कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रौतहटमै बस्न चाहन्थे आलम

न्यायाधीशले आदेशलगत्तै र न्यायाधिवक्ताले बहस सकिनासाथ आराम गर्ने भन्दै जिल्ला छाडे 

काठमाडौँ/रौतहट — आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ ।
प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ ।
आलम (झर्किंदै):म अन्त जान्नँ ।

रौतहटमै बस्न चाहन्थे आलम

प्रहरीः तपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ ।

आलमः कुन कारागार लाने कुरा छ ? डिल्लीबजार कि अन्तै ?

प्रहरीः डिल्लीबजार होइन, नख्खु ।

आलमः निकै टाढा छ कि क्या हो ?

प्रहरीः छैन, नजिकै छ ।


जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताब आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो यो । त्यस क्रममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ । पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन् । चर्को स्वरमा आफूलाई रौतहटबाट अन्यत्र नलैजान आग्रह गर्छन् ।


काठमाडौं नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटले ‘एस्कर्टिङ’ गाडीसहित पठाएको थियो । टोली ७ घण्टापछि शनिबार बिहान ४ बजे ललितपुरस्थित नख्खु कारागार आइपुगेको थियो । प्रक्रिया पुर्‍याई आलमलाई कारागारको जिम्मा लगाएर प्रहरी टोली फिर्ता भइसकेको छ ।


रौतहटका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार तत्काल प्राप्त प्रमाणका आधारमा आलमलाई कारागारमा राखेर पुर्पक्ष हुने आदेश सुनाएको थियो । अदालतले आलमलाई सुरक्षित कारागारमा राख्न र घटनाका साक्षी तथा पीडितको सुरक्षामा विशेष ध्यान दिन पनि आदेश दिएको थियो ।


स्रोतका अनुसार अदालतको आदेशपछि रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीसँग समन्वय गरेका थिए । प्रदेश प्रहरीले प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई यसबारे जानकारी गरायो । लगत्तै गृहसचिव प्रेमकुमार राईले आलमलाई नख्खु कारागार ल्याउन निर्देशन दिए । त्यसअघि प्रमुख जिल्ला अधिकारी संयोजक रहेको ‘थ्रेट एनालाइसिस कमिटी’ ले आलमलाई राजधानीकै कारागार पठाउनुपर्ने निर्णय गरेको थियो । ‘रौतहट कारागारमै राख्दा समर्थन र विरोधका क्रममा उत्पन्न हुन सक्ने परिस्थिति आकलन र अदालतको आदेशअनुसार उनलाई नख्खु कारागार पठाइएको हो,’ एसपी खत्रीले कान्तिपुरसँग भने, ‘पुर्पक्ष गरिएका आरोपितलाई सुरक्षित स्थानमा राख्नु र साक्षी तथा पीडितको सुरक्षा गर्नु हाम्रो दायित्व हो, त्यसैअनुसार निर्णय लिएका हौं ।’


आलमलाई पुर्पक्षका लागि थुनामा राखिएपछि उनका समर्थकबाट हुन सक्ने अप्रिय गतिविधिमा पनि विशेष निगरानी राखिएको प्रहरीले जानकारी दिएको छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी कार्कीले पनि सबै परिस्थिति मूल्यांकन गरेर आलमलाई नख्खु कारागार पठाइएको बताए । ‘साक्षी/प्रमाण र पीडितलाई आलम पक्षबाट दबाब, धम्की र प्रलोभन आउन सक्छ, यसप्रति हामी चनाखो छौं,’ उनले कान्तिपुरसँग भने, ‘अपराध मनोवृत्ति भएका मानिसले जहाँसुकै बसेर पनि अप्रिय घटना गराउन र प्रमाण नष्ट पार्न सक्ने जोखिम भएर आलमलाई राजधानीको कारागार पठाइएको हो ।’ आस्था र लोकप्रियताका कारण नभई धम्की र त्रासले आलमबारे स्थानीय बोल्न नसकेको डीआईजी कार्कीले बताए ।


२०६४ चैत २७ गते राति बम विस्फोटमा घाइते भएका मानिसलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा आलमसहित १ दर्जनलाई प्रतिवादी बनाइएको छ । घाइतेलाई सामूहिक नरसंहार गरिएको भनिएको इँटाभट्टामा अहिले धान खेत छ । ‘घटनास्थल तथा राजपुरस्थित आलमको बस्तीमा उनको समर्थन नगर्नेले सहज पहुँच पनि पाउँदैनन्,’ एक स्थानीयले कान्तिपुरसँग भने, ‘उनको विरोध गर्नेलाई सीमा पारिका मानिस झिकाएर ‘ठेगान लगाइदिने’ धम्की बारम्बार आउँछ ।’


न्यायाधीश र न्यायाधिवक्ता काठमाडौंमा

आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएलगत्तै रौतहटका जिल्ला न्यायाधीश दीपक ढकाल र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवाल काठमाडौं आएका छन् । आलमको मुद्दामा लामो समय खटिनुपरेको कारण देखाउँदै आराम गर्न काठमाडौं आएको बताइए पनि दुवै जना सुरक्षा चुनौतीका कारण रौतहट छाडेको स्रोतको भनाइ छ । शुक्रबार न्यायाधीश ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश दिएको थियो ।


