१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

समाजवादी बैठकमा सरकारबारे निर्णय लिने जिम्मा पदाधिकारीलाई

काठमाडौँ — समाजवादी पार्टीले सरकारमा रहने वा नरहने र राजपासँगको एकताका विषय टुंग्याउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले राजपासँगको एकीकरण टुंगोमा पुगे तत्काल सरकार छाड्न सकिने निष्कर्षसमेत निकालेको छ ।

समाजवादी बैठकमा सरकारबारे निर्णय लिने जिम्मा पदाधिकारीलाई

केही दिनमा पदाधिकारी बैठक बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । संघीय परिषद् र केन्द्रीय कार्यसमिति बैठकमा सरकार छाड्ने या नछाड्ने भन्ने विषयमा विशेष छलफल भएको थियो । बाबुराम भट्टराई नेतृत्वको संघीय परिष्दको बैठक बिहीबार एवं केन्द्रीय कार्यसमिति बैठक शुक्रबार र शनिबार चलेको थियो ।


राजपाले पार्टी एकीकरणका लागि सरकार छाड्नुपर्ने सर्त अघि सारेको छ । सोही सर्तका कारण समाजवादी पार्टीभित्र समेत सरकार छाड्नुपर्ने मत बलियो बनेको छ । ‘कहिले कुन तरिकाबाट सरकार छाड्ने भन्ने विषयलाई पदाधिकारी बैठकले टुंग्याउँछ,’ पाण्डेले भने ।


पार्टीका कार्यकारिणी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निश्चित समय तोकेरै संविधान संशोधनका लागि माग राख्ने र त्यतिन्जेल प्रक्रिया अघि नबढाइए मात्रै सरकार छाड्ने अडान राख्दै आएका छन् । पार्टीमा भट्टराई पक्षले परिषद् बैठकबाटै सरकार छाड्नुपर्ने मत राखेको थियो । तर त्यसमा यादव सहमत भएनन् ।


राजपा नेता राजेन्द्र महतोले भने समाजवादीले सरकार नछाडेसम्म पार्टी एकीकरण नहुने प्रस्ट्याइसकेका छन् । वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्य राखेर पार्टी एकीकरण गर्न खोजिएकाले सरकार छाड्नुपर्ने उनको भनाइ छ । ‘सरकारलाई चुनौती दिन सक्ने शक्ति निर्माणका लागि एकीकरणको कुरा भएको हो,’ उनले भने, ‘सरकारमा हुँदासम्म एकीकरण हुन्न ।’


प्रकाशित : मंसिर १, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?