२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

त्रिदेशीय सडकमा चट्टान बाधक

सडकले जोडिँदै तिब्बत–कर्णाली 
संघीय सरकारले मुगुको गमगढी हुँदै नाक्चानाग्ला, हुम्लाको सिमकोट हुँदै हिल्सा र डोल्पाको दुनै–धो हुँदै मरिम्ला जोड्न सडक निर्माण गर्दै छ । यी सबै सडक त्रिदेशीय हुन् । यी सडकका अधिकांश खण्डको डीपीआर सकिएको छ ।

सुर्खेत — सडक सञ्जालमार्फत कर्णालीलाई तिब्बतसँग जोड्ने गरी सरकारले बनाउन लागेका सडकमा पर्ने भीर र कडा चट्टान हटाउन गाह्रो भएको छ । ९५ किमिको हिल्सा–सिमकोट, ६५ किमिको दुनै–धो र ९६ किमि दूरीको गमगढी–नाक्चालाग्ना सडक निर्माणका लागि बर्सेनि रकम विनियोजन भइरहेको छ । तर उक्त खण्डका धेरै ठाउँमा कठिन भूगोल र कडा चट्टान चुनौती बनेका छन् । 

त्रिदेशीय सडकमा चट्टान बाधक

संघीय सरकारले मुगुको गमगढी हुँदै नाक्चानाग्ला, हुम्लाको सिमकोट हुँदै हिल्सा र डोल्पाको दुनै–धो हुँदै मरिम्ला जोड्न सडक निर्माण गर्दै छ । यी सबै सडक त्रिदेशीय हुन् । यी सडकका अधिकांश खण्डको डीपीआर सकिएको छ । भारतको जमुनाहा नाकाबाट सुर्खेत, दैलेख, कालीकोट, मुगु हुँदै तिब्बतको नाम्चेनाग्ला जोड्ने सडकमा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित थाइलभीर मुख्य चुनौतीका रूपमा देखिएको छ । माँगु, टाँड, ढुङ्गेधारालगायत भीर फोर्न पनि उत्तिकै समस्या छ । पाँच सय मिटर लामो चट्टानका कारण सडकको ट्र्याक खोल्न कठिन भएको छ । सिमकोट–हिल्सा सडकको छ्याछडा भीर फोर्नुपरेका कारण सडक निर्माणको काम करिब दुई वर्ष रोकियो । अहिले सडक निर्माण अन्तिम चरणमा छ । डोल्पाबाट मरिम्ला नाका जोड्ने क्रममा एकतिहाइ भागमा कडा चट्टान छ ।


दुनैबाट धो र मरिम्ला नाका जोड्न करिब ४० किमि क्षेत्रमा भीर फोर्नुपर्ने देखिएको नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए । उक्त सडकको मरिमदेखि धोतर्फ र दुनैको केही क्षेत्रमा बलौटे माटो छ । ‘सडकको दुई तिहाइ क्षेत्रमा सडक खन्न सजिलो छ । तर एक तिहाइ खण्डमा कडा चट्टान छ,’ उनले भने, ‘चिनियाँ नाका जोड्ने भने जाजरकोट–डोल्पा सडकभन्दा केही सहज छ ।’ जाजरकोट–डोल्पा सडक निर्माणका क्रममा ८० प्रतिशत क्षेत्रमा चट्टान फोर्नुपरेको थियो ।


यो सडक निर्माणका क्रममा जाजरकोट खण्डमा मन्मै, मैदे, रग्दा, रातोभीर, रुकुममा च्याल्सेगौडा, मन्काबगर, डोल्पामा साङ्ले, करबाड, शिरविन्डे, तपतपेलगायत कडा चट्टानयुक्त भीर फुटाइएको थियो । ती भीर तीनदेखि पाँच सय मिटर लामा थिए । पहाडीको नेतृत्वमा सल्ली–चौरजहारी र छिन्चु–जाजरकोट सडक निर्माणको कामसमेत सकिएको थियो । ‘पहाडी क्षेत्रमा बाहिरबाट हेर्दा चट्टान छैन जस्तो लाग्छ, निर्माणको काम सुरु भएपछि भने बढी भेटिन्छ,’ प्रमुख सेनानी पहाडीले भने, ‘जाजरकोट–डोल्पा सडक खोल्न पनि धेरै वर्ष कडा र जोखिमपूर्ण चट्टान बाधक बने । मरिम्ला जोड्न पनि ठूला चट्टान देखिएका छन् ।’ भेरी करिडोर नामकरण गरिएको दुनै–मरिम्ला सडकको तीन खण्डमा काम भइरहेको छ ।


