एफएम बन्द गराउन सक्ने गाउँपालिकाको कार्यविधि

कान्तिपुर संवाददाता

बर्दिया — बढैयाताल गाउँपालिकाले एफएम रेडियोको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधानसहितको सञ्चारसम्बन्धी कार्यविधि लागू गरेको छ । गाउँसभाले तयार गरेको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिको दफा १० मा एफएमको प्रसारणमा रोक लगाउन सकिने प्रावधान छ । 

एफएम बन्द गराउन सक्ने गाउँपालिकाको कार्यविधि

स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को दफा १०२ को उपदफा २ तथा गाउँपालिकाको प्रशासकीय कार्यविधि ऐन, ०७४ को दफा ४ बमोजिम कार्यविधि बनाएको गाउँपालिकाले जनाएको छ ।


कार्यविधिमा गाउँपालिकाले कुनै एफएम रेडियोको प्रसारण स्थल निरीक्षण वा कुनै प्रसारण सम्बन्धमा परेको उजुरी छानबिनपछि बढीमा तीन महिनाका लागि कुनै कार्यक्रम वा सबै कार्यक्रमको प्रसारणमा रोक लगाउन सक्ने उल्लेख छ ।


निरीक्षण तथा छानबिन गर्दा सर्त बमोजिम कार्यक्रम प्रसारण नगरेको र मौका दिँदा पनि सर्त बमोजिम काम नगरेको भन्ने पुनः निरीक्षण तथा छानबिनबाट देखिए र कसैले कार्यविधि बमोजिम इजाजतपत्र नलिई अनधिकृत रूपमा कार्यक्रम प्रसारण गरेको देखिए गाउँपालिकाले त्यस्तो एफएम रेडियो तत्काल बन्द गर्न वा हटाउन निर्देशन गर्न सक्ने प्रावधान कार्यविधिमा राखिएको छ ।


कार्यविधि विपरीत गर्नेलाई गाउँ कार्यपालिकाले एफएम रेडियो समन्वय तथा अनुगमन समितिको सिफारिसमा गाउँसभाले तोकेअनुसार जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । अनुगमन समितिमा गाउँपालिकाको अध्यक्ष संयोजक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य, कार्यपालिकाका सदस्यमध्येबाट एक जना महिलासहित दुई जना सदस्य र सम्बन्धित विषयगत शाखाको प्रमुख सदस्य सचिव छन् ।


बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले नीति नियमविपरीत काम गर्दा एफएमको इजाजत खारेज गर्ने व्यवस्था रहेको बताए । ‘संविधान विपरीत काम गरे खारेज हुन्छ,’ उनले भने, ‘एफएमले लामो समयसम्म कर बुझाएनन् भने पनि इजाजत रद्द हुनेछ ।’ पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद धितालले सञ्चारमाध्यमलाई अंकुश लगाउने कानुन मान्य नहुने बताए ।

प्रकाशित : कार्तिक २८, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?