संघीयताको अभ्यास बुझ्दै अमेरिकी राजदूत

अजित तिवारी

(जनकपुर) — नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी संघीयताको अभ्यास बुझ्न दुई दिनदेखि जनकपुरमा छन् । उनले प्रदेश सरकार, स्थानीय तह र राजनीतिक दलका प्रतिनिधिसँग भेट गरेर उनले संघीयता कार्यान्वयनका अप्ठ्यारामा चासो देखाइरहेका छन् । 

संघीयताको अभ्यास बुझ्दै अमेरिकी राजदूत

मुख्यमन्त्री निवास मधेस भवन (जचुकालि) मा राजदूत बेरीले सोमबार राति मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासित भेटघाट गरे । भेटमा प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदी पनि थिए । उनीहरूबीच करिब १ घण्टा अनौपचारिक कुराकानी भएको थियो । स्रोतका अनुसार भेटमा राजदूत बेरीले मुख्यमन्त्री राउतसित संघीयताको अवसर र चुनौतीबारे जिज्ञासा राखेका थिए । मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोग र संविधानले दिएको कानुन टेकेर काम गर्न खोज्दा पनि अवरोध भइरहेको सुनाएका थिए । मुख्यमन्त्री राउतका प्रेस हेर्ने आतिश मिश्रले भने अमेरिकी दूतावास ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा सहयोग गर्ने इच्छा देखाएको र त्यही सम्बन्धमा मुख्यमन्त्री राउतसित बढी कुराकानी भएको बताए । ‘प्रदेश सरकारको कामकारबाहीलगायत विषयमा कुराकानी भयो,’ मिश्रले कान्तिपुरसँग भने । भेटघाटपछि राजदूत बेरीले मुख्यमन्त्री निवासमै डिनर लिएका थिए ।


राजदूत बेरीसँग भेटेकै अर्को दिन मंगलबार मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा अमेरिका उडेका छन् ।


अमेरिकी दूतावासका दुई टोलीमध्ये राजनीतिक अधिकारी सम्मिलित टोलीले राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, प्रदेश सांसद र अन्य विभिन्न क्षेत्रका अगुवासित भेट गरिरहेका छन् । दोस्रो टोली अमेरिकी राजदूत बेरीको नेतृत्वमा छ । बेरीसँगै दूतावासकी राजनीतिक विज्ञ रोजी कट्टेल पनि छिन् । अमेरिकी राजदूत बेरी बुधबार काठमाडौं फर्किनेछन् ।


जनकपुरको वेलकम होटलमा राजदूत बेरीले नेकपाका प्रदेशसभा सांसद रामचन्द्र मण्डल र मञ्जु यादव, राष्ट्रिय जनता पार्टी (राजपा) का नेता विजय सिंह, नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद मुक्ता यादव, समाजवादी पार्टीका नेता रामस्वार्थ राय र राजपाका प्रवक्ता कृष्णा सिंहसित संघीयताको अवसर र चुनौतीबारे छलफल गरेका छन् । अमेरिकामा संघीयताको अभ्यास कष्टपूर्ण रहेको प्रसंग सुनाउँदै राजदूत बेरीले प्रदेश २ ले गरिरहेको संघीयताको अभ्यासबारे जिज्ञासा राखेको राजपाका प्रवक्ता कृष्णा सिंहले बताए । ‘राजदूत बेरीको संघीयता कार्यान्वयन र प्रदेश तथा स्थानीय तहबीच समन्वय र सहकार्यबारे चासो देखियो,’ उनले भने ।


राजदूत बेरीसँग नेताहरूले कर्मचारीको अभाव र असहयोग, प्रदेशको आन्तरिक मामिला मन्त्रीलाई प्रहरी–प्रशासनले नटेर्ने र संविधान टेकेर कानुन ल्याउँदा अनावश्यक बखेडा झिक्ने हुनाले संघीयता कार्यान्वयन चुनौतीपूर्ण बनेको बताएका थिए । ‘संघीयतामा मन्त्रीलाई नामका लागि मात्र जिम्मेवारी दिइयो, काम दिइएन । प्रदेश स्वायत्त हुनुपर्थ्यो तर यसलाई संघको विकास एजेन्सीजस्तो बनाइयो,’ राजदूत बेरीसँगको छलफलमा राजपा नेता सिंहले भनेका थिए । राजपा नेता सिंहका अनुसार राजदूत बेरीले कुराकानी थाल्नुअघि ‘यो तपाईंहरूको आन्तरिक मामिला भए पनि अमेरिका संघीयता पक्षधर रहेकाले नेपालमा अभ्यास बुझ्न आएको’ बताएका थिए । नेकपाकी प्रदेश सांसद मञ्जु यादवले संघीयताको सवालमा दल र सरकारहरू संविधान र नीतिप्रति इमानदार नरहेको र द्वन्द्वलाई मात्र मलजल गरिरहेको राजदूत बेरीलाई सुनाएको बताइन् । ‘प्राय: सबै नेताले राजदूत बेरीसित संघीयतासम्बन्धी संवैधानिक व्यवस्था इमानदारीपूर्वक लागू नहुँदा कार्यान्वयन अप्ठ्यारो रहेको बताए,’ उनले भनिन् ।


अमेरिकी राजदूत बेरीले मंगलबार बिहान जानकी मन्दिर पुगेर पूजापाठ गरे । मिथिला पेन्टिङको व्यावसायिक उत्पादन हुने जनकपुरको कुवारामपुरस्थित नारी विकास केन्द्र निरीक्षण गरे । इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम (आईबीएलपी) अन्तर्गत अमेरिका भ्रमण गरेकाहरूसँग पनि राजदूत बेरीले भेटघाट गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रसित पनि राजदूत बेरीले भेटघाट गरे । मेयर साहसँग बेरीले जनकपुरधाम नाम राख्दा यहाँ बसोबास गर्ने अन्य धर्मावलम्बीलाई कसरी समेटिएको छ भन्ने जिज्ञासा राखेका थिए ।

प्रकाशित : कार्तिक २७, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?