मोदीसँग वार्ता गर्न पौडेलको सुझाव

कान्तिपुर संवाददाता

बिर्तामोड — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली भूमि अतिक्रमणका विषयमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । 

फाइल तस्बिर ।

कालापानीको विवाद मन्त्रालयको सचिव वा मन्त्रीस्तरीय वार्ताले मात्र टुंगो लगाउन नसकिने उनको दाबी छ । झापाको बिर्तामोडमा बिहीबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले सीमा विवादको दीर्घकालीन रूपमा समाधानका लागि ‘प्रधानमन्त्री टु प्रधानमन्त्री’ वार्ता हुनुपर्ने बताएका हुन् । ‘सीमा अतिक्रमण गम्भीर कुरा हो,’ उनले भने, ‘यसमा प्रधानमन्त्री स्वयं अघि सरेर भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुपर्छ । सीमा विवादको दीर्घकालीन समाधान खोज्ने कुरामा सहयोग गर्न हामी तयार छौं ।’

प्रकाशित : कार्तिक २९, २०७६ ०८:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खस्कँदै नेपाल–बंगलादेश व्यापार

औपचारिक व्यापार सुरू भएको २२ वर्षमा कुल व्यापार नाफामा 
पछिल्लो पाँच वर्षयता व्यापार घाटा 
पर्वत पोर्तेल

(काँकडभिट्टा) — सरकारले बंगलादेशसँग औपचारिक व्यापार आरम्भ गरेको गत भदौमा २२ वर्ष पुग्यो । २०५४ भदौ १४ मा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट २२ वर्षयता द्विदेशीय व्यापार जारी छ । व्यापार सन्तोषजनक भने छैन ।

‘सरकारले दीर्घकालीन सोचका साथ यो रुटबाट व्यापार थालेको थियो,’ नेपाल पारवाहन गोदाम व्यवस्था कम्पनीका शाखा प्रमुख यादव शिवाकोटी भन्छन्, ‘तर, २२ वर्ष बित्दा पनि बंगलादेशसँग सन्तोषजनक व्यापार सकेन ।’

२२ वर्षयता दुई देशबीचको व्यापारी तथ्यांक हेर्दा नेपालको बंगलादेशसँग व्यापार नाफामा छ । २२ वर्षमा कुल ५८ अर्ब १४ करोड ९१ लाख ८६ हजार मूल्य बराबरको व्यापार भएको छ । जसमा ३१ अर्ब ३० करोड ५५ लाख ६९ हजार रुपैयाँको निर्यात भएको छ । जबकि बंगलादेशबाट २६ अर्ब ८४ करोड ३६ लाख १६ हजारको वस्तु आयात भएको छ । तर, पछिल्लो पाँच वर्ष भने नेपालले बंगलादेशसँग व्यापार घाटा व्यहोर्नुपरिरहेको छ । नेपालले बंगलादेशसँगको निर्यात व्यापार ओरालोतर्फ छ ।

सुरुआती वर्षहरूमा बंगलादेशसँगको व्यापार सामान्य थियो । दोस्रो वर्ष त व्यापारै भएन । पूर्वाधारको चरम अभाव थियो । सडकहरू लथालिंग थिए । नेपाली ट्रकलाई बंगलादेशी गोदामसम्म पुग्न सक्ने इजाजत थिएन । भारतीय श्रमिकदेखि सुरक्षाकर्मीसम्मको हप्की सहनुपर्ने बाध्यता थियो । सास्ती र दु:खका बीच पनि बंगलादेशसँगको निर्यात व्यापार उत्साहजनक नै थियो । तर, अहिले यी तमाम समस्या हल भइसक्यो व्यापार भने सन्तोषजनक छैन । ‘पहिला पूर्वाधार थिएनन् व्यापार थियो,’ शिवाकोटी भन्छन्, ‘अहिले पूर्वाधारहरू पर्याप्त छन्, व्यापारचाहिँ छैन ।’

आर्थिक वर्ष २०५६/०५७ पछि क्रमिक सुधार थियो । आर्थिक वर्ष २०६४/२०६५ र २०६५/२०६६ मा नेपालतर्फको अत्यधिक निर्यात थियो । त्यो बेला मुसुरो, गहुँ, गहुँको चोकर, जडीबुटी, लिटोजन्य पदार्थको निर्यात अत्यधिक थियो । ‘व्यापारले निकै आशा जगाएको थियो,’ नेपाल बंगलादेश चेम्बर्स अफ ट्रेडर्सका संस्थापक पन्नालाल जैन सम्झिन्छन्, ‘त्यो स्थिति क्षणिक मात्रै भयो ।’ आर्थिक वर्ष २०६३/६४ देखि निरन्तर ८ वर्ष व्यापार नाफामा थियो ।

