रोयल ट्रेकमा बंगलादेशी राष्ट्रपति

दीपक परियार

(पोखरा) — शीतल वातावरण । हराभरा डाँडाकाँडा । खुलेका माछापुच्छ्रे र अन्नपूर्ण हिमाल । बेगनास र रूपातालको मोहिनी रूप ।यी सबैलाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा कसको मन नरमाउला ! 

रोयल ट्रेकमा बंगलादेशी राष्ट्रपति

रोयल ट्रेकका रूपमा चर्चित कास्कीको रूपाकोट खण्डमा बिहीबार पुगेका बंगलादेशी राष्ट्रपति अब्दुल हमिद पनि यिनै सौन्दर्य अवलोकन गर्न पाउँदा मोहित भए । यहाँको लोभलाग्दो भौगोलिक बनोट देखेर उनी जिज्ञासु देखिए । सोधे, ‘डाँडाकाँडामा पानी, बत्ती कसरी पुर्‍याउनुभएको छ ?’ नेपालको चारदिने राजकीय भ्रमणका क्रममा पोखरा आएका उनी रूपाकोट पुगेका थिए । उनको सम्मानमा रूपा गाउँपालिकाले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्‍यो । पञ्चैबाजाले स्वागत गरियो । मारुनी र लाखे नाच देखाइयो । मोहोरिया तमु समाजको घाँटु नाच पनि देखाइयो ।


सेतै हिमाल देखेर हमिद मोहित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताए । ‘उहाँले सबै हिमालबारे जानकारी लिनुभयो,’ उनले भने । ५५ जनाको टोलीसहित पोखरा आएका राष्ट्रपति हमिदलाई प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, भौतिक योजना तथा पूर्वाधारमन्त्री रामशरण बस्नेत, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गरेका थिए । संघीय मन्त्री रघुवीर महासेठ भने काठमाडौंदेखि नै भ्रमण टोलीमा थिए ।


सेनाको हेलिकप्टरबाट पोखरा झरेका उनी विमानस्थलबाट सीधै फेवाताल पुगेका थिए । विमानस्थलबाट फिस्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । उनको सम्मानमा पोखरा महानगरपालिकाले झाँकी प्रदर्शनसमेत गरेको थियो ।


हमिदले फिस्टेल गेटबाट मोटरबोटमा फेवातालको फन्को लगाए । आधा घण्टा जलविहारमा रमाएपछि उनी फिस्टेल लजमा केही समय विश्राम गरे । फिस्टेलबाट सेनाकै हेलिकप्टरमा रूपाकोट रिसोर्ट पुगेका थिए ।


बंगलादेशी राष्ट्रपतिको आगमनसँगै रोयल ट्रेकको प्रवर्द्धनमा सहयोग पुग्ने रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।


पोखराको विजयपुरबाट सुरु हुने यो ट्रेक कालिकाकोट, हंसपुर, रूपाकोट हुँदै ४ दिनमा पोखरा आएर टुंगिन्छ ।


प्रकाशित : कार्तिक २९, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?