कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गौतम र नेपाललाई फकाउँदै ओली : गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव

बबिता शर्मा, बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । ओलीबाट गौतमलाई यस्तो ‘अफर’ आए पनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समितिले अझै अनुमोदन गरेको छैन ।

गौतम र नेपाललाई फकाउँदै ओली : गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव

मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रूपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतले बताएको छ । एक नेताका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई यस्तो प्रस्ताव गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । ‘दुई अध्यक्षबीचको छलफलपछि यस्तो प्रस्ताव आएको हो,’ गौतम निकट ती नेताले भने, ‘राष्ट्रिय सभामा पुगेपछि सरकारमा जाने बाटो खुल्छ ।’


तर गौतमले संविधान संशोधन गरेरै भए पनि आफूलाई प्रधानमन्त्री बन्नसमेत सहज हुने बाटो बनाइदिन आग्रह गरेका छन् । ‘नेता गौतमले संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने भए मात्र आफू राष्ट्रिय सभामा आउने बताउनुभएको छ,’ ती नेताले भने । ‘राष्ट्रिय सभाबाट आउँदा प्रधानमन्त्री बन्न मिल्ने प्रावधान छैन । पटकपटक उपप्रधानमन्त्री भइसकें, मलाई संसद्मा ल्याउने हो भने संविधान संशोधन गरेर प्रधानमन्त्री हुने बाटो खोलिदिनोस्,’ गौतमको भनाइ उद्धृत गर्दै उनले कान्तिपुरसँग भने ।


०७६ माघमा राष्ट्रिय सभाका एक तिहाइ सांसदको कार्यकाल सकिँदैछ । त्यसपछि त्यहाँ एक तिहाइ सदस्य पठाउन निर्वाचन हुनेछ । त्यतिखेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सम्भव हुनेछ । संविधानको धारा ७७ ले प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने परिकल्पना गरेको छ । राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न सक्दैनन् । प्रधानमन्त्रीको चयन प्रतिनिधिसभाको बहुमतबाट हुन्छ ।


प्रधानमन्त्री ओलीले यसअघि नेता गौतमलाई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्र २ बाट चुनाव लड्न प्रस्ताव गरेका थिए । तर ४ असोजमा बसेको सचिवालय बैठकमा गौतमले अन्तरघातको खतरा रहेको भन्दै कास्कीबाट चुनाव नलड्ने निर्णय सुनाएका थिए । त्यसपछि ओलीले गौतमलाई राष्ट्रिय सभा ल्याउने खालको प्रस्ताव अघि बढाएका हुन् ।


विगतमा नेता गौतमले काठमाडौं, डोल्पा, प्यूठानलगायत जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । त्यसका लागि केही निर्वाचित सांसदलाई राजीनामा दिएर ठाउँ खाली गराउने कसरत पनि भएको थियो । तर पार्टीभित्र सहमति जुट्न नसक्दा स्थान खाली गराएर उपचुनावमार्फत आउने गौतमको प्रयास सफल भएन ।


विगतमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै गौतमलाई चुनाव लड्न रोकेको आशंका पनि गरिएको थियो । तर, ती आशंका चिर्दै ओलीले पछिल्लो समय गौतमलाई उपाध्यक्ष र कास्कीबाट चुनाव लड्न प्रस्ताव राखेर सम्बन्ध सुधार गर्न खोजे । पार्टीको शक्तिशाली मानिने संगठन विभागको जिम्मेवारी दिए ।


२०७४ को निर्वाचनमा बर्दियाबाट पराजित भएपछि ओली र गौतमबीच दूरी बढेको थियो । तत्कालीन एमालेको नवौं महाधिवेशनमा ओलीलाई जिताउन भूमिका खेलेका गौतमले सरकारको आलोचना गर्दै गत वर्ष पुसमा भएको स्थायी समितिको बैठकमा १६ पेजको प्रतिवदेन पेस गरेका थिए । त्यसमा उनले दोहोरो जिम्मेवारीको विरोध गर्दै दुई अध्यक्षले सरकार र पार्टीको काम बाँडफाँट गर्नुपर्ने गरी एक व्यक्ति एक जिम्मेवारीको अवधारणा ल्याएका थिए । त्यसपछि क्रमशः बढिरहेको ओली र गौतमको दूरी पछिल्लो समय उपाध्यक्ष बनाउने, संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय हुँदासम्म सुध्रिइसकेको छ ।


नेपाललाई बोलाएर चार घण्टा छलफल


प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच झण्डै तीन महिनापछि संवाद भएको छ ।


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब चार घण्टा छलफल भयो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न विहान ११ बजे बालुवाटार छिरेका थिए । उनी दिउँसो ३ बजेमात्रै त्यहाँबाट निस्किएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा उनीहरुबीच पछिल्लो समय आफूहरुका बीचमा बढेको तिक्तता र उक्त तीतोपन हटाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधान गर्दै, एकीकरणको सबै काम सक्नुपर्ने बताएका नेपालको भनाई उद्धृत गर्दै नेपाल निकट एक नेताले बताए । ‘तपाईंलाई के के विषयमा चित्त बुझेको छैन छलफल गर्दै जाउँला, पार्टीमा तपाईंप्रति अलिकति अन्याय भयो कि भन्ने मलाई अनुभूति भएको छ’ ओलीले नेपालसँग भने ।


