१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आलम प्रकरण : साक्षीलाई सुरक्षाकै चिन्ता

शिव पुरी

(रौतहट) — राजपुर बमकाण्डका साक्षी गौरीशंकर रामले तत्काल बकपत्र गराइदिन माग गर्दै बिहीबार जिल्ला अदालतमा निवेदन दिएका छन् । विस्फोटमा संलग्न मोहम्मद आफ्ताब आलमका मानिसले आफूलाई अपहरण गरेर जबर्जस्ती कागजमा हस्ताक्षर गराउन सक्ने भन्दै उनले सुरक्षा मागेका छन् ।

आलम प्रकरण : साक्षीलाई सुरक्षाकै चिन्ता

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको विस्फोटमा छर्राले उनका दुवै कान चुँडिएका छन् । भारतीय नागरिक उनी त्यति बेला तीन महिना उपचारपछि घर फर्किएका थिए । एक साताअघि पनि आलमका मानिसले आफूलाई घरबाटै अपहरण गरेर बयान फेरिएको कागजमा सही गर्न लगाई अदालतमा पेस गरेको उनले बताए । आलमले सजाय नपाएसम्म घर नफर्कने अडान लिएका उनी प्रहरीको शरणमा आइपुगेका हुन् । कांग्रेस नेता एवं पूर्वमन्त्री आलममाथि विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोग छ । आफूलाई विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको विवरण लेखिएको कागजमा जबर्जस्ती सही गराइएको भारत, बैरगनियास्थित मुसाचोकका रामले बताए ।


घटनाका बलिया साक्षी भएकाले आलम पक्षले रामलाई अपहरण गरी बयान फेर्न लगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले बताए । ‘कुनै पनि बेला अपहरण गर्न सक्ने भन्दै राम आफैंले बकपत्रका लागि अदालतमा निवेदन दिएका हुन्,’ उनले भने, ‘रामको सुरक्षाका लागि भारतीय सुरक्षा अधिकारीहरूसित कुरा गर्छौं ।’ रामलाई प्रहरीले कडा सुरक्षाबीच अदालत पुर्‍याएको थियो ।


आलमका मानिसले मुद्दा कमजोर पार्न साक्षीलाई प्रलोभनमा पार्नुका साथै नमान्नेलाई धम्क्याइरहेको प्रहरीले जनाएको छ । थुनछेक बहसमा इँटाभट्टामा जिउँदै हालिएका भनिएका ओसी अख्तरको परिवारले पनि बयान फेरेको थियो । अख्तरकी पत्नी अमनालाई आलम पक्षले ५ लाख र जग्गाको प्रलोभन दिएको उनकै बुबा समसुल मियाँले बताएका छन् ।


घटनामा छोरा गुमाएका सरुअठाका श्रीनारायण सिंह अदालतले आलमलाई छाडिदिए आफूलाई मार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्छन् । विस्फोटमा घाइते कान्छो छोरा त्रिलोकप्रतापलाई इँटाभट्टामा हालेर हत्या गरिएको उनको आरोप छ । ‘पीडितमध्ये म मात्र जिउँदै छु,’ उनले भने । जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले पीडित र साक्षीको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

प्रकाशित : कार्तिक २९, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?