२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहुँचबाहिरै उत्तर–पश्चिमी नाका

उत्तर–पश्चिमी सीमा जोड्ने तिंकर–दार्चुला सडक दशक बित्दा पनि पूरा हुन सकेको छैन । स्थानीय भन्छन्– ‘सडक बनेको भए प्रहरीले सीमा क्षेत्रसम्मै गस्ती गर्न सक्थ्यो । भारतले नेपाली भूमि मिच्न पाउँदैनथ्यो ।’
मनोज बडू

(दार्चुला) — देशको उत्तर–पश्चिमी सीमा जोड्ने गरी दशकअघि निर्माण थालिएको दार्चुला–तिंकर सडक अझै बनेको छैन । विगतदेखि नै राज्यको प्राथमिकतामा नपरेको यो सडक महाकाली करिडोरमा गाभिएपछि काम अझ सुस्त छ ।

पहुँचबाहिरै उत्तर–पश्चिमी नाका

यातायातको सहज पहुँच नभएको यो भेगमा बस्ती निकै पातला छन् । त्रिदेशीय सीमामा अवस्थित व्यास क्षेत्र वर्षको ६ महिना मानवरहित हुन पुग्छ । स्थानीय बासिन्दा चिसो छल्न तल्लो भेग झर्छन् । यही अवस्थाको फाइदा उठाउँदै

भारतीय पक्षले सीमा मिच्ने गरेको उनीहरू बताउँछन् ।


सदरमुकाम खलंगाबाट सुरु हुने यो सडक बल्ल राताकाठा भीरसम्म महाकाली किनार र त्यहाँबाट दुहु र व्यास गाउँपालिकाका बस्तीतिर पुग्दै छ । दुम्लिङबाट सडक पुन: महाकाली किनार हुँदै छांगरु गाउँनजिकबाट भारतीय सीमा छाडेर तिंकर भन्ज्याङ जोडिनेछ । सदरमुकामबाट भारतीय सीमाको सीतापुल १ सय ३ किलोमिटर दूरीमा छ ।


दस वर्षभित्र तिंकर छिचोल्ने योजनासाथ आर्थिक वर्ष २०६५/६६ बाट निर्माण थालिएको सडकको अहिलेसम्म ३८ किलोमिटर मात्र ट्र्याक खोलिएको छ । २० किलोमिटरमा गाडी गुड्छन् । ३ वर्षअघि तराई–हिमाल जोड्ने महाकाली करिडोरमा गाभिएको हो । ६८ किमिसम्मको आर्थिक वर्ष २०७१/७२ मै ठेक्का लागे पनि प्रगति न्यून छ । पहिले ठेकेदारको लापरबाहीले अल्झिएको काम पछि विस्फोटक पदार्थको अभाव देखाएर रोकियो । व्यास गाउँपालिका–२ का दरपान कार्कीका अनुसार गत वर्ष तोसरपानी क्षेत्रमा थोरै काम गरिएको भनिए पनि ट्र्याक्टरसमेत आउन सक्ने अवस्था छैन ।


अमर सूर्य जेभी कम्पनीले व्यासको मालदेखि घाटीबगड (२० किमि) सम्मका लागि २०७० असार २३ मा सम्झौता गरे पनि अहिलेसम्म २० प्रतिशत कामसमेत नभएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख अच्युतविलास पन्तका अनुसार ठेकेदारले निर्माण सामग्री लैजान नसकिएको भन्दै ४ वर्ष कामै गरेन । गत वर्ष आएर २२ लाखजतिको काम गरेको छ । ठेक्काको म्याद दुईपटक थपिसकिएको छ ।


विगतमा छुट्टै बजेट आउने गरे पनि तीन वर्षदेखि करिडोरअन्तर्गतकै बजेट खर्चनुपरेकाले तिंकर सडकमा अपेक्षित काम हुन नसकेको स्थानीय बताउँछन् । ‘करिडोर निर्माण हुनु राम्रो हो । हाम्रो आपत्ति छैन,’ व्यास–२ का वडाध्यक्ष धीरेन्द्रसिंह बुढाथोकीले भने, ‘तर करिडोरमा गाभेपछि रणनीतिक महत्त्वको तिंकर सडक ओझेलमा परेको छ ।’ सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढ्न नसक्नुमा यो सडकको ढिलाइ मुख्य कारण रहेको उनले बताए । ‘सडक भइदिएको भए थोरै संख्यामा रहेका सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा नियमित गस्ती गर्न सक्थे,’ उनले भने, ‘भारतीय पक्षले नेपाली भूमिमा गर्दै आएका गतिविधि प्रकाशमा आउँथे ।’


