कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ठेकेदारप्रति जनआक्रोश

सडक विस्तारको ठेक्का लिएर समयमै काम पूरा नगर्ने निर्माण व्यवसायीको फोटो बिजुलीको पोल र सवारी साधनमा टाँसेर विरोध
विमल खतिवडा, लीला श्रेष्ठ

(काठमाडौं) र (भक्तपुर) — सडक विस्तार अलपत्र पारिएपछि नगरकोटका बासिन्दाले निर्माण व्यवसायीको फोटो बिजुलीको पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन् । ठेक्का लिएर तीन पटक म्याद थप गर्दा पनि काम नसकिएपछि उनीहरूले दबाब दिन शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो मंगलबार पोल र सार्वजनिक तथा निजी सवारी साधनमा टाँसेका हुन् । 

ठेकेदारप्रति जनआक्रोश

नगरकोट आउजाउ गर्ने मुख्य सडक वर्षौं अलपत्र बनाइँदा पर्यटन व्यवसायमै असर परेपछि ठेकेदारको फोटो टाँसेर विरोध गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीयले राजकुमार लामिछानेको संयोजकत्वमा २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेरसमेत आन्दोलन गरिरहेका छन् । शैलुङका अध्यक्ष अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् ।


आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले सन् ०१४ जुन ५ मा दुई वर्षभित्र सक्ने गरी सडक विस्तारको सम्झौता गरेका थिए । तीन पटक म्याद थप गर्दा उनीहरूले बल्ल ६५ प्रतिशत काम सकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए । ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ भएको जस्ता समस्या देखाएर निर्माण व्यवसायीले सम्झौताको म्याद थप गराएका थिए । पछिल्लो पटक थपिएको म्याद सन् ०१८ जुनमै सकिएको छ । निर्माण व्यवसायीले अहिले पनि म्याद थपको बाटो खोजिरहेका छन् ।


‘एक्जिम बैंक इन्डिया’ को ऋण सहयोगमा ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँ लागतमा करिब १६ किलोमिटर लामो कमलविनायक भत्केको पाटी–नगरकोट सडक विस्तार गर्ने सम्झौता गरिएको थियो । साविक साढे ३ मिटरको सडकलाई बढाएर ७/७ मिटर तथा मुख्य घुम्तीमा ११ मिटरसम्म फराकिलो बनाउने, कालोपत्र गर्ने र नाली–ढलको व्यवस्थापन गर्ने गरी ठेक्का लगाइएको हो । रिटेनिङ वाल तथा नाली निर्माण र कमलविनायक–बाँसबारीसम्म कालोपत्र गरिएको छ । लापरबाहीका कारण अधिकांश स्थानमा नाली भत्किएको छ । कालोपत्र उप्किएर ठाउँ–ठाउँमा खाडल परेको छ । विस्तारका नाममा मुख्य सडक अलपत्र छाडिँदा नगरकोट–नाल्दुम आउने पर्यटकले दु:ख पाएको र व्यवसाय धराशायी बनेको पर्यटन व्यवसायीको गुनासो छ । ‘सडक घाम लागे धुलाम्य, पानी परे हिलाम्य हुन्छ । सडक हेरेर पर्यटकले गाली गर्छन्,’ नगरकोट–नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले भने, ‘तत्काल सडक विस्तार नसकिए भ्रमण वर्ष २०२० लाई असर पर्छ ।’


सडक विस्तारको काम सुस्त भएपछि स्थानीयले विरोधको आवाज उठाउँदै आएका थिए ।


संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले गत साउनमा अनुगमनसमेत गरी तत्काल काम गर्न निर्देशन दिएको थियो । तर पनि ठेकेदारले पैसा नभएको भन्दै झारा टार्ने पाराले काम गर्दै आएको स्थानीयको भनाइ छ । सडक आयोजना प्रमुख प्रजापतिले भने ठेकेदारले मंगलबारबाट काम नियमित रूपमा गरिरहेको बताए ।


नगरकोटका बासिन्दाले सडक किनारका पोल र रूखमा टाँसेको ठेकेदार शारदा अधिकारीको तस्बिर ।

