कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आचारसंहिता उल्लंघन भए कारबाही गर्ने चेतावनी

काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जारी आचार संहिताविपरीत काम गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

आचारसंहिता उल्लंघन भए कारबाही गर्ने चेतावनी

आयोगले आइतबार विज्ञप्ति जारी गरी आचारसंहिता पूर्ण रूपमा पालना गर्न/गराउन तीनै तहका सरकारसित सरोकारवाला सबैलाई आग्रह गर्दै उल्लंघन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।


‘यदि कसैले आचारसंहिता विपरीत काम गरेको पाइएमा प्रत्येक जिल्लामा उजुरीको सुनुवाइ तथा अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको आचार संहिता अनुगमन समितिले कारबाही अघि बढाउने छ’ विज्ञप्तिमा छ ।


आयोगले आचार संहिताको पालना तीनै तहका सरकार, सार्वजनिक संस्था, दल, सम्बन्धित व्यक्ति, उम्मेदवार, सञ्चार माध्यम, निजी तथा गैर सरकारी संस्था तथा पर्यवेक्षक र उपनिर्वाचन हुने स्थानका कर्मचारीसमेतले अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ ।


आयोगले उपनिर्वाचन हुने स्थानमा तीनै तहका सरकार वा सार्वजनिक संस्थाले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएकाबाहेक नयाँ नीति, योजना तथा कार्यक्रम गर्न नपाउनेसमेत जनाएको छ । आयोगले नयाँ योजना तथा कार्यक्रम घोषणा, स्वीकृति, उद्घाटन, सर्वेक्षण वा अनुगमन समेत आचारसंहिताविपरित हुने उल्लेख गरेको छ ।


प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहका ४८ पदका लागि मंसिर १४ मा हुने उपचुनावका लागि आयोगले गत कात्तिक ८ देखि नै आचारसंहिता लागू गरेको छ ।


प्रकाशित : मंसिर १, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?