२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

साइत जुराएर बेंसी झारिन्छ गोठ

हरिराम उप्रेती

गोरखा — लेकका गोठमै दिन बिताउँदा महिनौंसम्म फुर्सद नपाएकाहरू यतिखेर परिवारसँग रमाएका छन् । चौंरीका बथान लिएर बेंसी झरेकाहरू फर्किएकाले गाउँमा छुट्टै रौनक छ । लेकका गोठ कात्तिक २० को शुभ साइतमा गाउँ झारिएको हो । धार्चे गाउँपालिका–७ खानीगाउँ बस्ती आसपासका क्षेत्र यतिखेर गोठले भरिएका छन् । 

साइत जुराएर बेंसी झारिन्छ गोठ

गोठमा बस्नेले गाउँ झरेपछि आफन्तलाई दूध, घिउ, दही बाँडेका छन् । गाउँ रहेकाले रक्सी, भटमास र कोदोका परिकार बनाएर गोठमा बस्ने आफन्त र छिमेकीलाई दिएका छन् । ‘यो बेलाको खुसी यसैमा छ, मज्जाले परिवारसँग बसेर गफिन पनि पाइने, साथीभाइसँग रमाउन पनि,’ स्थानीय जितबहादुर गुरुङले भने, ‘वर्षाभरि एक्लाएक्लै चौंरीका बथान हाँकेकाले खुसी हुन पाएका छौं ।’


६ महिना लेक, ६ महिना बेंसी । धार्चेमा गोठकै दुनियाँमा रमाउनेको जमात ठूलै छ । लाप्राकका ८२ वर्षीय जितराज गरुङले ६ दशक गोठमै बिताए । नम्बे खर्कबाट बस्तुको बगाल लिएर उनी लाप्राक झरेका छन् । ‘उहिलेको थिति छाड्न सकिएन,’ उनी भन्छन्, ‘६० वर्ष भयो गाई, बाख्रा, भेडा चराएर हिँडेको । वर्षमा एक दुई फेर गाउँ झर्न पाउँदा खुसी लाग्छ ।’ लेकका खर्कमा हिउँ परेर जाडो बढ्न थालेपछि गोठ बेंसी झारिएको उनले बताए । ‘बल हुने एक दिनमा खर्क पुग्छन् । बुढेसकाल लाग्यो, बल सकियो,’ उनले भने, ‘तीन दिन लगाएर गाईबाख्रा झारेको छु ।’ नम्बेका मात्र ३० गोठ बेंसी झरेको उनले बताए ।


‘दूध, दही आफ्नै गोठको हुन्छ, अन्न, नुनतेल मात्र लेक लाने हो,’ उनले भने, ‘हामीलाई त यसरी नै हिँड्न रमाइलो लाग्छ तर अहिले यस्तो जमाना गइसक्यो ।’ लेक–बेंसी झार्दा उकाल्दा गोठालाले आफ्नै तजबिजले गोठ सार्न भने नपाउने उनको भनाइ छ । धार्चेअन्तर्गतका बस्तीका गोठालाले छुट्टाछुट्टै समिति बनाएका छन् । समितिको निर्णयअनुसार गोठ लेकबेंसी उकाल्ने/ओराल्ने ठाउँअनुसार आआफ्नै नियम छ । समितिले जैसी (पुरोहित) लाई गोठ सार्ने शुभ साइत निकाल्न भन्छन् । साइतमा गोठ सानुपर्ने हुन्छ । निर्णय नमाने गोठ समितिले जरिवाना लगाउँछ ।


समितिको आग्रहअनुसार खानीगाउँका जैसी पुनराम गुरुङले कात्तिक २० को साइत जुराए । पुङ्सा खर्कको गोठ गाउँसम्म झर्‍यो । ‘लेकबाट गाउँ झार्ने साइत निकालिसकेँ । अब गाउँबाट बेंसी झार्न अर्को साइत जुराउनुपर्ने छ,’ पुनरामले भने । साइत नजुराई गोठ सार्दा अशुभ हुने जनविश्वास छ । ‘ल्हो हेर्नुपर्छ, ल्होमा गाई, गोरु, भेडा, भैंसी, बाघ, बिरालु वर्ग पर्न हुँदैन,’ उनले भने, ‘बाघ वर्गमा गोठ सारे चितुवाले दुःख दिन्छ ।’ गोठधनीलाई दुःख बिमार परेको अवस्थामा भने साइतको एक–दुई दिन अघिपछि गोठ सार्न छुट रहेको उनले सुनाए । अब गाउँबाट बेसी गोठ सार्न एक सातामै साइत जुराउन गोठ समितिले भनिसकेको उनले बताए । ‘गाउँमा धेरै दिन गोठ बस्दैन । केही दिनभित्रै लापुबेंसी झरिसकेको हुन्छ,’ उनले भने, ‘बेंसीबाट लेक उकाल्दा अर्को साइत जुराउँछौं ।’