म्याद सकियो, काम अधुरै

चुनावमा सडक निर्माणलाई प्रमुख एजेन्डा बनाएका काठमाडौं, बूढानीलकण्ठका मेयर उद्धवप्रसाद खरेल अहिले निराश छन् । उनी मेयर निर्वाचित भएको दुई वर्ष बित्दा नगरपालिकाभित्रका सडकको अवस्थामा खासै परिवर्तन छैन । ‘चुनाव जितेदेखि यही सडकको पछि लागिरहेको छु,’ उनले भने, ‘निर्माण व्यवसायीले नै चासो नदिँदा कामले गति लिन सकेको छैन ।’


बूढानीलकण्ठका मुख्य सात सडकमध्ये कपन क्षेत्रका तीनवटा निर्माण गर्ने जिम्मा शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लिएको छ । तीनै सडकमा निर्माणको म्याद सकिएपछि बल्ल काम सुरु भएको छ । अन्य सडकमा पनि सन्तोषजनक काम भएको छैन । उक्त क्षेत्रका सांसद गगन थापासहितको टोलीले सडक विभागमा धर्नासमेत दिएको थियो । त्यसले पनि शैलुङ कन्स्ट्रक्सनलाई प्रभाव पार्न सकेन । ‘कति भन्ने ? कहाँ भन्ने ? दिक्क भइसक्यौं,’ मेयर खरेलले भने, ‘अहिले भने काममा केही प्रगति देखिएको छ तर सोचेअनुरूप छैन ।’ उनका अनुसार शैलुङका प्रमुख अधिकारी सम्पर्कमै आउँदैनथे । भर्खरै भने उनले दुई महिनामा निर्माण सक्ने प्रतिबद्धता गरेका छन् ।


नगरभित्रका सातवटा सडक ५ करोडदेखि ४० करोड रुपैयाँसम्ममा ठेक्का लगाइएका छन् । तीन किलोमिटरको साततले–बालुवाखानी–साप्रेढुंगा–मानबहादुर मार्ग, १.३ किलोमिटरको भ्याली पब्लिक–चुनिखेल र १.२ किलोमिटरको आकाशेधारा–राममन्दिर सडक निर्माणको ठेक्का शैलुङले लिएको हो । तीनै सडक निर्माणका लागि ०७३ असारमा भएको सम्झौतामा ०७४ असोजभित्र काम सक्नुपर्ने उल्लेख छ । मेयर खरेलका अनुसार पछिल्लो समय ०७६ असार मसान्तमै सबै सडक बनाइसक्ने कबोल ठेकेदारले गरेका थिए । ‘ठेकेदारले चाहे ७ दिनमै काम सकिन्छ,’ उनले भने ।


शैलुङले भने सरकारले समयमै पैसा नदिएको, सामान नपाएको, घर भत्काउन नदिएको जस्ता बहाना बनाउँदै आएको छ । ‘एउटै कम्पनीले धेरै ठाउँमा ठेक्का लिएको छ । कसरी समयमै सडक निर्माणको काम सकिन्छ ?’ मेयर खरेलले भने । उनका अनुसार सडकको ठेक्का लगाइएयता तीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सडक विभागमा चार जना महानिर्देशक, नगरपालिकामा ५ जना कार्यकारी र चार जना डिभिजन इन्जिनियर फेरिइसकेका छन् । ‘तर सडक उस्तै छ,’ उनले भने ।


काठमाडौं डिभिजन सडक प्रमुख कैलाश श्रेष्ठले प्रगति सन्तोषजनक नभए ठेक्का सम्झौता तोडिने बताए । ‘अहिले कामको गति केही बढेको छ, १५ दिन कामको प्रगति हेर्छौं । प्रगति देखिएन भने ठेक्का तोडिन सक्छ,’ उनले भने । श्रेष्ठले निर्माण व्यवसायीले ग्राभेल गर्दागर्दै स्थानीय तहमार्फत ढल हाल्न खोज्दा केही ठाउँमा बाधा पुगेको बताए । उनका अनुसार सडकमा पर्ने घर भत्काउने, बिजुलीका पोल हटाउने काम सकिएका छन् । ‘निर्माणको काम मात्र बाँकी छ । नजिकबाट काम हेरिरहेका छौं,’ उनले भने ।