जाजरकोट–दुनै सडकखण्डको एक सय १८ किमि ट्र्याक खुलिसकेको छ भने दुनै–धोको डीपीआर स्वीकृत भइसकेको छ । जाजरकोट–दुनै सडकखण्डको एक सय १८ किमिमा ट्र्याक खुलेपछि सडक निर्माणले गति लिएको हो । पासाघाट–चिसापानीअन्तर्गत २८ किमि दूरीमा १५ पुलको डीपीआर स्वीकृत भइसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताए । ‘वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको प्रक्रियामा छ,’ उनले भने, ‘छिट्टै पुल निर्माणका लागि टेन्डर गर्ने तयारीमा छौं ।’ प्रतिवेदन स्वीकृत भएपछि कालोपत्रेको कामलाई तीव्रता दिइने उनको भनाइ छ । यो सडक निर्माण भए चिनियाँ सीमासँग डोल्पासहित रुकुम र जाजरकोट जोडिनेछन् । दुनैदेखि धोसम्म जोड्ने सडकको दूरी ६२ किमि छ ।


धोदेखि मरिम्लापाससम्म भने ६५ किमि दूरी रहेको भट्टले जानकारी दिए । यो सडक खण्डको ५५ किलोमिटर ट्र्याक खुलिसकेको छ । उनले १० किलोमिटरमा मात्र ट्र्याक खुल्न बाँकी रहेको सुनाए । सरकारले यो सडकमा चालु आर्थिक वर्षमा २६ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।

हुम्लाको हिल्सा–सिमकोट सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । छ्याछडा भीरको ट्र्याक खुलेसँगै सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । जोखिम र चुनौतीपूर्ण मानिएको भीरको तीन सय मिटर दूरीमा ४० मिटर मात्र सडक फराकिलो बनाउन बाँकी रहेको सिमकोट–हिल्सा सडक निर्माण आयोजनाले जनाएको छ । अन्य स्थानमा ट्र्याक खोलिसकिएको आयोजनाका सबइन्जिनियर वीरेन्द्र शाहीले बताए । यो सडक निर्माण भए कर्णालीका हुम्ला, सुदूरपश्चिमको बाजुरासहित कालीकोट, मुगु, दैलेख र सुर्खेत चीनसँग जोडिनेछन् ।


चिनियाँ सीमासँग कर्णालीलाई जोड्ने अर्को सडक हो– मुगुस्थित गमगढी–नाक्चालाग्ना सडक । ९६ किलोमिटर दूरीमा पनि सडकको ट्र्याक खोल्ने काम जारी रहेको सडक विभागले बताएको छ । गत वर्ष यो सडकमा दुई करोड रुपैयाँ विनियोजन गरिएको थियो । अख्तियारीमा ढिलो आउँदा सडकमा गत वर्ष एक करोड ७० लाख रुपैयाँ खर्च हुन सकेन । चालु आवमा सडकका लागि १५ करोड रुपैयाँ विनियोजन भएको सडक डिभिजन कार्यालय, जुम्लाको भनाइ छ । अहिलेसम्म सडकको १६ किमि ट्र्याक खोल्ने काम सकिएको कार्यालयका इन्जिनियर श्रवणकुमार महतराले बताए ।


सामान्य स्थानको तुलनामा चट्टानयुक्त सडक निर्माण गर्न १० गुणा बढी रकम लाग्ने प्राविधिकको भनाइ छ । भीर फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्नैपर्छ । नेपाली सेनाले मात्र विस्फोटको काम गर्ने भएकाले सरकारी प्रक्रिया लामो हुन्छ । यसले चट्टान फुटाउने काममा ढिलाइ हुने गरेको हो । पहाडी जिल्लामा चट्टानकै कारण अधिकांश सडक अलपत्र परेको सडक डिभिजन कार्यालय, सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले बताए । कर्णाली राजमार्गमा पनि चट्टानकै समस्या भएकाले स्तरोन्नतिको काममा ढिलाइ भएको उनको भनाइ छ । दैलेखबाट जुम्लाका सिमानासम्म धेरै चट्टान क्षेत्र रहेकाले राजमार्ग फराकिलो बनाउन समस्या भइरहेको उनी बताउँछन् ।


केही समयअघि सडक अवलोकन गर्न पुगेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले पनि चट्टानकै कारण राजमार्ग फराकिलो बनाउन समस्या भएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित : मंसिर १, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?