छुट्टै आयोजना बनाउन माग

अहिले सञ्चालनमा रहेको महाकाली लोकमार्ग र निर्माणाधीन महाकाली करिडोरको दूरी खासै फरक छैन । लोकमार्गको दूरी खलंगाबाट कैलालीको अत्तरियासम्म तीन सय ८ किलोमटिर छ । ४ सय २६ किमिको महाकाली करिडोरमध्ये दार्चुला–तिंकर खण्डको दूरी १ सय ४० किमि छ । दुई सडकले सदरमुकाम जोडिए पनि व्याससम्म पुग्ने सडक नहुँदा तिनको उपादेयता न्यून रहेको स्थानीय बताउँछन् ।


तिंकर सडक समयमै बनाउन सके सुरक्षा निकायको आवतजावत बढेर राष्ट्रिय सुरक्षामा सघाउने दार्चुलाबाट प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले बताए । सडक भइदिए अहिले देखिएको सीमा समस्या पनि हल गर्न सजिलो हुने जनाउँदै उनले यसलाई करिडोरअन्तर्गत नभई छुट्टै आयोजना बनाउन जोड दिए । ‘करिडोरकै कारण यो सडक दुई वर्षदेखि अलपत्र छ,’ उनले भने, ‘करिडोरमा आउने बजेट सबै तल्लो (बह्मदेव–खलंगा) खण्डमा खर्च भइरहेको छ ।’


तल्लो खण्डमा काम तीव्र पारिए पनि माथिल्लो खण्डमा पहिलेभन्दा पनि ढिलो भइरहेको छ । तिंकरसम्म सडक पुर्‍याएर नाका सञ्चालन गर्न सके जिल्लाकै समृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख करवीरबहादुर कार्कीले बताए ।


ठेकेदारको ढिलासुस्तीले करिडोर निर्माणमा प्रगति नदेखिएको भन्दै आयोजनाले कडाइ गरिने जनाएको छ । गत भदौ २० गते ठेकेदारलाई एक वर्षभित्र बनाइसक्ने प्रतिबद्धता गर्न लगाएको आयोजना प्रमुख पन्तले बताए । ‘तोकिएको समयमा काम नसके कानुनबमोजिम कारबाही अघि बढाइनेछ,’ उनले भने । २०७७ जेठसम्म काम सक्न सबै ठेकेदारलाई प्रशासनको रोहबरमा प्रतिबद्धता गराइएको आयोजनाले जनाएको छ ।


व्यास जान भारतकै बाटो

नेपालतिर बाटो नभएका व्यास क्षेत्रका स्थानीय भारतको बाटो प्रयोग गर्छन् । सीतापुर र तिंकरमा बस्ने सुरक्षाकर्मी पनि त्यहीँबाट आउजाउ गर्छन् । तर भारतको बाटो हतियार लैजान नमिल्ने भएकाले गत वर्ष उनीहरूले हेलिकप्टरबाट ओसारे । ६ महिनालाई पुग्ने खाद्यान्न, लुगाफाटो भने उतैबाट उकाले ।


चिसो बढेको भन्दै तिंकर चौकीका प्रहरी कात्तिक ५ मै सीतापुल झरिसके । हिउँदमा बस्ने संरचना नहुँदा उनीहरू मंसिरको सुरुमै स्थानीयसँग दुम्लिङतिर झर्छन् । अब फेरि हतियार कसरी ल्याउने भन्ने चिन्ता थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस्तुसहित बेंसीतिर झर्नुपर्दा भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार खेप्नुपर्ने स्थानीय बताउँछन् ।


घोडेटो बन्द

पञ्चायतकालमा निर्माण भएको खलंगा–तिंकर जोड्ने घोडेटो बाटो बन्द हुन पुगेको छ । व्यासका बहादुरसिंह ऐतवाल सहायक वनमन्त्री हुँदा बनाइएको घोडेटो मर्मत अभावमा बन्द भएको स्थानीय नीरञ्जन बुढाथोकीले बताए । ‘परम्परादेखि चल्दै आएको खलंगा–व्यास बसाइँ सराइ सहज बनाउन बनाइएको घोडेटो नचल्दा भारतीय बाटोबाट कुन्चा ल्याउनुपरेको छ,’ उनले भने, ‘आफ्नो थालथलो पुग्न भारतीय प्रशासनको अनुमति लिनुपर्ने बाध्यता भोग्दै आएका छौं ।’


प्रकाशित : कार्तिक २९, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?