बर्खास्त खेलाडीहरुको बारे थप छलफल गर्न एन्फाले बोलायो 'अनौपचारिक' बैठक

राजु घिसिङ

काठमाडौँ — विश्वकप छनोट र एसिया कप छनोटअन्तर्गत कुवेतविरुद्धको महत्त्वपूर्ण खेलअघि अनुशासनको कारबाहीमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका चार मुख्य खेलाडी बारे थप निर्णय गर्न एन्फाले काठमाडौंमा उपलब्ध पदाधिकारीहरुलाई अनौपचारिक छलफलका लागि बोलाएको छ ।

उक्त छलफलमा अनुशासन कमिटी तथा इन्टिग्रिटी कमिटीका सदस्यहरुलाई पनि बोलाइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए ।

शनिबार बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भुटानमा हुने खेलका लागि टिम बिदाइ भइसकेपछि एन्फाको आकस्मिक बैठकले मुख्य स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशी गरी ४ खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको थियो । ती चार खेलाडीलाई फूलमालाको बिदाइपछि टिमबाट बर्खास्तगीको सूचना दिइएको थियो । उनीहरू भुटान जान पाएनन् ।

'उनीहरु शुक्रबार राति बाहिर गएपछि होस्टेल फर्किएका छैनन्,' तुलाधरले भने, 'उनीहरु फर्किएको खण्डमा के गर्ने भन्ने बारे छलफल गर्न लागिएको हो । हामी खेलाडीको भविष्य र नेपाली फुटबलको भविष्यका लागि गम्भिर छौं । तर त्यसको मतलब अनुशासन कारबाही नै हुँदैन भन्ने होइन ।'
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा रहेका चार खेलाडी शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ।

उनीहरू क्याम्पबाट भागेर नाइट क्लबमा गएको प्रमाणित भएपछि काठमाडौंमा उपलब्ध एन्फा पदाधिकारीको आकस्मिक बैठकले प्रशिक्षक योहान कालिनसँगको छलफलपछि कम्तीमा कुवेतसँगको खेलमा टिमबाहिर राख्ने निर्णय भएको हो । अध्यक्ष नेपाल फर्केपछि एन्फाको बैठकले उनीहरूको थप कारबाहीबारे निर्णय गर्ने एन्फाले बताएको छ । अध्यक्ष कर्माछिरिङ शेर्पा अहिले भुटानमै छन्।

चार खेलाडी कारबाहीमा परेपछि २० सदस्यीय टिम भुटान पुगेको छ । राष्ट्रिय टिमको क्याम्पमा परे पनि अन्तिम टिममा नपरेका सुवास गुरुङलाई टिममा बोलाइएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेतविरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपालले घरेलु खेल भुटानमा खेल्नुपरेको हो ।

प्रकाशित : मंसिर १, २०७६ १४:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने बताएका छन् । भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् । 


नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरे। कतिपयले नक्सा सच्चाउन भनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने बताए।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने होइन। इतिहासले देखाइसकेको छ। सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ। कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं।’

उनले नेपालको जमिनबाट भारतिय सेना फिर्ता लैजान भन्दै नेपाली भूमिमा सेना राख्ने पनि बताए। ‘हामी हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौं र त्यहाँ हाम्रो सेना राख्छौं,’ प्रधानमन्त्रीले भने, ‘हामी विश्व शान्तिमा लागेका छौं। शान्ति सेनामा सेना पठाएर। अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।’

केही समय अघि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि नेपालमा भारतको विरोध भइरहेको छ।


प्रकाशित : मंसिर १, २०७६ १४:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×