शैलुङ कन्स्ट्रक्सनले त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको चार खण्डमध्ये तीन खण्ड ज्वाइन्ट भेन्चर (जेभी) मा ठेक्का लिएको छ । एक खण्डको ठेक्का भने ०७५ कात्तिक ३० मा सक्ने गरी बज्रगुरु/बिरुवा/सीएम जेभीले लिएको छ । अन्य खण्डमा शर्मा/शैलुङ/कान्छाराम जेभी र लुम्बिनी/शैलुङ/साप जेभीले ०७५ असोज ३० मा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेका हुन् । शर्मा/शैलुङ/कान्छाराम जेभीले भने ०७५ पुसमा ठेक्का सक्ने कबोल गरेको थियो । सबै सडकका ठेक्का सम्झौता ०७२ असार ३१ मा गरिएका हुन् । दुई पटक म्याद थप हुँदासमेत ती सडकको भौतिक प्रगति ९० प्रतिशत मात्रै छ । चार खण्डको ठेक्का रकम १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार छ । ‘यो सडक खण्ड सकिने चरणमा छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले भने, ‘रंगरोगनको काम बाँकी छ ।’ उनले मुआब्जाको समस्या र निर्माण व्यवसायीले नियमित काम नगर्नाले समयमा काम नसकिएको बताए ।


चाबहिल–जोरपाटी–साँखु सडकमा पनि ६० प्रतिशत मात्र काम भएको छ । ‘पहिला जस्तो काम हुँदै नभएको होइन, केही प्रगति छ,’ आयोजनाका प्रवक्ता श्रेष्ठले भने, ‘०७७ जेठ २२ भन्दा उता म्याद थपिँदैन । काम नहुनेजस्तो भयो भने सम्झौता तोडिन्छ ।’ चाबहिल सडक पाँच खण्डमा १ अर्ब ७३ करोड ५४ लाख १५ हजारमा ठेक्का लगाइएको छ । चार खण्डको ०७२ असोज र एक खण्डको ०७४ असारमा ठेक्का सम्झौता भएको हो । सबैको म्याद सकिएको छ ।


चाबहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलंकी–नागढुंगामा मुआब्जा विवादलाई काम नहुनुको कारण देखाइएपछि मन्त्रिपरिषद्ले ०६५ साउन १० मा ‘हाललाई उपलब्ध चौडाइमा कालोपत्रे सडक निर्माण गरी ठेक्का फरफारक गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने’ निर्णय गरेको थियो । उक्त निर्णय भएको एक वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन ।


ललितपुरको ढोलाहिटी–चापागाउँ–सरस्वतीकुण्डलाई चार खण्डमा बाँडेर ०७३ र ०७४ सालमा १ अर्ब ३२ करोड ६ लाख ८ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो । दुई खण्डको म्याद सकिएको छ । अन्य दुई खण्डमा आगामी पुस र माघसम्म म्याद छ । एक खण्डमा शैलुङको जेभी (ज्वाइन्ट भेन्चर) छ । लगनखेल–सातदोबाटो सडक निर्माण गर्न ६ करोड ४९ लाख ८१ हजारमा ०७३ जेठ २६ मा समानान्तर निर्माण सेवाले ठेक्का लिएको छ । ठेक्का समय गत वर्ष असोज ३१ मै सकिएको छ । ‘ढोलाहिटीमा केही कम काम भएको छ । लगनखेल खण्ड छोटो छ । केही समयमै सकिन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।


सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटा मुआब्जाको समस्याले पनि काममा ढिलाइ भएको बताउँछन् । ‘अदालतबाट सबै जग्गाको मुआब्जा दिएर मात्र काम गर्नू भन्ने आदेश आउँछ । उपत्यका विकास प्राधिकरणले चिह्न लगाइदिने र सडक विभागले ठेक्का लगाइदिने काम मात्र भयो,’ उनले भने ।

प्रकाशित : कार्तिक २८, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?