नेता नेपालले पनि आफूले व्यक्ति भन्दा पनि पद्धतिको कुरामा जोड दिएको बताएका थिए । ‘मैले पार्टी बाहेक अरु केही सोचेको छैन, जति पनि असहमति राखेको छु, पार्टीकै हितका लागि हो,’ नेपालको भनाइ उद्धृत गर्दै उनी निकट नेताले कान्तिपुरसँग भने, ‘व्यक्तिमा भन्दा पनि मेरो जोड पद्धतिमा थियो, नेतृत्वका हिसाबले त्यसमा तपाईंको भूमिका हुनुपर्थ्यो तर त्यसो हुन सकेन ।’

जवाफमा ओलीले यसअघि जे भएता पनि अब पार्टीमा सबैको कुरा सुन्ने वातावरण तयार पार्ने बताएका थिए । भेटपछि नेता नेपालले उनी निकटहरुसँग छलफलले राम्रै सुरुवात गरेको प्रतिक्रिया दिएका छन् । ‘धेरै विषयमा कुरा भए, ठीकै सुरुवात भएको छ, कसैलाई एक्ल्याउने भन्दा पनि हार्दिकता बढ्दा सबैलाई राम्रो हुन्छ,’ नेपालले उनी निकटस्थहरुलाई बताए ।


स्रोतका अनुसार उनीहरुबीच संवैधानिक आयोगका प्रमुखहरु नियुक्ति तथा मन्त्रिपरिषद् फेरबदलका विषयमा पनि कुराकानी भएको थियो । ओलीले नेपालसँग सरकारले अब गर्नुपर्ने काम र पार्टीका तर्फबाट हुनैपर्ने मन्त्रीहरुको लिष्ट मागेका थिए । नेता नेपालले जनताबाट टाढा बसेर उनीहरुको पक्षमा काम नसकिने भन्दै जनताले आफ्नो महसुस गर्नेगरी अघि बढ्न सुझाव दिएका थिए । ‘प्रधानमन्त्रीज्यूले नयाँ मन्त्रिमण्डल र बाँकी नियुक्तिहरुमा नेपाल समूहको सहभागिता गराएर ब्यालेन्स गर्न खोजेको देखिन्छ,’ ओली निकट एक नेताले भने ।


यसअघि गत भदौ ५ गते बसेको नेकपा सचिवालय बैठकमा दुई नेताबीच व्यक्तिगत स्तरमै आरोपप्रत्यारोप भएपछि उनीहरुबीच फेरि एक्लाएक्लै संवाद भएको थिएन । प्रधानमन्त्री ओली दोस्रोपटक उपचारका लागि सिंगापुर उठ्नुअघि बसेको सचिवालय बैठकमा नेता नेपालले स्वास्थ्य लाभको कामना गरेपछि ओलीले त्यसलाई इन्कार गरेका थिए । त्यसअघि साउन ३१ को नेकपा सचिवालय बैठकले नेपालको वरियता एक तह घटुवा गरेर उनलाई वरिष्ठताको चौथो क्रममा राख्ने निर्णय गरेको थियो ।


‘पार्टीमा यस्ता निर्णय त भइरहन्छन् तर प्रधानमन्त्रीले व्यक्तिगत रुपमै दिएको स्वास्थ्य लाभको कामना पनि अस्वीकार गरेपछि मेरो मन छियाछिया भएको छ,’ नेता नेपालले पछिल्लो समय भन्दै आएका थिए । उनीहरुबीचको व्यक्तिगत तिक्तता कम गर्न दोस्रो तहका नेताहरुले बारम्बार प्रयास गर्दा पनि सफल हुन सकेको थिएन ।

नेता नेपाललाई ओली पक्षधरहरुले उनलाई भेट्न सिंगापुर नै पठाउने पहल त्यतिबेलै पनि गरेका हुन् । ‘तपाईंलाई हामी नै टिकट लिइदिन्छौ, प्रधानमन्त्रीज्यूलाई भेट्न सिंगापुर जानुस भन्ने प्रस्ताव आएको थियो तर मलाई जानै डर लाग्यो, उहाँले किन भेट्न आइस भन्नुभयो भने मैले के भन्ने ?’ नेपालको भनाई थियो । त्यसैले उनी पछिल्लोपटक ओली बिरामी भएर दुई दिन अस्पताल बसेको बेलामा पनि भेट्न गएका थिएनन् ।


इता पार्टीका निर्णयहरु पनि नेता नेपालका असहमतिका बाबजुद धमाधम भएका थिए । पछिल्लो समय प्रदेश प्रमुखहरु नियुक्तिका लागि सिफारिस गर्दा नेपालको सिफारिसका नेताहरुमध्ये एकजना पनि नपरेपछि उनले फरक मत राखे ।


यसअघि नेपालले गत भदौ ३ मा पार्टीका विभाग प्रमुख तथा जनवर्गीय संगठनका प्रमुखहरुको चयन र २०७५ असोजमा पार्टीको प्रदेश अध्यक्ष सचिव तथा इन्चार्ज र सहइन्चार्ज नियुक्तिको निर्णयका विरुद्धमा फरक मत दर्ता गराएका थिए । ९ सदस्यीय पार्टी सचिवालयमा पछिल्लो समय नेपाल एक्लिएका थिए । नेतृत्व पंक्तिले पेलेर निर्णय गर्न थालेपछि नेकपाको तल्लो तहसम्म नेपाल पक्षधर नेताहरु रक्षात्मक अवस्था छन् ।

प्रकाशित : कार्तिक २८, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?