नेकपाको सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने सम्भावना

काठमाडौँ — सत्तारुढ दल नेकपाको सचिवालय बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा नियमित एजेण्डा माथि नै छलफल हुने पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

नेकपाको सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने सम्भावना

सचिवालयका अर्का एक नेताका अनुसार आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, नेताहरुको कार्यविभाजन, एकीकरणका बाँकी काम टुंग्याउने र स्थायी कमिटी बैठक बोलाउने लगाएतका विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केही दिनमै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । यसबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शिर्ष नेतासँग पटक–पटक छलफल पनि गरिसकेका छन् ।

थप उपचारका लागि विदेश जाने सम्भावना बढेसँगै आफ्नो अनुपस्थितिमा सरकारको कामका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेल र पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष दाहाललाई दिने तयारी उनले गरेको स्रोतले बताएको छ । आज हुने सचिवालय बैठक पनि विशेष गरेर त्यसै विषयमा केन्द्रित हुने स्रोतको दाबी छ ।

लामो समय देखि स्थायी समिति बैठक बस्न नसक्दा उपाध्यक्षमा प्रस्तावित बामदेव गौतमको पद पनि अनुमोदन भएको छैन । पार्टी विधान संशोधन गर्नका लागि पनि नेकपाले स्थायी कमिटी बैठक बोलाउन जरुरी छ ।


प्रकाशित : मंसिर १, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?