१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपनिर्वाचन २०७६ : विकासका आश्वासन बाँड्दै उम्मेदवार

धरान नगरपालिकाको प्रमुख पदका लागि राजनीतिक दलका १२  र स्वतन्त्र ११ गरी २३ जनाको उम्मेदवारी
प्रदीप मेन्याङ्बो

(सुनसरी) — मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरानको प्रमुख पदमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि प्रतिस्पर्धी दलका प्रत्यासीले धरानको विकास निर्माणलाई मुख्य एजेन्डा बनाएका छन् । धरानमा ११ स्वतन्त्र र १२ राजनीतिक दलकासहित २३ जनाको उम्मेदवारी दर्ता भए पनि नेकपा र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुनेछ ।

उपनिर्वाचन २०७६ : विकासका आश्वासन बाँड्दै उम्मेदवार

प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवारले धरानको विकास निर्माणको भविष्यसँग जोडिएको स्वच्छ खानेपानी, व्यवस्थित बसपार्क, धरान एयरपोर्ट, तीनकुने सुन्दर बस्ती विकास आयोजना, डम्पिङ साइट, सुकुम्बासी समस्या, सर्दु र सेउती करिडोर निर्माणलगायत विषयमा उम्मेदवारहरूले आफ्नो ध्यान केन्द्रित गरेका छन् ।


नेकपाका उम्मेदवार प्रकाश राईले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि घरदैलो अभियानलाई निरन्तरता दिँदै भने, ‘धरानको विकास निर्माणमा थुप्रै चुनौती र सम्भावना छन् ।


स्थानीय तहको निर्वाचन भएयता धरानको विकास निर्माणको ढोका खोलिएको छ । धरानलाई अब अरू उपमहानगरभन्दा फरक बनाएर विकास निर्माणको नमुना बनाउनु मेरो एजेन्डा हो ।’ उनले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदका लागि प्रदेश १ को हव बनाउन धरानको विकास निर्माणलाई तिव्रता दिने बताए । उनले नेकपाकै पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङबोको पालामा ०५४ सालदेखि सुरु भएको बसपार्कलाई स्थानीय, प्रदेश र संघको लगानीमा कार्यान्वयन हुँदै गएको र खानेपानी योजना पनि पूरा हुने चरणमा भएको उनले बताए ।


उनले अहिलेको धरान जनसहभागिताले बनेको सहर भएकाले उक्त नीतिलाई पनि निरन्तरता दिने बताए । उनले भने, ‘पार्टीले धरानको विकास निर्माणका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएको छ । ती योजनाहरू पूरा नहुँदै डेढ वर्षसम्म प्रमुखविहीन बनेपछि पेन्डिङ रहेको विकास निर्माणका साझा एजेन्डालाई पूरा गर्ने मेरो अर्को एजेन्डा हो ।’


उनले हालसम्ममा स्थानीय, प्रदेश र संघमा पनि नेकपाकै सरकार भएकाले तीनतहबीच एकआपसमा सहयोग, समन्वय र हातेमालो गरेर विकास निर्माणका चुनौती र सम्भावनालाई पूरा गर्ने बाचा गरे । उनले भने, ‘विपक्षी कांग्रेसले धरानमा कम्युनिस्टले निरन्तर जिते पनि विकास निर्माण गरेन भनेर आरोप लगाउँदै आएको छ । हो– धरानमा बामपन्थीले जित्दा सरकार भने कांग्रेसको थियो । कांग्रेसले कहिले पनि धरानको विकास निर्माणको नाममा रातो किताबमा बजेट छुट्याएन । धरानले केन्द्रको बजेट पाउनका लागि संघीयता नै पर्खिनु पर्‍यो । नेकपाको सत्ता र सरकार नै पर्खिनु पर्‍यो ।’ उनले यसपटक कांग्रेस उम्मेदवारलाई कम्तीमा १० हजार मतको अन्तरले पराजित गर्ने दाबी गर्दै स्वर्गीय मेयर तारा सुब्बाको अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै भोट मागिरहेको बताए ।


कांग्रेसबाट मेयर पदका उम्मेदवार तिलक राईले स्थानीय तहमा देखिएको बेथितिले उपमहानगरका गौरवका आयोजना पूरा हुन नसकेकाले त्यस्ता बेथितिलाई रोक्न कांग्रेसले आफूलाई प्रमुखको पदमा उम्मेदवार बनाएको बताए । उनले आफूले धरानको प्रमुख भएपछि उपमहानगरपालिकामा भएको बेथितिलाई बाहिर ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।


उनले भने, ‘धरानमा नेकपा सरकारले गरेका भौतिक पूर्वाधारको विकास निर्माणमा अनियमितता भएको आशंका छ । मेरो उम्मेदवारी त्यो सबै जनताको आशंकालाई भोलि यथार्थमा बाहिर ल्याउने पनि प्रतिबद्धता हो ।’ उनले आफू उम्मेदवारका रूपमा मतदाताको घरदैलोमा पुगेर भोट माग्दा जनताले हुने कुरा मागेको तर नहुने र नसकिने कुरा नमागेको बताए । उनले भने, ‘मैले मतदातासँग नसक्ने कुरा पूरा गर्छु भनेर कुनै आश्वासन दिएर भोट मागिरहेको छैन ।’


लामो समयसम्म धरानमा जित्दै आएको तात्कालीन एमाले पछि नेकपा बनेको पार्टीले जनताको चाहनाअनुसार विकास निर्माणका काम नगरेकाले ती बाँकी रहेका काम पूरा गर्न आफूलाई मतदाताले मत दिएर जिताउने दाबी पनि राईले गरे । ०७४ स्थानीय तहको चुनावमा तारा सुव्वासँग ४ हजार ८ सय ७३ मतको फरकले पराजित भएका राईले यसपटक कम्तीमा २ हजार मतको अन्तरले नेकपाका उम्मेदवारलाई जित्ने दाबी गरे ।


धरानमा भएका यसअघिका चुनावमा तेस्रो शक्तिका रूपमा रहेको समाजवादी पार्टीका उम्मेदवार पूर्व गोर्खा गजेन्द्र इस्वोले राजनीतिक दलहरूले धरानमा प्रत्येक निर्वाचनमा गोर्खाहरू लाहुरेहरूलाई भोटबैंकका रूपमा मात्र प्रयोग गरेकाले यसपटक समाजवादी पार्टीका तर्फबाट आफैं उम्मेदवार भएको बताए । उनले भने, ‘यो धरान गोर्खा लाहुरेहरूकै कारणले यतिसम्म बनेको हो । प्रमुख पदमै म जस्ता गोर्खा लाहुरेले जितेमा समग्र धरानको कायापलट गर्ने इच्छाशक्ति भएकाले उम्मेदवारी दिएको हुँ ।’


प्रकाशित : कार्तिक २९, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?