कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कालापानी विवाद वार्ताबाट टुंगियोस् : चीन

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले आपसी परामर्श र वार्ताबाट टुंग्याउनुपर्ने भन्दै आफूले सदैव नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको जनाएको छ । नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा हालेपछि बढेको बहस र चीनले समेत नेपालको भूमि मिचिरहेको भनेर आएको समाचारप्रति प्रतिक्रिया दिँदै चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले पहिलोपटक बिहीबार प्रतिक्रिया दिएका हुन् । 

कालापानी विवाद वार्ताबाट टुंगियोस् : चीन

हालै भारतले आफ्नो राजनीतिक नक्साभित्र कालापानीलाई समेटेपछि सीमावर्ती क्षेत्रमा विवाद बढ्दै गएको र चीनले पनि केही नेपाली भूभाग अतिक्रमण गरेको बारे चीनको धारणा माग्न राखिएको जिज्ञासामा प्रवक्ताले जवाफसहितको प्रेस नोट पठाएका हुन् ।


‘नेपाल र भारतले कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउन सक्छन् भन्नेमा चिनियाँ पक्ष आशा गर्दछ,’ प्रेस नोटमा भनिएको छ, ‘चिनियाँ पक्षले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सदैव सम्मान गर्दै आएको छ ।’ नेपाली भूमिलाई भारतले नक्साभित्र राखेपछि उत्तरको छिमेकीले पहिलोपटक सीमा व्यवस्थापन र सुरक्षाका दृष्टिले कूटनीतिक महत्त्वको धारणा सार्वजनिक गरेको हो ।


चिनियाँ प्रवक्ताले नेपाल र चीनबीच सन् १९६१ मा सम्पन्न सीमा सम्झौताका आधारमा द्विदेशीय सीमा तय भएको र त्यसै आधारमा सीमांकन भएको समेत जानकारी दिएका छन् । ‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनबाट नेपाली भूभाग अतिक्रमणमा परेको भनेर दाबी गरेको हामीले पाएका छौं । यो आरोप आधारहीन छ,’ चिनियाँ प्रवक्ताले भनेका छन्, ‘यी आरोपहरू जनसाधारणलाई सत्य के हो, झूट के हो, थाहा हुन नसकोस् भनेर ध्यान अन्यत्र मोड्ने उद्देश्यतर्फ केन्द्रित छन् ।’


बितेका वर्षहरूमा नेपाल–चीनबीच सीमा तथा सुक्खा बन्दरगाहका विषयमा राम्रो सहकार्य जारी रहेको उल्लेख गर्दै प्रवक्ताले पठाएको प्रेस नोटमा गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा द्विदेशीय सीमा व्यवस्थापन प्रणालीबारे पनि हस्ताक्षर भएको स्मरण गरिएको छ । ‘नेपालको सीमा मामिलामा हुन सक्ने बाहिरी हस्तक्षेप हटाउन नेपालसँग थप सहकार्य गर्न चीनले इच्छा राख्दै आएको छ,’ प्रवक्ता वाङले भनेका छन्, ‘साझेदारी विकासको अवधारणालाई चीन अघि बढाउन चाहन्छ ।’


वाङले नेपाल–चीन सम्बन्धलाई अवमूल्यन गर्ने कुनै प्रकारको प्रयत्न सफल हुन नसक्ने अठोट पनि प्रकट गरेका छन् । बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयका प्रवक्तामार्फत आएको धारणालाई नै काठमाडौंस्थित चिनियाँ दूतावास प्रवक्ताले दोहोर्‍याएका हुन् ।


यसअघि चीन र भारतले कालापानी, लिपुलेक नाका हुँदै व्यापारिक मार्ग खोल्ने भनी गरेको विवादास्पद समझदारीको नेपालमा निकै आलोचना भएको थियो । त्यसबारे भने चिनियाँ पक्षले प्रेस नोटमा केही बोलेको छैन ।

प्रकाशित : कार्तिक २८, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?