त्यसपछिका वर्षहरूमा निरन्तर व्यापार घाटा व्यहोर्नुपरिरहेको छ । जैनका अनुसार बंगलादेश निर्यात गर्ने वस्तु नै अभाव छ । त्यसमाथि नाकाको झन्झटले निर्यातलाई प्रत्यक्ष असर गरेको छ । ‘बंगलादेशले बर्सेनि नयाँ वस्तु पठाइरहेको छ, नेपाली वस्तुको निर्यात चैं बढाउनै सकेका छैनौं,’ उनले भने । २०७१/०७२ वर्षदेखि यता नेपालले बंगलादेशसँग व्यापार नाफा गर्न सकेको छैन । उक्त वर्ष नेपालबाट १ अर्ब १५ करोड १८ लाख २१ हजार रुपैयाँको निर्यात भएको थियो । बंगलादेशले २ अर्ब ५३ करोड १२ लाख रुपैयाँको वस्तु पठाएको थियो । आव २०७२/०७३ मा यो आयात र व्यापार घाटाको दर झन्डै तेब्बर वृद्धि भएको थियो । १ अर्ब २६ करोड २७ लाख ४६ हजार रुपैयाँको निर्यात गर्दा बंगलादेशले ३ अर्ब ५० करोड ६३ लाख ७७ हजार रुपैयाँको वस्तु पठाएको थियो । चालु आवको भदौ १४ गतेसम्म नेपालले साढे २० करोडको वस्तु निर्यात गर्दा बंगलादेशबाट दोब्बरभन्दा बढी अर्थात् ४७ करोड ९१ लाख रुपैयाँको वस्तु आयात भइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डेका अनुसार बंगलादेशले क्रमश: आफ्ना उत्पादनलाई बढाइरहेको छ । आलुदेखि जुससम्म पठाइरहेको छ । तर, अपेक्षाकृत नेपाली निर्यात लगभग तल्लो अवस्थामा पुगेको छ । ‘सीमित मुसुरो दालको भरमा बंगलादेशसँगको व्यापार हुन सक्ने अवस्था देखिन्न,’ पाण्डे भन्छन्, ‘मुसुरोले मात्रै कतिन्जेल धान्ने हो थाहा छैन ।’ निर्यात बढाउन कृषिजन्य वस्तुको उत्पादनमा सरकारले विशेष पहल सुरु गर्नुपर्ने उनीहरूको सुझाव छ । दुई मुलुकको व्यापार प्रवर्द्धनका लागि छलफल र वार्ताहरू निरन्तर भइरहेकै छन् । सम्झौताहरू पनि बेलाबेला हुन्छन् । तर, सम्झौता कार्यान्वयनमा भने दुवै पक्ष चुकेको देखिन्छ ।

सन् २०१२ को बैठकमा बंगलादेशले एक अर्काका वस्तु तथा सामान एक अर्काका मुलुकमा शून्य भन्सार दरका लागि प्रस्ताव अघि सारेको थियो । तर, प्रस्ताव आएको ७ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । सन् २०१६ मे १० र ११ मा ढाकामा सम्पन्न नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैकठले कृषिजन्य उत्पादनलगायतका १ सय ८ वस्तुमा ‘ड्युटी फ्री’ सुविधा उपलब्ध गर्ने सहमति भएको थियो । त्यो पनि कार्यान्वयन हुन सकेन । त्यसलगत्तै भएको सहसचिवस्तरीय अर्को बैठकले पनि त्यही कुरा दोहोर्‍याएको थियो । केही समयपछि काठमाडौंमा पुन: सचिवस्तरीय बैठकको तयारी भइरहेको छ । ‘अहिलेसम्म बैठकका लागि बैठक मात्रै भएको देखिन्छ,’ एक पूर्व वाणिज्य सचिव भन्छन्, ‘तत्काल प्रभावकारी कार्यान्वयनको दिशातिर अघि लैजान आवश्यक देखिन्छ ।’

मुसुरोको दुरुपयोग
स्रोतका अनुसार खासमा मुसुरो भारतबाट नेपाल आएर बंगलादेश निर्यात हुन्छ । ‘नेपालमा पर्याप्त मात्रामा दाल फल्दैन,’ एक व्यापारीले भने, ‘भारतले नाकामा कडाइ गर्‍यो, जसका कारण पर्याप्त दाल नेपाल भित्रिन पाएन र बंगलादेश निर्यातसमेत घट्यो ।’ दाल निर्यातकर्ताहरू भने नेपालमा उत्पादन घटेकै कारण निर्यात घटेको बताउँछन् । विगतमा दालजस्तै गहुँ बंगलादेश निर्यात हुन्थ्यो । भारतबाट भित्रिएर नेपाल हुँदै बंगलादेश निर्यात हुन्थ्यो ।
विराटनगरका मुसुरो व्यवसायी प्रदीप सारडाले सरकारी नीतिका कारण मुसुरोको निर्यात क्रमिक रूपमा घटिरहेको बताउँछन् । ‘एकतिर निर्यात प्रोत्साहन भन्दै १ प्रतिशत सहुलियत दिने र अर्कातिर प्रतिकिलो १ रुपैयाँ कर असुल्ने प्रवृत्तिले मुसुरोको निर्यातमा गिरावट आएका हो,’ उनले भने, ‘सरकारले दोहोरो चरित्र देखाउनु भएन ।’

