिवारले एकअर्काको दुःख साटे
रूपा गहतराज

नेपालगन्ज — बाँकेको बैजनाथ गाउँपालिका–४, बोरिङ बस्तीकी अञ्जना चौधरी राम्रोसँग बोल्न सक्तिनन् । सशस्त्र द्वन्द्वमा १७ वर्षको जेठो छोरा बेपत्ता पारिएपछि उनी बिरामी परिन् । रासन लिन गएको छोरालाई सेनाले बेपत्ता पारे । २०५९ सालमा हराएको छोरो फर्केर आएन् । छोराको सम्झना एउटा नाति छ । छोरो बेपत्ता भएको अर्को वर्ष बुहारीले पनि छाडेर अन्तै घरजम गरेर गइन् ।

द्वन्द्वपीडित परिवारको भेला : पीर बिर्संदै भलाकुसारी 

गाभरमा शनिबार वनभोज कार्यक्रममा सहभागी हुन आएकी उनी आफू जस्तै अरूका पीडा सुनेर थोरै भए पनि मन दह्रो बनाउने भइन् । ‘१७ वर्षको छोरो हरायो, नाति नै १७ वर्षको भयो,’ उनले भनिन्, ‘बाबुकै अनुहार भएकाले नातिले न्यास्रो मेटाएको छ ।’ अञ्जनाको छोरो हराएको एक महिनापछि बैजनाथ–४ धुम्नी थरुनीका छोरालाई सेनाले बेपत्ता बनाए । काठको मिस्त्री काम गर्ने उनको छोरालाई केही काम छ भनेर घरबाट उठाएर लगे । थरुनीलाई त्यो दिन झलझली याद आउँछ । भदौ १४ आउँदा उनी आँसु थाम्न सक्दिनन् । ‘जति नसम्झु भने पनि सम्झना आउँछ,’ उनले भनिन्, ‘आफ्नै कलेजो काटेर लगे जस्तो भएको छ ।’ उनलाई बाटोमा सेना देख्नेबित्तिकै मनमा चिसो पस्छ । ‘के गर्नु बितेको समय फर्केर नआउने । त्यो बेला हामीजस्ता धेरैजना आमाको हालत यस्तै भएछ,’ उनले भनिन्, ‘सबैको अवस्था उस्तै हो । सबैले आफ्ना आफन्त गुमाएका छौं ।’


गाभरको वनभोजमा भेला भएका उनीहरू सशस्त्र द्वन्द्वमा दुवैतर्फबाट बेपत्ता पारिका र मारिएकाहरूका परिवार तथा आफन्त थिए । उनीहरूले आपसी पीरमर्का मात्रै सुनेनन्, एकअर्काका आँसु पनि पुछे । बैजनाथ–४ की पवित्रा सुनारका पतिलाई २०६० असार २९ मा तत्कालीन विद्रोही माओवादीले लगेर गए । उनको लास पनि भेटियो । १९ वर्षको उमेरमा सुनार एकल भइन् । तीन सन्तानलाई बढो मुस्किलले हुर्काइन् । ५५ वर्षीया पवित्राले छोराछोरीको पढाइ र घर चलाउन वैदेशिक रोजगारको यात्रा पनि गरिन् । ‘कुवेत पुगेको तीन महिनामै परान फुत्केलाझैं भयो,’ उनले भनिन्, ‘फर्किएर गाउँमै होटल चलाएर बसें ।’ धेरै पछिसम्म उनी माओवादी शब्द सुनेपछि विरक्त हुन्थिन् । बिस्तारै उनले मन बुझाइन् । ‘अझै पनि कहिलेकाहीं रिस उठ्छ के गर्नु,’ उनले भनिन्, ‘खै कसको दोष भन्नु सबै पीडित छौं ।’


वनभोजमा एकअर्कासँग आफ्ना दुःख पोख्दै उनीहरूले आपसमा ढाडस दिए । ‘छुट्टिनुभन्दा मिल्नुमा ताकत छ,’ बेपत्ता परिवारकी सदस्य बैजनाथ–४ जयकली खड्कीले भनिन्, ‘लडेर कसैको जित देखिएन । मिलेर आफ्ना अधिकार माग्छौं ।’ सशस्त्र द्वन्द्वमा आफ्ना आफन्त गुमाएका उनीहरूले राज्यले घाउमा मल्हम लगाउनुभन्दा बढी चोट थप्दै गएको गुनासो गरे । स्थानीय तहमा लक्षित वर्गका नाममा बजेट विनियोजन हुँदा द्वन्द्वपीडितले आफ्ना लागि योजना नदिएको गुनासो गरे । ‘एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर राज्यको बेवास्ताले साह्रै मन पोल्छ,’ राप्तीसोनारी गाउँपालिका–९ की कल्पना रोकायले भनिन्, ‘द्वन्द्वपीडित राज्यबाटै अपहेलित भए ।’


उनीहरूलाई एकआपसमा घुलमिल हुन र आफ्ना दुःख साट्न द्वन्द्वपीडित तथा एकल महिला सञ्जालले अवसर जुराइदिएको थियो । द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती खत्रीले कार्यक्रमका लागि छुट्याइएको भत्ता सहभागीले नलिएर वनभोजको आयोजना गर्न भनिएपछि यस्तो भेला सम्भव भएको बताइन् । ‘थोरै भए पनि एकअर्काको अवस्था बुझेर हल्का भयौं,’ उनले भनिन्, ‘कसैको दुःख सानो ठूलो छैन, हामी सबै पीडामा नै छौं ।’ विद्रोही पक्षबाट पति गुमाएकी खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विक दुवै पक्षको बलिदानीले देशमा परिवर्तन सम्भव भएको बताउँछिन् । ‘अब पुरानो दुस्मनी सम्झेर फाइदा छैन,’ उनले भनिन्, ‘अब समाजमा दुवै पक्ष आपसमा मिलेर बस्नुपर्छ । विगतका प्रतिशोध भुल्नुपर्छ ।’ राजनीतिक कारणले भएको द्वन्द्वमा परेका सबैको अवस्था उस्तै भएको उनले बताइन् ।

प्रकाशित : मंसिर २, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?