प्रहरीको अनुसन्धान प्रतिवेदनकै आधारमा जन्मकैदको सजाय मागदाबीसहित जिल्ला न्यायाधिवक्ता कटवालले अदालतमा अभियोगपत्र दायर गरेका थिए । आदेश सार्वजनिक नहुँदै सदरमुकाम गौरबाट हिँडेका कटवालले आफू काम सकेर काठमाडौं आएको बताए । ‘आलमको मुद्दाले थ्रेट छ कि भनेर मलाई माथिबाट सोधिएको थियो, मलाई अप्ठ्यारो छैन भनेको छु,’ उनले भने, ‘जिल्ला फर्कन्छु कि फर्किन्नँ, ठेगान छैन ।’ न्यायाधिवक्ता कटवालले आलमका मानिसले आफूप्रति इगो राखेका छन् कि भनेर राजपुरका मेयर शेख वकिललाई समेत सोधेको स्रोतको भनाइ छ । ‘आलमको मुद्दाले सारै तनाब झेल्नुपरेकाले एक/दुई दिन आराम गर्न काठमाडौं आएको हुँ,’ उनले कान्तिपुरसित भने । आलमको मुद्दाका कारण आफूलाई सुरक्षा चुनौती नभएको उनको दाबी छ ।


अदालतका स्रेस्तेदार गुणराज पराजुलीले आलमको मुद्दाले झन्डै डेढ साता तनाव भएकाले ४/५ दिन आराम गर्न भनेर न्यायाधीश ढकाल काठमाडौं गएको बताए । ‘लामो समय तनाव पनि भयो, त्यसैले बिदा लिएर जानुभयो,’ उनले भने, ‘बिदामा बस्न त पाइयो नि ।’ न्यायाधीश ढकाललाई प्रहरीले सदरमुकाम गौरबाट राति ९ बजेतिर एस्कर्टिङ गरी चन्द्रनिगाहपुर ल्याएको थियो । मुद्दा नचलाउन न्यायाधिवक्ता कटवाल र साधारण तारेखमा छाड्न न्यायाधीश ढकालमाथि आलमका समर्थकले सुरुदेखि नै दबाब सिर्जना गरेको स्रोतको भनाइ छ । आलमलाई प्रहरी हिरासतबाट अदालत लैजाँदा सडकमा उनका समर्थकले पटकपटक हुटिङ गरेका थिए । त्यसपछि मौन जुलुससहित गौर परिक्रमा गरी कोणसभासमेत भएको थियो ।


१२ वर्षपछि किरिया

श्रीनारायण सिंह र रुक्साना खातुनले आआफ्नो छोरालाई बम विस्फोटमा घाइते भएपछि इँटाभट्टामा हालेर मारिएको भन्दै आलमविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । सर्लाही गडैता–२ का सफी अहमद र भारत सीतामाढीका गौरीशंकर रामबाट भने बम विस्फोटमा घाइते भएको भन्दै ज्यान मार्ने उद्योगमा निवेदन परेको थियो ।


शुक्रबार थुनछेक बहस चलिरहँदा १२ वर्षअघि मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंहले न्यायाधीश ढकालसमक्ष केही समय बोल्न अनुमति मागे । उनले इजलासमै आलमसित आफ्नो कुनै पनि व्यक्तिगत दुस्मनी नभएको बताए । ‘आलमजीले पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुरमा कुनै घटना घटेको छैन भन्नुभयो । बम पड्केकै छैन भनेर झूटो बोल्नुभयो,’ न्यायाधीशसमक्ष उनले भने, ‘तपार्इंले मेरो छोरालाई चुनाव प्रचारप्रसारमा लैजानु भएको थियो । घटना भएको छैन भने खै छोरो ? दिनुस् न त मेरो छोरा । देखाइदिनुस् न छोरा ।’


श्रीनारायणपछि आलमलाई बोल्ने समय दिइएको थियो । उनले अहिलेसम्म आफूले पटाकासमेत नपड्काएको जिकिर गरेका थिए । ‘बमको त कुरै छाडौं, श्रीमान् मैले त आजसम्म पटाकासमेत पड्काएको छैन । अनि कसरी म दोषी भएँ ? म लोकतन्त्रका लागि लडेको मान्छे । यस्तो घटना म कल्पना पनि गर्न सक्दिनँ ।’


सिंह परिवारले त्रिलोकप्रतापको काजकिरिया गरेको थिएन । अदालतको आदेशपछि सिंह परिवार काजकिरियामा जुटेको छ । ‘ढिलै भए पनि न्याय पाएका छौं,’ श्रीनारायणले भने, ‘छोरा त फर्केर आउँदैन तर एउटा अपराध गर्ने मान्छे जेल गयो । यो खुसीको कुरा हो ।’

प्रकाशित : मंसिर १, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?