कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लुम्बिनीमा न्युज फेस्टिभल

घनश्याम गौतम

(रूपन्देही) — ‘संघीयतामा पत्रकारिताका चुनौती र भविष्यको बाटो’ बारे छलफल गर्न लुम्बिनी प्रेस क्लब भैरहवाको आयोजनामा आइतबारदेखि लुम्बिनीमा न्यूज फेस्टिभल सुरु भएको छ । छलफलका लागि राजधानीबाट मुलधारे मिडियाका सम्पादकदेखि पत्रकारीताका अगुवा र देशभरका संचारकर्मी भेला भएका छन् ।

लुम्बिनीमा न्युज फेस्टिभल

पहिलो दिनको पहिलो सत्रमा पत्रकार महासंघका पूर्व अध्यक्षहरु किशोर नेपाल, शिव गाउँले, विष्णु निष्ठुरी, मोहन मैनाली, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले छलफल चलाए । छलफलका क्रममा पत्रकार किशोर नेपालले पत्रकारीताको वैकल्पिक पेशा पत्रकारिता नै भएको बताएका थिए । अबको पत्रकारितामा सूचनाकारिता हटाएर कारण दिनु जरुरी रहेको उनको सुझाव थियो ।

‘अबको पत्रकारिता बताउनुभयो, गर्नुभयो भन्ने भनाइकारिता, धन्सारकारिता र बिचौलियाकारिताले चल्दैन,’ उनले भने, ‘पत्रकारिता विज्ञान हो, कारण खोतल्नुस र सोसल मिडियालाई स्रोतको रुपमा प्रयोग गरेर तथ्यमा पुग्नुस, सामाजिक सन्जालबाट डराउनु पर्दैन ।’ उनले पत्रकारसँग शब्द नहुने तर, गोजीमा दलको सदस्यता हुने भएकाले विश्वसनियता घट्दै गएको बताए ।


पत्रकार विष्णु निष्ठुरीले देशभरका पत्रकारलाई द्वैध चरित्र त्यागेर मात्र पत्रकारिता गर्न र लाग्न सुझाव दिए । पार्टी सदस्यता लिने र सल्लाहरको रुपमा काम गर्नेले पत्रकारिता गर्न नसक्ने बताए । अहिलेपनि मुलधारका मिडियामा क्षमतावान पत्रकारको खोजी भइरहेको छ ।

‘क्षमतावान पत्रकारको खोजी भइरहेकै छ,’ उनले भने, ‘तर, बजारमा क्षमतावानभन्दा पार्टीको सदस्यता बोकेर हिंडेका पत्रकार धेरै छन् ।’ त्यसले जनतामा पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको उनले बताए । न्यूज फेस्टिवलको अवसरमा विश्व शान्तिको मुहान लुम्बिनीबाटै द्वैध चरित्रमा बस्दिन र पार्टी सदस्यता लिन्न भन्ने कसम खान उनले क्रियाशिल पत्रकारलाई आग्रह गरे ।

पत्रकार शिव गाउँलेले समाचारको गुणस्तरीयता र विषयवस्तुमा ध्यान दिन नसक्दा पत्रकारितामा जनचासो र विश्वास घट्दै गएको विश्लेषण गरे । ‘जनताले खोज्ने र रुचाउने विषयवस्तु अहिलेपनि बिकिरहेकै हुन्छन्,’ उनले भने, ‘त्यसैले लुकाउने र लुक्ने समाचार खोज्नु जरुरी छ ।’ पत्रकारले शासक र शक्तिको जवाफ दिंदै हिड्न नहुने उनको सुझाव थियो ।

अर्का पत्रकार मोहन मैनालीले पत्रकारिताको सिप सिक्ने चाहने पत्रकारका लागि मोटिभेसनको क्लास जरुरी हुँदै गएको बताए । घटनाप्रधान समाचारलाई प्राथमिकतामा नराख्न तर, त्यसलाई सुचनाको स्रोत बनाउन उनले सुझाव दिए ।

‘अब कारण र अवस्था खोज्ने पत्रकारिता गरौं,’ उनले भने, ‘त्यसले क्षमता वृद्धि गर्ने र पाठकलाई रुची जगाउने दुवै काम गर्छ ।’

प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलले पत्रकारले सामाजिक संचालनमा गर्ने पोष्ट र कमेन्टलाईसमेत आचारसंहिता पालन गरे नगरेको अनुगमन र अध्ययनको विषय बनाइरहेको बताए । उनले कपि-पेष्ट पत्रकारिता त्याग्न पत्रकार र मिडिया संचालकलाई आग्रह गरे ।


अगुवाका भनाई सुनेका मोफसलका पत्रकारले सामाजिक सन्जाल, युटुव लगायतमा काम गर्ने पत्रकार बन्ने र वास्तविक पत्रकार पछि पर्ने अवस्था आएको गुनासो पोखे । जनतामा पत्रकारले दिएको सुचनाभन्दा युटुव र सामाजिक सन्जालमा आउने कुरा विश्वास गर्न थालेकाले पत्रकारिता नै धरापमा पर्दै गएको पत्रकारले पीडा पोखे ।

दुर्गममा प्रविधिको पहुँच नपुगेको देखि काठमाडौंमा बसेर समाचार सम्पादन गर्ने सम्पादकले मोफलसको पत्रकारीतालाई प्राथमिकता नदिने गरेको कुरा उठाए । जवाफमा अगुवा पत्रकारले खोजी, तथ्य र रुचीको पत्रकारिता कहिल्यै नमर्ने भएकाले पत्रकारलाई अध्ययनशिल, मेहनती र परिवर्तनको सम्वाहकको रुपमा काम गर्न सुझाव दिए ।

तीन दिनसम्म चल्ने फेस्टिभलमा देशभरका ३ सय बढी पत्रकार सहभागी भएको कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए । फेस्टिभलमा विभिन्न १३ सेशनमा छलफल चल्नेछन् । त्यसमा स्थलगत अध्ययनदेखि संघीयतामा अबको पत्रकारिताको भविष्यका विषयमासमेत छलफल चल्ने लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाइले बताए । फेस्टिबलमा छापा, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादक र पत्रकारको सहभागिता छ ।


प्रकाशित : मंसिर १, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?