कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलमको धम्की

मातृका दाहाल

काठमाडौँ — बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले पक्राउका क्रममा प्रहरीसँग नै 'मान्छे मार्ने' धम्की दिएको भिडियो कान्तिपुरलाई प्राप्त भएको छ ।

आलमको धम्की

२ मिनेट २४ सेकेन्डको भिडियोमा उनले यसो भनेका छन् :

आलमः तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?

प्रहरीः कहाँ हामीले ठट्टा ठानेका छौं हजुर ? माननीयज्यूलाई हामी सम्मान गर्छौं । जयनेपाल, नमस्कार भनेका छौं ।

आलमः (गाडीमा हात बजार्दै) हँ... यो जिल्लामा आग (आगो) लाग्छ, आग ।

प्रहरीः शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईँको पनि जिम्मेवारी हो नि ।

आलमः यो जिल्लामा आग (आगो) लाग्छ । तपाईं हेर्दै जानुस् । भारतबाट मानिस... (उनी आफ्नो मोबाइल फोन हेर्छन्)

प्रहरीः त्यस्तो भन्न मिल्दैन हजुर ।

आलमः मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंले ।

प्रहरीः हैन माननीयज्यू ।

आलमः अब जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ ।

प्रहरीः माननीयज्यू, अशान्ति हुन्छ, आगो लगाउँछु, मान्छे मार्छु भन्न कहाँ मिल्छ ?

आलमः (चिच्याउँदै) हँ... एकदम हुन्छ, हुन्छ, हुन्छ ।

प्रहरीः त्यसो भन्न हुँदैन हजुर ।

आलमः (प्रहरीतर्फ औंला ठड्याउँदै) तपाईं (डीएसपी नवीन कार्की) र एसपी (भूपेन्द्र खत्री) लाई हत्कडी लगाउँछु ।

प्रहरीः ठीक छ, ठीक छ । म जेल जान तयार छु । सर्वोच्चको आदेश पालना गर्दा हजुरले जेल पठाउनुहुन्छ भने हामी जान्छौं ।

आलमः अब असहज परिस्थिति निर्माण हुन्छ, त्यसको जिम्मेवारी तपाईं र एसपीले लिनुपर्छ ।

प्रहरीः शान्तिसुरक्षा गर्ने दायित्व हजुर (आलम) को पनि हो ।

आलमः तपाईंलाई के हुन्छ भन्ने त मेरो वकिल आउँछ अनि थाहा हुन्छ ।

प्रहरीः बरू को वकिल हुनुहुन्छ, हामी बोलाउन सहयोग गर्छौं । मर्जी होस् हजुर ।

आलमः (चर्को स्वरमा) हैन, मलाई तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसको भुक्तभोगी तपाईं र एसपी हुनुहुन्छ ।

प्रहरीः हामीले त सर्वोच्चको फैसला कार्यान्वयन मात्रै गरेका हौं हजुर ।

आलमः होइन, त्यसका लागि पुलिस लिएर जान मिल्छ ? मेरो भारतबाट...

प्रहरीः माननीयज्यूलाई सम्मानसाथ जयनेपाल, नमस्कार गरेर यस्तो आदेश छ हजुर भनेका छौं ।

आलमः होइन, तपाईंहरुले डकैतजस्तो व्यवहार गर्नुभयो । यही चोक (राजपुर/इन्द्रिस गेट) मा हजारौं मानिस जम्मा

हुन्छन् अब ।

प्रहरीः केका निम्ति हजुर ? हामीले त सर्वोच्चको फैसला कार्यान्वयन गरेका हौं । अब अदालतले फैसला गर्छ, भीडले होइन । हजुरको पक्ष ‘स्ट्रङ’ छ भने त्यसरी जाउँ न हजुर ।

आलमः होइन, तपाईं दुइटा पुलिस राखेर... (शब्द बुझिँदैन) गर्नुभएको छ, यसको भुक्तभोगी (जिम्मेवार) तपाईंहरु बन्नु हुनेछ ।

प्रहरीः हजुरले मलाई कहाँ दोष दिन मिल्छ र ? हामीले कानुन कार्यान्वयन गर्ने मात्रै हो । हामी सामान्य कारिन्दा मात्रै हौं ।

आलमः हैन, हैन ।

प्रहरीः हजुरहरुले नै बनाएको कानुन कार्यान्वयन गरेका हौं ।

प्रकाशित : मंसिर २, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?