१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

समृद्धिमा सघाउन बंगलादेश तत्पर : हमिद

निरन्तर साझेदारी : राष्ट्रपति भण्डारी
देवेन्द्र भट्टराई

काठमाडौँ — बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सडक सञ्जाल, हवाई सम्पर्क, जलविद्युत् र पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाल–बंगलादेशले परस्पर सहयोग र समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताएका छन् ।

समृद्धिमा सघाउन बंगलादेश तत्पर : हमिद

राष्ट्रपति हमिदको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले होटल याक एन्ड यतीमा बुधबार साँझ दिएको रात्रिभोजमा आतिथ्य मन्तव्य राख्दै हमिदले व्यापार र लगानीका द्विपक्षीय सम्भावनालाई अझ पहिल्याएर जान जरुरी रहेको बताए । ‘नेपालको सामाजिक–आर्थिक समृद्धिको प्रक्रियामा सघाउ पुर्‍याउन र आवश्यक सहयोग प्रदान गर्न बंगलादेश सदैव तत्पर छ,’ उनले भने ।


हमिदले राष्ट्रसंघीय शान्तिसेनाको संयन्त्रमा नेपालीसहित बंगलादेशी सेनाले पुर्‍याएको योगदानको स्मरण गरेका थिए । उनले सार्क संस्थाको नाम नलिई क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमार्फत दुई देशले परस्पर हितका काम जारी राख्ने बताए ।


रात्रिभोजमा राष्ट्रपति भण्डारीले दिएको स्वागत मन्तव्यमा नेपाल र बंगलादेशबीच उद्योग, पर्यटन, शिक्षा र संस्कृतिका क्षेत्रमा निरन्तरको साझेदारी रहेको उल्लेख छ । ‘सडक, रेल्वे, हवाई सम्पर्क र जलमार्गको सञ्जालबाट पनि हामीले आपसी सम्पर्कलाई बढाउन सक्ने आधार देखिएको छ,’ भण्डारीले भनिन् । उनले नेपाल भ्रमण वर्ष २०२० मा बंगलादेशी नागरिकलाई नेपाल घुम्न पठाउन आग्रह गर्दै आगामी अप्रिलमा नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ मा बंगलादेशबाट उच्चस्तरीय प्रतिनिधित्वको आशा गरिएको बताइन् ।


राष्ट्रपति–प्रधानमन्त्री भेट


राष्ट्रपति हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार अपराह्न ५० मिनेट लामो भेटवार्ता भएको छ । ‘दुई देशबीचको घनिष्ठ र परम्परागत आर्थिक साझेदारीको सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानेबारे छलफल भएको छ,’ भेटघाटबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरलाई बताए ।


व्यापार तथा वाणिज्य सम्बन्धलाई थप परिणाममुखी बनाउने दिशामा बहुपक्षीय सम्पर्क सञ्जाललाई विस्तार गर्ने दिशामा राष्ट्रपति–प्रधानमन्त्री वार्ता भएको र यस आधारमा ऊर्जा, पर्यटन, शिक्षाजस्ता क्षेत्रमा योजना तय गरेरै परस्पर सहयोगका कार्यक्रम अघि बढाइने भएको छ । राष्ट्रपति हमिदसँग पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


समझदारीको आधार बन्यो : राजदूत

राष्ट्रपति हमिदको भ्रमण अवसरमा विभिन्न चरणमा व्यापार, पर्यटन तथा बहुपक्षीय सम्पर्क सञ्जाल निर्माण गर्नेबारे समझदारीको आधार तय भएको बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले बताएका छन् । ‘मुख्यतया बंगलादेशसँग रहेको नेपालको ठूलो अनुपातको व्यापार घाटा कम गर्न अब एक महिनाभित्रैमा सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) हुने निश्चित भएको छ,’ मिश्रले बुधबार राति कान्तिपुरसँग भने, ‘नेपालले शून्य भन्सार दरमा सामान निर्यात गर्न सक्ने र बंगलादेशबाट सहुलियतपूर्ण दरमा मात्रै आयात गर्न सक्ने यो व्यवस्थाले हाम्रो व्यापारलाई उत्साहवर्द्धक बनाउनेछ ।’


हाल नेपालबाट औसतमा १ अर्ब रुपैयाँ बराबरको सामग्री बंगलादेश निर्यात हुने गरेको छ भने बंगलादेशबाट झन्डै ५ अर्ब रुपैयाँ बराबरको सामान आयात भइरहेको छ ।


यसैगरी, १७ करोड जनसंख्या रहेको बंगलादेशमा झन्डै १८ लाख बौद्धमार्गी र डेढ करोड हिन्दुमार्गी छन् । यो अनुपातका आधारमा धार्मिक पर्यटकसमेत नेपाल आउने स्थिति बनाउन कूटनीतिक तथा अन्य उपायबाट पनि प्रचारप्रसार बढाइने भएको छ । राजदूत मिश्रका अनुसार अरू बौद्धमार्गी मुलुकले झैं बंगलादेशले पनि लुम्बिनीमा आफ्नै गुम्बा/विहार बनाउने निर्णय भइसकेको छ । द्विपक्षीय सम्पर्क सञ्जाल विस्तारकै क्रममा विराटनगर वा भद्रपुरबाट बंगलादेशको सैदपुर विमानस्थलमा क्षेत्रीय तहको उडान भर्नेबारे पनि समझदारी अघि बढेको राजदूतले बताए । ‘हामीले स्थल वा हवाईमार्ग जताबाट यात्रा भरे पनि बंगलादेशी नागरिकका हकमा अन–अराइभल भिसा दिँदै आएका छौं तर नेपालीका हकमा भने हवाई यात्रुका लागि मात्रै ढाका विमानस्थलमा भिसा दिइन्छ,’ राजदूतले जानकारी दिए, ‘यो असमान व्यवस्थामा तत्काल पुनर्विचार हुने भएको छ ।’


बंगलादेशले नेपालबाट विद्युत् आयात गर्ने जनाउ दिइसकेको र उसले आफ्नो सरकारी योजनामा एक दशकभित्र ९ हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने उल्लेख गरेको छ । यसबारे पनि राष्ट्रपति हमिदले प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा स्मरण गराएका थिए ।


राजदूत मिश्रले राष्ट्रपति हमिदको भ्रमण अवसरमा बंगलादेशसँग समझदारीका धेरै आधार तय भएको र अब छिट्टै समझदारीले सहमतिको आकार लिने विश्वास लिए । ‘अब एक महिनाभित्रै नेपालका परराष्ट्रमन्त्री बंगलादेश भ्रमणमा जाने र बंगलादेशबाट ऊर्जामन्त्री नेपाल भ्रमणमा आउने भएकाले त्यसबेला पनि कतिपय सहमतिमा हस्ताक्षर हुने स्थिति छ,’ मिश्रले भने ।


बंगलादेशमा मेडिकल, कृषि, शिक्षा क्षेत्रमा गरेर अहिले झन्डै ४ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । बंगलादेशसँग नेपालको सन् १९७२ अप्रिल ८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रकाशित : कार्तिक २८, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?