बंगलादेशसँगको निर्यात व्यापार अहिले पनि मुसुरोले नै धानेको छ । ‘मुसुरो पनि निर्यात हुँदैनथ्यो हो भने बंगलादेशसँग व्यापार बन्द हुने पक्का थियो,’ पारवाहनका प्रमुख शिवाकोटी भन्छन्, ‘वस्तु निर्यातमा न सरकारी चासो छ, न त उत्पादन नै छ ।’ नेपाल पारवहन गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टा शाखाका अनुसार अघिल्लो वर्ष १ अर्ब २५ करोड ३४ लाख बढीको मुसुरो निर्यात भएको छ । १/१ करोडको डाबर नेपालका उत्पादन र जडीबुटी निर्यात भएको छ । ‘निर्यात व्यापार मुसुरोकै भरमा छ भन्दा फरक हुन्छ,’ शिवाकोटीले भने, ‘मुसुरोबाहेक अन्य उत्पादन उल्लेख्य रूपमा पठाउन नसक्नु दु:खद हो ।’

पारवहनका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ३९ करोड १७ लाख ७९ हजारको वस्तु निर्यात भएको छ । जसमा ३८ करोडको त मुसुरो मात्रै निर्यात भएको छ । यो अवधिमा बंगलादेशले १ अर्ब ६१ करोड ८२ लाखको वस्तु पठाइसकेको छ । ‘दालबाहेक अरु वस्तु पठाउन नसक्ने हो भने केही वर्षपछि बंगलादेशसँगको व्यापार पनि पूर्ण रूपमा आयातमुखी बन्ने सम्भावना छ,’ नेपाल–बंगलादेश चेम्बर अफ ट्रेडर्सका अध्यक्ष यादव पौडेलले भने, ‘कृषिजन्य उत्पादनहरूको बंगलादेशमा माग उच्च छ तर पठाउन सकिएको छैन ।’

दालका अतिरिक्त डाबर नेपालका उत्पादन मह, हजमोला, च्ववनप्राश, कपालमा लगाउने तेल पनि निर्यात हुँदै आएको छ । त्यस्तै चिराइतो, मोजितो, रिठ्ठालगायतका जडीबुटीहरू पनि निर्यात सूचीमा छन् । बंगलादेशमा तरकारीजन्य वस्तु, फलफूल र कृषि उत्पादनहरूको माग उच्च देखिन्छ । तर, भारततर्फको क्वारेन्टाइनको झन्झटिलो प्रक्रिया र कृषिजन्य उत्पादन आयातमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार महसुलबाट नेपाली उत्पादन प्रत्यक्ष मारमा परेको छ । त्यहाँको सरकारले तरकारी आयातमा ५५ प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाएको छ ।

अदुवा, अलैंची, अम्लिसो तथा जडीबुटीहरूको निर्यात सम्भावना उच्च देखिन्छ । यद्यपि नेपाली व्यवसायीले निर्यात गर्न सकिरहेकै छैनन् । बंगलादेशमा नेपाली ढुंगाको माग उच्च रहेको छ । नेपाल–बंगलादेश व्यापारको प्रारम्भिक समयमा नेपालबाट अर्बौं रुपैयाँको गहुँ निकासी भएको थियो । गहुँ निकासी बन्द भएलगत्तै मुसुरोको माग बढेको थियो । मुसुरोको निकासी जारी छ ।

ढुंगाको माग उच्च
गहुँ र मुसुरोपछि बंगलादेशमा नेपाली ढुंगाको माग उच्च रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । ‘नेपाली ढुंगाको माग अत्यधिक छ,’ पूर्वराजदूत चोपलाल भुसालले गत वर्ष भनेका थिए, ‘ढुंगा आयातका लागि पहल गरिदिनुपर्‍यो भन्दै सयौं व्यवसायी आइरहेका छन् ।’ पूर्वराजदूत भुसालका अनुसार प्रकृतिलाई प्रतिकूल असर नपर्ने गरी सरकारले नीति बनाएर ढुंगा निकासी गर्न सकिन्छ । ‘नीति बनाएरै व्यवस्थित ढंगबाट निकासी गर्दा मुलुकलाई घाटा हुँदैन,’ उनले भने । बंगलादेशले भारत र भुटानसँगै दक्षिण अफ्रिकाबाट समेत मगाएर माग पूरा गरिरहेको छ ।

फूलबारी–बंगलाबन्ध नाकाबाट सन् २०११ देखि भारतले समेत बंगलादेशसँग व्यापार सुरु गरेको थियो । भारतले आरम्भदेखि नै ढुंगा निकासी गरिरहेको छ । भारतपछि भुटानले समेत यही रुटबाट ढुंगा निकासी गर्दै आएको छ । फूलबारी ल्यान्ड कस्टमका अनुसार दैनिक सयदेखि २ सय गाडी ढुंगा बंगलादेश निकासी भइरहेको छ । ढुंगाको मूल्य प्रतिमेट्रिक टन ५० देखि ६० हजार रुपैयाँसम्म पर्छ । आयातित ढुंगालाई बंगलादेशमा प्रशोधन
गरी बहुतले घरलगायत पूर्वाधार निर्माणमा प्रयोग गरिन्छ ।

प्रकाशित : कार्तिक २९, २०७६ ०८:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT