२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिकित्सा शिक्षा आयोग निर्देशकमा ४ सिफारिस

काठमाडौँ — चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि चार जनाको नाम सिफारिस गरिएको छ । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सिफारिस समितिले डा. दिलीप शर्मा, डा. रमेश आचार्य, डा. आरपी शाह र डा. सगरत्न बज्राचार्यको नाम सिफारिस गरेको हो ।

चिकित्सा शिक्षा आयोग निर्देशकमा ४ सिफारिस

ऐनमा आयोगको कार्यसम्पादनका लागि चारवटा निर्देशनालय तथा बोर्ड रहने व्यवस्था छ । राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको संयोजकत्वमा निर्देशकहरूको नाम सिफारिस समिति गठन भएको थियो ।


सिफारिसमा परेकाहरू समितिमा आवेदन दिएका २६ जनामध्येका हुन् । ऐनले आयोगमा मापदण्ड तथा प्रत्यायन, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहने व्यवस्था गरेको छ । सिफारिस समितिले नाम पठाए पनि बैठक डाकेर मात्र नियुक्तिको निर्णय लिइने आयोगले जनाएको छ ।


आयोगका अध्यक्ष तथा प्रधानमन्त्रीले सिफारिस समिति गठन गर्ने र उपाध्यक्षलाई निर्देशकहरूको नाम सिफारिस गर्ने प्रावधान छ । उपाध्यक्षले नै निर्देशकहरूलाई नियुक्ति दिनेछन् । ऐनमा निर्देशनालय वा बोर्डको प्रमुखका रूपमा कार्य गर्न प्रत्येक निर्देशनालय वा बोर्डमा एक/एकजना पुरा समय काम गर्ने निर्देशक रहने व्यवस्था छ ।


निर्देशकहरूको नियुक्ति नहुँदा आयोगले एकीकृत प्रवेश परीक्षा, शुल्क निर्धारण र छात्रवृत्ति वितरणको काम अघि बढाउन सकेको छैन । निर्देशकहरूको पदावधि उपाध्यक्षको जस्तै चार वर्षको हुनेछ । अर्को एक अवधिका लागि निजको पुनः नियुक्ति हुन सक्ने व्यवस्था छ ।


‘निर्देशक नियुक्तिका लागि कम्तीमा १५ वर्षको अनुभवप्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यावसायिकता भएको व्यक्ति हुनुपर्छ,’ ऐनमा भनिएको छ ।


प्रकाशित : मंसिर १, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?