पुलले जोडेको नाता

दुर्गालाल केसी

(दाङ) — राममोती चौधरी कुनै बेला नदीपारि बसेर अर्को किनार हेर्थे । डुंगा खियाउँथे र आफ्नो जमिनमा पुग्थे । अहिले त्यो झन्झट छैन । पुल बनेको छ । यसले वर्षौंदेखि जमिनसँग बढाइदिएको दूरी घटेको छ । 

पुलले जोडेको नाता

खेती लाउन होस् या बाली भित्र्याउन, उनलाई नदीको चिन्ता छैन । प्रयोग हुन छाडेपछि डुंगालाई नदी किनारमै छाडिदिएका छन् । उनका दुई डुंगा थिए । कहिलेकाहीँ डुंगाबाटै कमाइ पनि हुन्थ्यो । मानिसलाई नदी तारिदिएबापत केही खर्च जुटाउँथे । अब पुलले जीवन परिवर्तन गरिदिइसक्यो । ‘डुंगाको काम अब सकियो,’ पुलबाट सजिलै वारपार गर्न मिल्छ,’ उनले भने, ‘अहिले साह्रै रमाइलो लाग्छ । हाम्रो काम गर्ने तरिका पनि फेरिएको छ ।’


दाङको गढवा गाउँपालिका–६ महदेवाका ६५ वर्षीय चौधरीको खेतबारी राप्तीपारिको राप्ती गाउँपालिका–७ छोड्की सिसहनियामा छ । यसअघि उनी नदी पार गरेरै खेती गर्न जान्थे । डुंगामा राखी बाली भित्र्याउँथे । ‘बर्खामा बाढी आएर कहिले पारि नै अड्किनुपर्थ्यो । कहिले आफन्तकहाँ बास माग्नुपर्थ्यो । कहिले भालुबाङ, कालाकाँटे घुमेर घर फर्कनुपर्थ्यो,’ चौधरीले भने, ‘खेतीसँगै नदीको पनि डर हुन्थ्यो । बाढी आएपछि काम बीचमै रोकिन्थ्यो । पुल भएपछि केही समस्या छैन ।’


महदेवाकै ७० वर्षीय मोतीलाल चौधरीले नदीपारिको छोड्की सिसहनियामा खर लगाएका छन् । खर काटेर उनले सजिलै घर ल्याए । एक महिनाअघिसम्म उनले डुंगाको सहारा लिनुपर्थ्यो । कतिपय अवस्थामा पौडेर वारपार गर्नुपर्थ्यो । ‘अहिले घर र खेतबारी सजिलै जोडियो । आफ्नो जमिनको बाली पुलबाट ल्याउन पाइयो,’ उनले भने ।


महदेवाका अधिकांश बासिन्दाको जग्गा सिसहनियामा छ । धेरै वर्षअघि राप्तीले बाटो फेर्दा जग्गा अर्कोतिर परेको किसानहरूको भनाइ छ । ‘पहिले नदी अर्कोतिर थियो रे १ जग्गा र घरबास नदीको एक छेउमै रहेछ,’ महदेवाका सोमलाल चौधरीले भने, ‘नदी बाटो फेर्दै हाम्रो गाउँतिर आएछ । खेतबारी अर्कोतिर पर्न गएछ ।’


अहिले महदेवा र सिसहिनया जोड्ने ८ सय ६० मिटर लामो पुल निर्माणको अन्तिम चरणमा छ । पर्खाल मात्र लगाउन बाँकी रहेकाले गाडी गुडाउन दिइएको छैन । मानिस भने आवतजावत गरिरहेका छन् । एक अर्ब रुपैयाँ लगानीमा निर्मित पुल माघदेखि पूर्ण सञ्चालनमा आउने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनका इन्जिनियर सुदीप बस्यालले जानकारी दिए । राप्तीमा २५ वर्ष आसपासमा ठूलो बाढी आउने गरेको र त्यसले बहावसमेत परिवर्तन हुने गरेको जनताको तटबन्ध कार्यालय लमहीका प्रमुख रवीन्द्रबहादुर थापाले बताए । राप्ती नदीको फैलावट तराईमा १ हजार ७ सय मिटरसम्म रहेको उनको भनाइ छ ।


प्रकाशित : कार्तिक ३०, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?