लेकबेंसी गोठ सार्दा पशु स्वास्थ्यको कामना गर्दै ध्यान गर्ने चलन रहेको गोठ समितिका पूर्वअध्यक्ष समेत रहेका पुनरामले बताए । ‘बेंसीबाट लेक उकाल्ने बेला डम्बु भन्ने ठाउँमा मंसिर र लेक पुगेपछि धार्चे डाँडामा फागुनमा ध्यान र पूजा हुन्छ,’ उनले भने, ‘पशुबस्तु राम्रो होस्, बाच्छाबाच्छी, पाठापाठी रातो, तारे, झालेमाले जन्मिऊन्, रोगब्याध नलागोस्, पशुपालेर धेरै पैसा कमाइयोस् । छोराछोरी राम्रो बाटो लागून्, परिवारमा राम्रो होस् भनेर ध्यान हुन्छ ।’


खानीगाउँका खर्कका गोठाला साताको तीन दिनमध्ये आइतबार पशु वध गर्दैनन् । मंगलबार दुई बगाल मिसाउँदैनन् । शनिबार गोठमै पशुबस्तु राख्छन् । ‘शनिबार गोठबाट बाहिर निकाल्न हुँदैन भन्ने पहिलेदेखिकै चलन हो,’ खानीगाउँका पुनरामले भने, ‘आइतबार काटमार र बेचबिखन दुवै गर्दैनौं, हुन पनि दिन्नौं ।’ गोठ समितिको निर्देशनअनुसार खर्क परिवर्तन गर्नुपर्ने नियम छ । बस्तु छाडा छाडे जरिवाना गर्ने अधिकार समितिकै हुन्छ । समितिको निर्णय अटेर गर्नेलाई २५ देखि ५० रुपैयाँसम्म गल्तीअनुसारको जरिवाना हुन्छ ।


स्थानीयको सरसल्लाहअनुसार नै गोठ समितिले सबै अधिकार पाउँछ । ‘यो बेला तल सार्ने, ऊ बेला माथि लाने सबै निर्णय गर्ने अधिकार उसैको हुन्छ,’ उनले भने । समितिको कार्यकाल २ देखि ५ वर्षसम्मको हुने गरेको छ । वर्षमा कम्तीमा ६ पटक समितिको बैठक बस्नैपर्छ । विशेषगरी बस्तु धेरै भएकालाई गोठ समितिमा ल्याउने प्रावधान छ । ‘कुन ठाउँमा घाँस हुन्छ, कुन खर्क कस्तो छ, सबै गोठमा बस्नेलाई थाहा हुन्छ । थाहा भएको मान्छे समितिमा ल्याउनैपर्छ,’ उनले भने । गोठ, खर्क, चरिचरण प्रयोग व्यवस्थित बनाउन समितिले भूमिका खेल्छ । छाडा बस्तुले बाली नोक्सान गरे क्षतिपूर्ति भराउने अधिकार पनि समितिलाई हुन्छ ।


धार्चे गाउँपालिकाको लापु, गुम्दा, लाप्राक, लप्सीबोट, एमगाउँ लगायतका क्षेत्रमा गोठ समितिको निर्णयअनुसार मात्र गोठ सार्ने चलन छ । यहाँका स्थानीय बस्तु बन्धक बनाएर गोठमा पालेर राख्दैनन् । व्यवस्थित चरिचरणका लागि पनि भूगोल सुहाउँदो नियम बसाल्नुपर्ने हुन्छ । ‘एउटै गोठमा सधैं बस्तु राख्ने होइन, लेकबेंसी गरिराख्दा गाईबस्तुले फरक–फरक घाँस पनि खान पाउँछ,’ पुनराम भन्छन् ।


भेडाबाख्राले हरियो मात्र घाँस खोज्दा पटक–पटक ठाउँ फेर्नुपर्ने बाध्यता रहेको धार्चे–४ लाप्राकका चन्द्रबहादुर गुरुङ बताउँछन् । असारमा गर्मी छल्न लेक उक्लेको भेडीगोठ चार महिना लेक बिताएर बेसी झारिएको छ । अबको दुई महिना भेडीगोठ गाउँ वरपर रहने र त्यसपछि धार्चे आसपासकै चरिचरण क्षेत्रमा लैजाने उनले सुनाए । धार्चे क्षेत्रमा तीन सयवटाभन्दा बढी घुम्ती गोठ छन् ।

प्रकाशित : मंसिर २, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?